गिद्ध अन्य पंक्षीको तुलनामा सुन्दर र आकर्षक पंक्षी होइन । रुपरंगमा गिद्धलाई प्रकृतिले नराम्ररी ठगेको छ । हेर्दै डरलाग्दो, चुच्चो ठुँड, नाङ्गो लामो गर्धन, देख्दै घिनलाग्दो र भद्दा जिउडाल गिद्धको वास्तविक स्वरूप हो । त्यसमा पनि मरेको जनावरको सिनो खाने भएपछि गिद्धलाई हाम्रो समाजमा फोहोरी पंक्षीको रुपमा लिइन्छ । तथापी मरेको जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाइ प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन प्रकृतिले गिद्धलाई ठुलै भूमिका सुम्पेको छ ।
यो भूमिकाका बारेमा कक्षा कोठामा समेत जानकारी दिनु आवश्यक छ । ज्ञान धेरै ठाउँबाट पाहिन्छ तर कक्षा कोठाबाट विस्तार भएको ज्ञानले एकै पटक समाजको ठूलो हिस्सामा प्रभाव पार्दछ । यो विषयमा समाज जागरुक र जानकार हुनु आवश्यक छ । त्यसैले किताबका कुरा मात्रै हैन पर्यावरण, वातावरण र यसको संरक्षणमा हाम्रो भूमिकाका बारेमा कक्षा कोठा देखिनै ज्ञान दिन थालियो भने यसको प्रभाव चिरकाल सम्म रहन्छ ।
नेपाल पंक्षी संरक्षण संघका जीवविज्ञ तथा परियोजना प्रमुख कृष्णप्रसाद भुसालका आनुसार “गिद्धले जस्तोसुकै हानिकारक किटाणु भएको सडेगलेको मासु खाई सजिलै पचाउन सक्छ । गिद्धको अभावमा सिनो प्रकृतिमा यसै सड्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा, झिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसहरुमा रेबिज, हैजा, प्लेग, आउँ, झाडापखाला आदि घातक सरुवा रोग फैलिन सक्छ । पशु चौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्छ । तसर्थ पर्यावरणीय चक्र, जैविक विविधता तथा पारिस्थितिकीय स्वस्थ्यता कायम राख्नको लागि गिद्धको उपस्थिति अनिवार्य रहेकोछ ।” भुसालका अनुसार एउटा गिद्धले ३ दिनमा सरदर १ के.जी. र एक वर्षमा औषत १२० के.जी सिनो खपत गर्ने गर्दछ ।
गिद्धको पर्यावरणीय सन्तुलन तथा जैविक विविधता जोगाउन मात्र होइन धर्मशास्त्र र संस्कारसँग पनि यसको उत्तिकै सम्बन्ध रहेको छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लंका लाने क्रममा सीतालाई अपहरणमुक्त गराउन जटायु (गिद्ध) अन्तिम प्राण रहंदासम्म रावणसंग लडेको प्रसंग उल्लेख छ । त्यस्तै नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तिव्वती मुलका लामा समुदाय तथा पारसी धर्मावलम्बीहरुमा मृत आफन्तको शब गिद्धलाई अर्पण गर्ने परम्परा छ र यिनीहरुले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दुतको रुपमा समेत पुजा गर्ने गर्दछन् ।
