काठमाडौं १० पुस /स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि गत कात्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो नतिजा सूचीलाई बदर गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रथम चरणको परीक्षामा सम्मिलित १ हजार ७ सय ६९ जना परीक्षार्थीलाई बाँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा छनोट गर्न निर्देशनसमेत दिएको छ ।
प्रतिष्ठानले गत मंसिर १५ र १७ मा प्रकाशन गरेको नतिजा सूची विवादित भएपछि मन्त्रालयले समिति गठन गरी छानबिन गरेको थियो । समितिले नतिजा सूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटिसँगै लापरबाही गरेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो । त्रुटिपूर्ण नतिजाका लागि जिम्मेवार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन थापाले सिफारिस गरेका छन् ।
मन्त्रालयले पूर्वशिक्षा सचिव दीपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सीताराम बुढाथोकी रहेको तीन सदस्यीय परीक्षा अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिलाई परीक्षाको बाँकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा सम्पूर्ण परीक्षा प्रणालीको अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेवारी तोकिएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया