ललितपुर–मानविकी संकायअन्तर्गत पत्रकारिता र अंग्रेजी विषयमा स्नातक रामेछापकी सिर्जना खड्का त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा दीक्षित भइन् ।
नीलो साडीमाथि कालो गाउनमा आएकी उनको अनुहारमा त्यत्ति धेरै विद्यार्थीबीचमा दीक्षित हुन पाउँदा आफूलाई निक्कै खुसी लागेको उनको भनाइ छ । ‘ओहो, धेरैको बीचमा दीक्षित हुन पाउदा ज्यादै खुसी छु’, उनले भनिन्, ‘धेरै अघिको सपना आज साकार भयो ।’ उनको सपना थियो, आफूले पनि आफ्न्तले जस्तै गरी कालो गाउन लगाएर, ‘त्रिभुवन विश्वविद्यालय प्रमाणपत्र’ भनेर लेखिएको भाग देखिने गरी दुई हातले समाएर फोटो खिच्ने । नभन्दै बिहीबार उनको त्यो सपना पूरा भयो । स्नातक उत्र्तीण उनको ‘त्यो’ सपना त पूरा भयो तर उनलाई अब के गर्ने भन्ने थाहा छैन ।
‘स्नातक सकाइहालेँ, अब मिले जागिर खान्छु, नभए कि यत्तिक्कै बस्छु कि माष्टर ज्वाइन गर्छु ।’ उनले योजना त सुनाइन् तर त्यो योजनाले उनलाई कहाँ पु¥याउने हो, आफैलाई थाहा छैन ।
देशकै जेठो विश्वविद्यालयको दीक्षान्त समारोहमा खड्का संगै ९ हजार ७ सय ३४ विद्यार्थी दीक्षित भए । शैक्षिक सत्र २०७२/७३ मा त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकाय अन्तर्गतका ६० आंगिक र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उत्तीर्ण गरेका कूल ८३ हजार ४ सय २५ मध्ये उक्त संख्याका विद्यार्थीमात्र दीक्षित भएका हुन् ।
यिनै विद्यार्थी मध्ये एक भक्तपुरका कृष्णहरि फोँजुको पनि पढेर के गर्ने भन्ने खासै योजना छैन, सपना पनि छैन । पुल्चोक इञ्जिनियरिङ कलेजको खेल मैदानमा भएको दीक्षान्त समारोहमा प्रमाणपत्र लिने लामम उभिएका उनले हल्का मुस्कुराउँदै भने, ‘के छ सपना भन्ने खै, म त अलमलमा पो छु ।’
शिक्षा शास्त्रमा स्नातक उनको उद्देश्य नै योग्यताको प्रमाणपत्र लिनु भएको खास कुरा फुकाउँदै भन्छन्, ‘के गर्न सकिन्छ र नेपालमा पढेर ? तर नपढी पनि त भएन, पढ्ने भनेको अहिलेको लागि त प्रमाणपत्र पाउनै हो क्यारे ।’ उनले भने ।
त्रिविबाट मात्र वार्षिक एक लाखको हाराहारीमा शिक्षित र दीक्षित भएको प्रमाणपत्र बुझ्छन् विद्यार्थी । ती विद्यार्थीमध्ये को कता जान्छन् त्यसको लेखाजोखा न त्रिविसँगै छ, न त सरकारसँगै । शिक्षामा बढेको पहुँचसँगै शिक्षित बेरोजगारहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ । यो ठूलो संख्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा त्रिविअन्तर्गतको कुनै पनि अनुसन्धान केन्द्रले अध्ययन अनुसन्धान नगरेकोले आफूले पनि खासै योजना र सपना नपालेको बताउँछन्, विद्यार्थी ।
सोही कार्यक्रममा सहभागी अर्घाखाँचीका विष्णुकुमार क्षत्री पनि यिनै मध्येका एक हुन् । शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरेका उनले नेपालको सबै क्षेत्र भद्रगोल रहेकोेले औपचारिक पढाइ सकेका धेरै युवाहरु योजना र सपनाविहीन भएकामध्ये आफू पनि परेको जनाए ।