सिमल तथा सिसौ जस्ता अग्ला र बलिया रुखहरुमा गुँड बनाएर बस्ने गिद्धले मानिसले भन्दा आठ गुणा टाढा सम्म देख्न सक्दछ । ६ हजार मिटरको उचाइमा उडिरहेको गिद्धले जमिनमा मरेको ३ फुटको सिनो सहजै देख्न सक्छ र आहाराको लागि आकासमा झुम्मिन थालिहाल्छ । गिद्धको सुँघ्ने क्षमता पनि उच्च नै हुने गर्दछ । जनावर मरेको करिव आधा घण्टा मै गिद्धले चाल पाउँछन र आफ्नो निशाना बनाइहाल्छन् । असोज–कार्तिक देखी जेठ सम्म गिद्धको प्रजननकार्य हुन्छ भने केही अपबाद बाहेक गिद्धले वर्षमा एउटा मात्र अण्डा पार्ने गर्दछ । पोथी गिद्ध करिब ७५ दिन ओथारो बस्छ भने ३ महिनामा गिद्धको बच्चा उड्न सक्ने हुन्छ । गिद्धको सरदर आयु ४० वर्ष हुन्छ ।
सन् १९८० तिर नेपाल, भारत लगायत विश्वमा ८ करोड भन्दा बढीको संख्यामा रहेको डंगर गिद्धको सँख्या सन् २००५ अर्थात २५ वर्षको अन्तरालमै असामान्य र अप्राकृतिक रुपमा ९७ प्रतिशतले घटेको पाइएपछि “गिद्ध घट्नुको कारण र यसको संरक्षणमा” पंक्षी विशेषज्ञहरुको ध्यान आकृष्ट भयो । नेपाल र भारतमा रहेका गिद्धहरुको लामो अध्ययन र अनुसन्धानबाट के पत्ता लाग्यो भने घरपालुवा गाईबस्तुहरुलाई ज्वरो आएको बेलामा पशु डाक्टरहरुले “डाइक्लोफेनेक” अर्थात् दुखाई र ज्वरो नियन्त्रण गर्ने एक रासायनिक औषधि खुवाउने वा सुई मार्फत दिने, उक्त औषधिको अवशेष मरेको गाईबस्तुको सिनोमा कायम रहने, त्यस्ता गाईबस्तुहरुको सिनो गिद्धले खाँदा गिद्धको शरीरमा युरिक एसिडको मात्रा अत्याधिक बढ्ने, पाचन प्रणालीमा गडबडी गर्ने, बिस्तारै भित्रि अंग सुनिदै जाने र युरिक एसिड मृगौलाले छान्न नसकी गिद्धको मृगौला “ड्यामेज” भई गिद्धहरु मर्ने गरका रहेछन् ।
त्यस्तै सन् १९९२ देखि सन् २००७ सम्म भारतमा गरिएको एक अध्ययनले डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको र सन् २००२ देखि सन् २०१० सम्म नेपालमा गरिएको गिद्ध सम्बन्धी अर्को अध्ययनले दुई दशक अघि ५ लाखको हाराहारीमा रहेको डंगर गिद्ध ९१ प्रतिशतले घटेको तथ्यांक उजागर गर्यो । मरेको जनावरको सिनो खाइ वातावरण स्वच्छ र सफा राखी रेबिज, हैजा, प्लेग, आउँ, झाडापखाला जस्ता महामारी फैलिनबाट रोक्ने प्रकृतिको कुचिकारको अप्राकृतिक, असामान्य तथा नाटकीय ढंगले विनास र लोप हुन थालेपछि गिद्ध संरक्षण र प्रबर्धनमा विश्व समुदायको ध्यान आकृष्ट भएको हो ।
विश्वमा २३ प्रजातिका गिद्धहरु पाइन्छन् भने नेपालमा सानो खैरो, डंगर, सुन, राज, सेतो, हिमाली, खैरो, हाडफोर र लामो ठुंडे प्रजातिका गिद्धहरु पाइने गर्दछन् । यस मध्ये ६ प्रजातिका गिद्धले नेपालमै गुँड बनाइ बच्चा कोरल्छन भने ३ प्रजाति हिउँदे आगन्तुकको रुपमा दक्षिण एसियाका बिभिन्न देशहरुबाट आउने गर्दछन् । नेपालमा पाइने गिद्धहरुको सख्यामा भारी गिरावट आएपछि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठुंडे र सुन गिद्धलाई अतिसंकटापन्न र सेतो गिद्धलाई संकटापन्न सुचिमा राखेको छ ।
