Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रीले विधेयक त दर्ता गरे, सञ्चालन गर्ने निकाय भने अनविज्ञ

सोमबार, १८ पुस २०७३

भक्तपुर– स्थानीय निकायले सञ्चालन गर्ने गरी विश्वविद्यालय विधेयक संसदमा दर्ता भईसक्दा पनि सञ्चालन बारेमा सम्बन्धित निकाय अनविज्ञ रहेको छ । शिक्षा मन्त्री धनिराम पौडेलले गत मंसिर २६ गते ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता गरे पनि विश्वविद्यालय सञ्चालन गर्ने आँट गरेको भक्तपुर नगरपालिका नै अनविज्ञ रहेको पाइएको हो ।  स्थानीय निकायले सञ्चालन गर्ने पहिलो विश्वविद्यालय भनेर चर्चा गरिएको ख्वप विश्वविद्यालय विधेयक संसदमा पुगिसक्दा पनि विश्वविद्यालय सञ्चालन गर्ने आँट गरेको संस्थाका आधिकारिक व्यक्तिहरु आफूलाई सोबारेमा जानकारी नभएको बताउँछन् ।

संसदमा विश्वविद्यालय विधेयक दर्ता भएसँगै शुरु भएका सञ्चालन प्रकृया र आवश्यक अर्थ व्यवस्थापनका बारेमा नगरपालिकाका सूचना अधिकृत भूपाल मूल, प्रशासन शाखाका प्रमुख अम्बिका धौभडेल मात्रै हैन कार्यकारी प्रमुख रोहितराज पोखरेलसम्मले पनि स्पष्ट जानकारी दिन सकेनन् ।

ख्वप विश्वविद्यालय स्थापना, सञ्चालन र आगामी प्रकृयाका बारेमा नगरपालिकाका कुनै पनि शाखासँग जानकारी नहुनु लाजमर्दो भएको भन्दै आलोचना भएको छ । ‘आफ्नै नगरपालिकाले विश्वविद्यालय चलाउने विधेयक संसदमा पुगेको समाचारबाट थाह पायौं तर नगरपालिकाका हाकिमसावहरु सँग बुझ्दा त्यसबारेमा थाहै नभएको उत्तर आयो ।’ भक्तपुर नपा वडा नं. १० का दिनेश सुवालले गुनासो गरे ।

‘स्थानीय स्रोत र साधनको परिचालन गरी स्थानीय निकायकै अग्रसरतामा वहुविश्वविद्यालयको अवधारणा अनुरुप उच्च शिक्षामा पहुँचको विस्तार, गुणस्तर, व्यावसायिकता, संस्थागत जवाफदेहीता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्नका लागि भक्तपुर नगरपालिकाद्धारा स्रोतको व्यवस्थापन गर्ने गरी ख्वप विश्वविद्यालयको स्थापना गर्न आवश्यक भएको व्यहोरा सहितको यो आर्थिक टीप्पणी पेश गरेको छु ।’ शिक्षामन्त्री पौडेलले व्यवस्थापिका संसदमा पेश गरेको विधेयकमा उल्लेख छ । उक्त टीप्पणीका अनुसार ख्वप विश्वविद्यालय सञ्चालनको सम्पूर्ण अधिकार भक्तपुर नगरपालिकालाई छ ।

तर भक्तपुर नगरपालिका भने विश्वविद्यालय सञ्चालन कसरी गर्ने र विश्वविद्यालय सञ्चालनका लागि भइरहेको प्रक्रिया र प्रगतिबारे अनविज्ञ छ । भक्तपुर नगरपालिकाका विभिन्न वडा सचिवहरुदेखि योजना तथा प्रशासन तथा कार्यकारी अधिकृतसम्मलाई ख्वप विश्वविद्यालयको बारेमा स्पष्ट जानकारी छैन ।

‘विश्वविद्यालयबारे हामीलाई थाहा छैन, नगरपरिषद्बारे त थाहा नदिइकन हुने गरेको नगरपालिकाले के के गर्ने हो त्यसबारे हामीलाई कसरी थाहा हुन्छ ?’ एक जना वडा सचिवहरुले गुनासो सहित  अनविज्ञता प्रकट गरे ।

प्रशासन शाखा तथा योजना शाखाका कर्मचारीहरु सो विषयमा आफूहरुलाई भन्दा सांसद प्रेम सुवाललाई थाहा हुने भन्दै पन्छिए । ‘यो विषयमा हामी नगरपालिकाका कर्मचारीलाई भन्दा हाम्रा पूर्व मेयर एवं अहिलेका सांसद प्रेम सुवाललाई थाहा हुन्छ, हामीले भन्दा पनि उहाँले नै हेर्नुभएको हो ।’ अनविज्ञता प्रस्तुत गर्दै प्रशासन शाखाका एक कर्मचारीले भने ।

