Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

राजनीतिक भागवण्डा मिलेसँगै विश्वविद्यालयमा नियुक्ति

मंगलबार, १२ पुस २०७३

काठमाडौं - राजनीतिक भागवण्डा नमिलेर नियुक्त हुन नसकेका विभिन्न संकायमा त्रिभुवन विश्वविद्यालयले डीन नियुक्त गरेको छ । सत्ताधारी दल माओवादीलाई २, नेपाली काँग्रेसलाई ३ र प्रमुख प्रतिपक्षी दललाई १ संकायमा डीन दिने सहमती बनेसंगै नियुक्ति भएको हो । जस अनुसार काँग्रेसको भागमा परेको शिक्षामा प्रा.डा. कृष्ण गौतम, कृषिमा प्रा.डा.केशवराज अधिकारी, वनमा प्रा.डा. कृष्णराज तिवारीलाई डिन बनाईएको छ ।

यस्तै माओवादीको भागमा परेको मानविकीमा प्रा.डा. शिव प्रसाद भुसाल र विज्ञानमा यस अघिकै निमित्त डीन प्रा.डा. राम प्रसाद खतिवडालाई नियुक्त गरिएको छ ।
एमालेको भागमा परेको ब्यवस्थापन संकायमा प्रा.डा. डील्लीराज शर्मालाई नियुक्त गरिएको छ ।

विश्वविद्यालय कार्यकारी समितिले गरेको उक्त नियुक्तिलाई राजनीतिक भागवण्डाका रुपमा बुझ्न नहुने तर्क गर्छिन् रेक्टर सुधा त्रिपाठी । 'ब्यक्ति कुनै न कुनै विचार सँग सहमत हुनु र नजिक हुनु आफ्ना ठाउँमा छ, तर विश्वविद्यालयको प्राज्ञिक र शैक्षिक गतिविधिमा राजनीतिक नियुक्ति भयो भन्नु गलत हो' उनले भनिन् 'काममा राजनीतिक प्रभाव पर्दैन, अव विश्वविद्यालयका गतिवधिले गती लिन्छन् ।'

आफू नियुक्त भएको ठ्याक्कै एक बर्ष पछि विश्वविद्यालयका संकायहरु पूर्ण हुँदा खुसी लागेको उनले बताईन् । उनले गत बर्ष पुस १२ गते नै पदवहाली गरेकी थिईन् ।

यो पनि पढ्नुहोस् : त्रिभुवन विश्वविद्यालयमा भद्रगोल, संगिनी सुईको विम्ब !

विश्वविद्यालय अन्र्तगतका सेरीड, सेडा र रिकाष्टमा पनि विश्वविद्यालयले निर्देशक नियुक्त गरेको त्रिपाठीले जानकारी दिईन् ।

जस अनुसार सेडामा डा. अरुण कुमार ठाकुर, रिकाष्टमा प्रा.डा. रामेश्वर अधिकारी र सेरिडमा प्रा.डा. जिवनाथ धिताललाई नियुक्त गरिएको छ ।  विश्वविद्यालय अन्र्तगत रहेका चार अनुसन्धान केन्द्र मध्ये सिनासमा भने अझै नियुक्ति हुन सकेन । सर्च कमिटिका सदस्य विश्वम्भर प्याकुरेल विदेश भएकाले निर्णय नभएको विश्वविद्यालय श्रोतले जनाएको छ ।
विश्वविद्यालय अन्र्तगतका तीन संस्थान चिकित्सा, कानून र ईञ्जिनीयरिङ्मा यस अघिनै डीन नियुक्त भईसकेको छ ।

माओवादी  नेतृत्वमा नयाँ सरकार बन्नु अघिनै  चिकित्सा, कृषि, वन, मानविकी र कानून काँग्रेसको भागमा, शिक्षा र ईञ्जिनीयरिङ् एमालेको भागमा र विज्ञान र ब्यवस्थापनको डीन माओवादीको भाग लगाईएको थियो । तर, सत्ता गठबन्धनमा भएको फेरबदलले उक्त भागबण्डामा सहमती जुट्न नसक्दा डीन नियुक्ति लम्बिदैं आएको थियो ।

डीन नियुक्तिमा भएको ढिलाईले विश्ववद्यालयका शैक्षिक कार्यक्रम लथालिङ्ग भएको छ ।

प्रतिक्रिया