नेपाल, भारत, पाकिस्तान तथा बंगलादेशमा गरिएको वैज्ञानिक अनुसन्धानहरुले गिद्धको संख्यामा ह्रास आउनुको प्रमुख कारण पशु उपचारमा गरिने ‘डाइक्लोफेनेक’ औषधी भएको पुष्टि गरेका छन् । भुसालका अनुसार “३० एम.एल भाएल ‘डाइक्लोफेनेक’ प्रयोग गरिएको एउटै सिनोबाट मात्रै ३ सय पचास देखि ८ सय गिद्धरु मर्न सक्छन् र ‘डाइक्लोफेनेक’ औषधि प्रयोग गरी उपचार गरिएको ७ दिन भित्र मरेका घरपालुवा जनावरको सिनो गिद्धले खाँदा गिद्धको रगतमा युरिक एसिडको मात्रा अत्याधिक बढ्ने र मिर्गौलाले युरिक एसिड छान्न नसकी गिद्धको केहि दिनमा मृत्यु हुने गर्दछ ।”
गिद्ध संरक्षणका लागि नेपाल सरकारले वि.स.२०६३ जेठ २३ गते देखि पशु उपचारमा ‘डाइक्लोफेनेक’को प्रयोग, उत्पादन, आयात र बिक्रीमा पूर्णतया प्रतिबन्ध लगाउदै यसको विकल्पमा गिद्ध जस्ता मांसाहारी अन्य चराचुरुङ्गी तथा जीवजन्तुलाइ हानि नगर्ने औषधि ‘मेलोक्सिक्याम’को उत्पादन, बिक्रि र प्रयोग गर्न सुझाइएको छ । हालसम्म ४६ जिल्लालाई ‘डाइक्लोफेनेक’ मुक्त जिल्ला घोषणा गर्ने अभियान सम्पन्न भईसकेको छ । यदि कसैले यो औषधि प्रयोग गरी पशुको उपचार गरिएको पाइएमा औषधि ऐन ३०३५ बमोजिम ३ वर्ष कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । गिद्धको संख्यामा कमि आउनुका अन्य सहायक कारणहरुमा बासस्थानको अभाव, आहाराको कमि, ‘डाइक्लोफेनेक’ औषधिको लुकिछिपी प्रयोग, अवैज्ञानिक तरिकाले बिस्तार गरिएका विद्युतीय तार, प्रर्याप्त संरक्षण चेतनाको अभाब आदि रहेका छन् ।
गिद्धहरुको संख्यामा असामान्य तरिकाले कमि आउन थालेपछि लोपोन्मुख गिद्धलाई ‘डाइक्लोफेनेक’ रहित शुद्ध आहारा उपलब्ध गराई यिनीहरुको संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले गिद्धका वासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालका रुपन्देहीको गैडाहवा ताल, नवलपरासीको पिठौली, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र पूर्वको सुनसरीको कोशीटप्पुमा जटायु रेस्टुरेण्टहरु खोलिएका छन् ।
त्यस्तै नेपालको प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने र कृतिम प्रजनन गराई सुरक्षित प्राकृतिक वातावरणमा पुनर्बास गराउने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज को कसरामा ६३७५ वर्ग मिटरको क्षेत्रफलमा “गिद्ध संरक्षण तथा प्रजनन केन्द्र” स्थापना गरिएको छ । हाल यस केन्द्रमा ५७ वटा डंगर गिद्ध राखिएका छन् । नेपाल सरकारले गिद्ध संरक्षण कार्ययोजना (सन् २००९–२०१३) सफल भएपछि करिब ११ करोड रुपैयाँ खर्च अनुमान सहित नयाँ पञ्चवर्षीय कार्ययोजना (सन् २०१५–२०१९) समेत लागु गरेको छ । तसर्थ सिनोजन्य पदार्थ खाई हाम्रो वातावरणलाई सफा राख्ने प्रकृतिको कुचिकार तथा अति गुनकारी पंक्षीको संरक्षण र प्रबर्द्धनमा आजैबाट जुटौं ।
(पंगेनी जीवनज्योति मा.वि., कावासोती, नवलपरासीका शिक्षक हुन्)
प्रतिक्रिया