भक्तपुर - देवी माध्यमिक विद्यालय, ताथली सौडोलका अभिभावक शिक्षकले अल्छि गरेको गुनासो बोकेर प्रधानाध्यापकको कक्षमा आउने क्रम बढ्न थाल्यो । अधिकाँश अभिभावकको गुनासो हुन्थ्यो – 'सन्तानको पढाइ बिग्रियो, अतिरिक्त क्रियाकलाप कम भए, कक्षा कार्य र गृह कार्यको परीक्षण गतिलो भएन अर्थात् समग्रमा शिक्षक अल्छि भए, हाम्रा सन्तानको पढाई दिन दिनै खस्कियो ।'
जिल्लाको पूर्वी भेगको नमूना विद्यालय भनेर गनिएको विद्यालय प्रति अभिभावकको गुनासो बढ्नु भनेको निश्चयनै राम्रो लक्षण थिएन । प्रारम्भिक तह देखि कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले छलफल गरे । सुधार्ने अठोट गरे तर गुनासो ज्यूँ का त्यूँ !
करिब ६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा ३५ जना शिक्षकहरु विद्यार्थी पढाउन अटिईरहेका छन् । तर उनीहरुको खटाइमाथि अभिभावकहरुले गुनासो नघटेपछि प्रअ राजाराम छुकांले शिक्षक बैठकमा मात्र हैन छुट्टाछुट्टै कुरा पनि गरे ।
‘बोलाएर कुरा गर्दा मैले गरेकै छु, बच्चाहरुलाई कन्ट्रोल गर्न गा¥हो छ भनी भने’, तीन महिनाअघि प्रअले एक शिक्षकलाई बोलाएर कुरा गर्दाको संवाद सम्झे । उक्त संवादपछि प्रअ छुकांले अभिभावकले गरेको 'कम्प्लेन' लाई कम गर्न भनी कक्षा–कक्षा पुगेर शिक्षकहरुले पढाइरहेको पठनकार्यलाई पनि विभिन्न तरिकाले निगरानी गरे ।
‘त्यो निगरानीले पनि खासै काम गरेन, शिक्षकहरुले हामीले पढाएको प्रति तपाइँलाई विश्वास छैन कि क्या हो ? भन्न थाले ।’
यो तरिका पनि प्रभावकारी नभएपछि प्रअ छुकांले कक्षाकोठामा सिसी क्यामेरा जडान गर्ने उपाय रोजे ।
‘त्यसयता भने अभिभावकहरुको कम्प्लेन कम भएको छ, शिक्षकहरुले कक्षाकोठामा गरेका शैक्षिक क्रियाकलापहरुमा पनि वृद्धि भएको छ ।’ विगत दुई महिना अघि विद्यालयले कक्षाकोठादेखि विद्यालयको खेल मैदानसम्म सिसी क्यामेरा जडान गरेपछिको प्रगति सुनाउँदै छुकांले भने ।
उनले शिक्षकहरुका क्रियाकलाप, उनीहरुले कक्षामा गर्ने शैक्षिक अभ्यासलाई निगरानी गर्नैपर्ने आवश्यकता देखिएको बताउँदै भने, ‘अहिलेका अधिकाँश शिक्षकहरु पहिलाका जस्ता छैनन्, आफैं केही गरौं भन्ने भावनाका छैनन, जसरी हुन्छ काम कम गर्न पाए हुन्थ्यो भन्ने सोचका छन् ।’
उनको उक्त अभिव्यक्तिले ‘शिक्षकहरुलाई गोठालो’ लाग्नैपर्ने आवश्यकता बढेको पनि स्पष्ट छ । यही गोठालोको नयाँ स्वरुपमा विद्यालयका कक्षाकोठामा सिसी क्यामेराले निगरानी गर्ने उनको ठम्याइ छ ।
‘निगरानी भएपछि जो कोहीमा पनि डर हुँदो रहेछ, आफ्नो जिम्मेवारी बोध गर्न बाध्य हुँदो रहेछ,’ सिसी क्यामेरा जडान गरेको दुई महिने उपलब्धिलाई उनले सुनाए, ‘अहिले विद्यार्थी पनि त्यति धेरै चकचक गर्दैनन्, बदमासी गर्दैनन्, शिक्षकहरु पनि टाइममा कक्षाकोठामा पस्छन्, पूरै समय कक्षामा बिताउँछन्, पहिला बेञ्चमा बसेर पढाउने, अल्छी गर्नेहरु पनि अहिले त्यसो गर्दैनन् ।’
क्यामेरा जडानका लागि विद्यालयले शिक्षा मन्त्रालयबाट रु. पाँच लाख सहयोग पाएको थियो । सोही रकमले विद्यालयले अहिले २४ वटा सिसी क्यामेरा जडान गरिसकेको छ । विद्यालयको प्रवेशद्वार, कार्यालय, लेखा शाखा, खेलमैदान र कक्षाकोठामा उक्त क्यामेरा जडान गरिएको छ ।
'हुन त सुरुमा सिसी क्यामेरा किन राख्नुप¥यो र ? भन्दै शिक्षकहरुले चित्त बुझाएका थिएनन् तर सिसी क्यामेराबाट निगरानी हुन थालेपछि विद्यार्थीमा आएको परिवर्तन पछि भने शिक्षकहरु सकारात्मक भएका छन्' उनले भने, 'विद्यालयमा कता के भईरहेको छ भन्ने कुरा अफिसमै बसेर थाहा पाउन सकिएको छ ।'
प्रतिक्रिया