‘हामीकहाँ कसले पो युवाहरुलाई सपना देखाएको छ र ?’ प्रतिप्रश्न गर्दै उनले भने, जसोतसो कोर्स कम्प्लिट ग¥यो, सकियो ।’ आफू एक कलेजमा प्राध्यापन समेत गर्ने बताउने क्षत्रीले आफूले एक उद्यमी बन्ने सपनाका साथ व्यवस्थापन पढेको भए पनि देशको अवस्थाबाट दिक्क भएर उद्यमीको बाटोभन्दा फरक बाटोमा लाग्नुपरेको बाध्यता सुुनाए ।
हरेक मानिससँग सपना हुन्छ, त्यो सपना, जसले आफूले बोेकेको लक्ष्य प्राप्त गर्न सहयोग गर्छ । अझ नयाँ पुस्ता त विभिन्न सपनासँगै रमाएर आफ्नो दैनिकी बिताइरहेका हुन्छन् । थुप्रै सपनामध्ये निश्चित अध्ययन सकाउने, त्यसपछि आफूले संगालेको लक्ष्य भेट्नका लागि आफ्नो पाइला अघि बढाउने । यस्तैमा बिहीबार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रममा सहभागी हजारौं विद्यार्थीमध्ये कीर्तिपुरका विद्यार्थी राकेश महर्जनले पनि आफूसँग खासै ठूलो सपना नरहेको सुनाए । ‘सिभिल इञ्जिनियरिङमा ब्याचलर सकाएँ, अब माष्टर सकाउँछु होला ।’
स्नातक उनले अबको बाटो के हुने भन्नेमा अन्योलको अवस्था रहेको सुनाए । उनले यसरी सुनाउनुको कारणमा उनी स्वयम् थप्छन्, ‘पढेर के नै भएको छ र ? जस्तो लाग्छ, जसोतसो प्लस टु गरेकाहरु कहाँ–कहाँ पुगिसके ?’ गुनासो गर्दै उनले हिजोआज त विदेशै जाउँ–जाउँ लाग्न थालेको बताए ।
यस्तै भोगाइले विद्यार्थीलाई विदेश तानिरहेको छ । वैदेशिक अध्ययन अनुमति लिनेको हरेक वर्ष बढ्दो संख्या यसको प्रमाण हो । वि. सं. २०६८ मा जम्मा १० हजार ३ सय २३ विद्यार्थीले अनुमति पत्र लिएकोमा २०६९ मा सो संख्यामा ६ हजार १ सय ८० ले बढेर १६ हजार ५ सय ४ पुगेको, २०७० सालमा भने २८ हजार १ सय २६, २०७१ म ३० हजार ६ सय ९७ जनाले र गत वर्ष अर्थात् २०७२ मा ३२ हजार ४ सय ८९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
महर्जनकै जस्तो सोचाइ पालेका विद्यार्थीको बढ्दो संख्याले चालु आर्थिक वर्षमा उक्त संख्यामा अझ वृद्धि हुने सम्भावना लेखिन्छ । चालू वर्षको साउनदेखि कात्तिकसम्म मात्र कूल १२ हजार ४ सय ५ जनाले अध्ययन अनुमति पत्र लिइसकेका छन् । यही रफ्तार हुने हो भने यो वर्ष करिब ४० हजारमाथिको संख्याले अनुमति पत्र लिने आंकलन गरेको छ मन्त्रालयले ।
यो मात्र नभएर उच्च शिक्षामा समग्र उत्तीर्ण प्रतिशत २६ भन्दा कम रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । आयोगका अनुसार साधारण विषयको उत्तिर्ण दर औसत २० प्रतिशत रहेको छ भने प्राविधिक विषय र स्नातकोत्तर तहमा ३० प्रतिशतको सेरोफेरो मात्र । ‘लगानीका हिसाबले हेर्ने हो भने करीब ७० प्रतिशत लगानी खेर गैरहेकोले गुणस्तरमा व्यापक सुधार गरी उच्च शिक्षालाई रोजगारमूलक बनाउनु पर्ने कार्य महत्वपूर्ण चुनौती रहेको छ ।’ आयोगका सदस्यसचिव देवराज अधिकारी बताउँछन् ।
तस्विर : गुगल
प्रतिक्रिया