Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

कमजोरी विद्यार्थीको की, उनीहरुलाई नबुझ्ने शिक्षकको

शुक्रबार, १५ पुस २०७३

काठमाडौं – बत्तीसपुतलीका घनश्याम खड्का नाम परिवर्तनको परिवार पछिल्लो क्रममा आफ्नो छोराको दिनचर्यादेखि निक्कै दिक्क छ । कक्षा ९ पढ्दै गरेका उनका छोरा आशिषको उनको दैनिकीमा आएको परिवर्तनले खड्का परिवार दिक्क भएको हो ।

हुन त आशिष कक्षा ८ मा पढ्दा जस्तै गरी नियमित स्कुल जान्छन्, समयमै फर्किन्छन, गृहकार्य र घरको÷स्कुलको काम समयमै सकाउँछन् पनि । छोरा आशिष त्यस्तो कुनै कूलत र कूसंगतमा पनि परेको होइन तर पनि खड्का परिवार चिन्तित छ । यस्तो समस्या भएको बारेमा उनले स्कुलका प्रिन्सिपल, क्लास टिचरहरुसँग पनि छलफल गरिसकेका छन् ।

‘पढाइमा खासै समस्या छैन, पहिलाजस्तै छ, किन चिन्ता लिनुहुन्छ भनेर स्कुलका सरमिसहरु भन्नुहुन्छ’, खड्काले भने, ‘तर छोरा स्कुल, घर, घर–स्कुल गर्छ, टोलका साथीहरुसँग पनि खेल्दैन ।’

आशिषका बुवा घनश्यामका अनुसार छोरा ८ कक्षामा छँदा दिनदिनै कुनै न कुनै नयाँ चित्रहरु बनाउने, कविताका टुक्राटाक्रीहरु लेख्ने र परिवारलाई सुनाउने गर्थे । तर कक्षा ९ पुगिसकेपछि भने चित्र पनि बनाएका छैनन्, कविता पनि सुनाएका छैनन् । पहिला भए दैनिकजसो फुटसल खेल्न जाने आजभोलि त्यो पनि बन्द भएको छ । यही कारण परिवार चिन्तामा परेको खड्का दम्पतीको भनाइ छ ।

छोरामा क्रमशः पलाएको सिर्जनशीलता एकाएक रोकिएको कारणबारेमा खड्का दम्पतीले निक्कै सोधखोज गरे तर त्यसको चित्तबुझ्दो जवाफ पाउन सकेका छैनन् ।

उनले सो विषयमा विषय शिक्षक र प्रिन्सिपलसँग निक्कैपटक गुनासो गरे, तर विद्यालयबाट भने खासै कुनै सकारात्मक कुरा नआउँदा उनी दोधारमा छन्, ‘के गर्ने, गर्ने ?’ ।

आफ्ना सन्तानको आनीवानीबाट दिक्क अभिभावकको संख्या बढ्दो छ । काठमाडौंमै भेटिएका अर्का एक अभिभावकको समस्या  भने अर्कै छ, ‘मेरो छोरा पढ्दै–पढ्दैन, निक्कै चकचके भयो, यसलाई तह लगाउन के गर्ने ?’

आफ्ना सन्तानबारे थुप्रै किसिमका समस्या लिएर अभिभावकहरु आउने गर्छन् तर ती सबै समस्याहरुको चित्तबुझ्दो जवाफ भने शिक्षकहरुसँग पनि छैन । जसले गर्दा शिक्षकहरुप्रति नै अभिभावकहरु सकारात्मक भएका छैनन् । यसो हुुनुमा अभिभावकभन्दा शिक्षकहरुकै कमजोरी भएको शिक्षक रोशनराज तुइँतुइँ बताउँछन् ।

‘हामी पनि अभिभावकलाई तपाइँको बच्चा त पढ्दैपढ्दैन, निक्कै चकचक गर्छ भनेर उल्टै अभिभावकलाई दोष दिने गर्छौं ।’ शिक्षक तुइँतुइँले भने ।

आफ्नो भन्दा पनि बढी अभिभावक र विद्यार्थीको दोष देखाउने शिक्षकको प्रवृत्तिका कारण शिक्षण सिकाइमा प्रभाव परिरहेको उनको भनाइ छ । उनले कक्षामा रहेका प्रत्येक विद्यार्थी महत्वपूर्ण भएको कुरा शिक्षकलाई बुझाउन नसक्दा समस्या भएको बताए ।

प्रतिक्रिया