काठमाडौं ८ पुस/भोजपुर बहुमुखी क्याम्पसमा व्यवस्थापन फितलो रहेको विद्यार्थीहरूले गुनासो गरेका छन् । हुन पनि, यो सरकारी क्याम्पसमा विद्यार्थीहरू न्यूनतम शैक्षिक सेवासुविधाबाटै वञ्चित छन् । भौतिक पूर्वाधार पक्ष एकदमै कमजोर छ । भूकम्पले जर्जर बनाएका जोखिमपूर्ण भवनमा विद्यार्थीले पठनपाठन गर्नुपर्ने बाध्यता छ । जस्तापाताका अस्थायी टहरामा बसेर कठयांग्रिने जाडोमा अध्ययन गर्न कम सकस छैन । प्रशासनिक भवन आफैं क्षतविक्षत अवस्थामा छ । पाँच दशकअघि क्याम्पस स्थापनासँगै काँचो इँटा र बाक्लो हिलो माटोले निर्माण भएका सबै भवन भूकम्पले चिराचिरा परेका छन् । छात्रावास अव्यवस्थित छन् । क्याम्पस कम्पाउन्ड खुला छन् । भूकम्पले क्षति पुर्याएको छात्रवासको बसाइ एकदमै दयनीय छ । जापान राजदूतको सहयोगमा बनेको छात्रावास बाहिरबाट हेर्दा चिटिक्क र सुरक्षित देखिए पनि भित्र बस्नेलाई बेग्लै पीडा छ । कमसल निर्माण सामग्रीले निर्माण भएको भवनको भित्ता उप्किँदै गएको छ । माथिल्लो तलाको शौचालय, बाथरुमको पानी सिन्चिएर मुनिका तलामा छिर्छ । एकदमै चिस्यान छ । शौचालय, बाथरुम काम नलाग्ने छन् । शौचालयको ढोका चिसो र धमिराले भत्किएको महिनौं बितेको छ । खानेपानीको एकदमै समस्या छ । बिहान खानेपानी जोहो गर्नकै लागि क्याम्पस छुटाउनुपर्ने बाध्यता रहेको छात्रावासमा बसेर बीबीएस दोस्रो वर्ष पढिरहेकी अस्मिता बस्नेतले गुनासो पोखिन् । क्याम्पस प्रमुख र प्रशासनमा पटकपटक डेलिगेसन दिए पनि सुनुवाइ नभएको उनले बताइन् । क्याम्पस प्राध्यापक र कर्मचारीहरू बस्ने क्वाटर उस्तै जोखिमपूर्ण छन् । ‘चिरा परेका भित्ता हिलो माटो, पत्रिकाले टाँसेर सुखदु:ख बसिरहेका छौं,’ प्रशासन प्रमुख एवं सूचना अधिकारी नोदनाथ त्रितालले सुनाए । करिब ५ सय विद्यार्थी अध्ययनरत क्याम्पसमा जम्मा दुइटा शौचालय छन्, त्यो पनि छात्रछात्रा दुवैको एकै ठाउँ । जस्तापाताले घेराबारा गरेर एकै ठाउँ बनाइएका शौचालयमा दोस्रो पिरियडदेखि छात्रछात्राले लाइन लाग्नुपर्छ । किशोरीमैत्री शौचालयको शिक्षा नीति सरकारले ल्याइँरहदा जिल्लाकै उच्च मर्यादित क्याम्पसको हालत दुर्गमको प्राथमिक विद्यालयभन्दा पनि टिठलाग्दो छ । सदरमुकाममा रहेको क्याम्पसको हैसियत दुइटा शौचालयले प्रस्ट पारेको छ । ‘गाउँमा पढेका स्कुलमा शौचालयको बिजोगबिजोगै हुन्थ्यो, क्याम्पसमा त झन् महाविजोग रहेछ, पढ्नभन्दा शौचालयमा लाइन लाग्दै ठिक्क हुन्छ,’ बीबीएस पहिलो वर्षमा भर्खरै अध्ययन थालेका लक्ष्मण चौहानले गाउँ र सदरमुकामको व्यंग्यात्मक पीडा बताए । क्याम्पसमा पुस्तकालय छ, पुस्तक छन् तर कोर्सका पाठ्यपुस्तकको चरम अभाव छ । पहिलो वर्ष र दोसो वर्षको शैक्षिक सत्र सुरु भएको महिना दिन बितेको छ । पाठ्यपुस्तक व्यवस्था गर्नुपर्नेमा बेवास्ता गरेको छ । विद्यार्थीको शैक्षिक व्यवस्थापनमा क्याम्पस संवेदनशील बन्न नसकेको विद्यार्थीको गुनासो छ । पढाइमा निरन्तरता छैन । बीबीएस पहिलो वर्षको ‘बिजिनेस स्टाटिस्टिक’ जस्तो मुख्य विषयको पढाइ अझै सुरु भएको छैन । अन्य संकाय र तहका पढाइको हालत उस्तै छ । प्राध्यापक शरणकुमार राईले भोजपुर क्याम्पसको पढाइमा निरन्तरताको सबल र अब्बल पक्ष दाबी गरिरहँदा विद्यार्थीको हबिगत भने यस्तो छ । त्रिविको परीक्षा आइसक्दा सबै विषयमा कोर्स पूरा नहुनु यो क्याम्पसको अर्को रोग हो । त्रिविले लिएको परीक्षामा सहभागीमध्ये १० प्रतिशत पनि नियमित उत्तीर्ण हुँदैनन् । भूकम्पपछि ३ जना क्याम्पस प्रमुख फेरिए । क्याम्पसका समस्या हल गर्न कसैले चासो देखाएनन् । क्याम्पस प्रमुखले सरकारी क्यापस भएर पनि भोजपुर क्याम्पसजस्तो मर्यादित, व्यवस्थित क्याम्पस देशभर सायदै नभएको दाबी गर्छन् । यथार्थमा फरक छ । स्थिति अस्तव्यस्त, भताभुंग र नाजुक छ । छोटो समयमा क्याम्पस प्रमुख फेरिनु र महिनौंसम्म पूर्ण क्याम्पस प्रमुखविहीन बन्नु मुख्य कारण रहेको क्याम्पस प्रमुख रोहितकुमार श्रेष्ठ बताउँछन् । कान्तिपुरमा विद्या राईले लेखेको खबर ।
प्रतिक्रिया