सो सन्दर्भमा प्रशासन शाखाका प्रमुख धौभडेलले पनि नपाका अधिकांश कर्मचारीलाई जस्तै आफूसँग पनि सो विषयमा धेरै जानकारी नभएको स्वीकारिन् । ‘हामीले ख्वप विश्वविद्यालय सञ्चालन गर्छौं भनेर विभिन्न नगरपरिषद्बाट निर्णय गरेका छौं, ख्वप विश्वविद्यालय सञ्चालनको सबै प्रक्रिया अघि बढाउनका लागि ख्वप इञ्जिनियरिङ कलेजलाई जिम्मा दिएका छौं ।’ उनले भनिन् ।

प्रशासन प्रमुख धौभडेलले इञ्जिनियरिङलाई सबै जिम्मा दिएको कारण नपाले खासै ध्यान दिन नसकेको पनि स्वीकारिन् । ‘ख्वप विश्वविद्यालय सञ्चालनको लागि के के भयो थाहा छैन, सदनमा पुगेको सुनेको छु, त्यो बारेमा यहाँ कुनै पनि रिपोर्टिङ भएको छैन ।’

उनले ख्वप विश्वविद्यालय चलाउने भनेर प्रस्ताव गइसकेको अवस्थामा सो बारेमा नपाले जानकारी राख्ने र जिम्मेवारी दिने कुरा नपाकै भएको दाहो¥याउँदै कर्मचारीहरुले त्यसबारेमा खासै ध्यान नदिएको कारण अनविज्ञता व्यक्त गरेको पनि बताइन् । ‘ख्वप विश्वविद्यालय चलाउने भनेको सांसद प्रेम सुवालले होइन, नगरपालिकाले हो, यसैले सो विषयमा हामीले जानकारी राख्नुपर्ने हो तर.....’ उनले कुरा बीचैमा टुङ्ग्याइन् ।

सूचना अधिकृत मूलले पनि ख्वप विवि सञ्चालन गर्र्ने भनेको भक्तपुर नपाले नै भएकोले सो विषयमा प्रशासन तथा योजना शाखाका कर्मचारीहरुले अनविज्ञता व्यक्त गर्न नहुने बताउँदै आफूलाई पनि सो विषयबारे खासै ज्ञान भने नभएको बताए ।

सोही सन्दर्भमा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले पनि ख्वप विश्वविद्यालय चाहिन्छ, त्यसको लागि सडक र सदनबाट कुरा उठिरहेको भए पनि कसरी चल्छ भन्ने विषयमा आफूलाई पनि आधिकारिक जानकारी नभएको स्विकारे ।

गलत ठाउँमा आएर नि सूचना पाइन्छ ?

सो सन्दर्भमा ख्वप विविको जानकारी लिन जाने क्रममा कार्यकारी प्रमुख रोहितराज पोखरेलले अनविज्ञता व्यक्त गर्दै नजिकै रहेका पर्यटन केन्द्रका प्रमुख गौतमप्रसाद लासिवालाई देखाए । उनले सो बारेमा जानकारी दिन आदेश दिँदै भने, ‘लौ, गौतमजी तपाइँ नै सो विषयमा जानकारी दिनसु ।’

कार्यकारी अधिकृत पोखरेलले पर्यटन प्रमुख लासिवालाई सो विषयमा जानकारी दिन अनुरोध गरेसँगै उनले प्रतिप्रश्न गरे, ‘सम्बन्धित निकाय र व्यक्तिसँग सोध्नुपर्नेमा यहाँ आएर नि केही थाहा हुन्छ र ?’
उनले सम्बन्धित निकाय र व्यक्ति भनेको ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज र सोही कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवाल रहेको पनि जानकारी दिए ।

विधेयकमा विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नगरपालिकाले भन्ने स्पष्ट छ । तर नगरपालिकाका प्रमुख देखि योजना, प्रशासनलाई समेत पत्तो नहुँदा विश्वविद्यालय सञ्चालनकालागि तय गर्नु पर्ने योजना शुरु हुन सकेको छैन । ‘हाकिम सा’ब आउनुभएको पनि १५÷१६ दिन मात्रै भो, त्यसैले उहाँलाई थाहा हुने कुरै भएन । योजना, प्रशासनले थाहा पाउनुपर्छ भन्ने छैन, हामीले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने सबै जिम्मा ख्वप कलेज, इञ्जिनियरिङ कलेज व्यवस्थापन समितिलाई जिम्मा दिएका छौं, यसैले सो बारेमा त्यहीँ गएर बुझ्दा राम्रो हुन्छ ।’ लासिवाले कुरा टुङ्ग्याए ।

प्रतिक्रिया