काठमाडौं - उपत्यकाका तीन जिल्लामा आवश्यक शिक्षक दरबन्दीको यकिन संख्या लुकाउँदा शिक्षक सेवा आयोग पास भएर पनि शिक्षकहरुको पदस्थापना हुन सकेको छैन । यसले गर्दा गत असारमा भएको लिखित र गत कात्तिकमा भएको अन्तर्वार्तामा उत्तीर्ण भएर पदस्थापना कुरेर बसेका माध्यमिक तहका ६ सय १२ शिक्षकहरु अन्यौलमा परेका छन् ।
आफ्नो जिल्लामा कुन विषयमा कति शिक्षक आवश्यक छ भन्ने कुराको यकिन दरबन्दी तयार गरी जिल्ला शिक्षा कार्यालयले बुझाएपछि शिक्षा विभागले पदस्थापनाको प्रकृया शुरु गर्छ । तर उपत्यकाका तीनै जिल्लाको विज्ञापन नभएकोले पदस्थापनामा ढिलाई भएको श्रोतको दावि छ । देशैभरी शिक्षक दरबन्दी मिलान जटिल समस्या भएजस्तै उपत्यकाका तीनै जिल्लामा दरबन्दी आवश्यकता भन्दा बढि छ ।
'दरबन्दी बढि त छँदै छ, ती दरबन्दीमा शिक्षाकै निकायका ठूला बडाका श्रीमती र आफन्त कार्यरत छन्' उक्त श्रोतले भन्यो, 'जिल्ला शिक्षा कार्यालयले दरबन्दी यकिन गर्ने वित्तिकै अवस्था स्पष्ट हुन्छ, त्यो गरेर हाकिमहरुको भनाई खाँदै बेकारमा किन टाउको दुखाउने ? भन्ने जिशिअहरुको मनोविज्ञानले पनि उपत्यकाको दरबन्दी लुकाईएको हो ।'
निर्माणको चरणमा रहेको शिक्षा नियमावली जारी भईञ्जेल सम्म पदस्थापना तन्काउन सकियो भने आफूले भनेकै ठाउँमा कार्यरत आफ्ना मान्छेलाई राख्न सकिने अड्कल काटेर पनि ढिलाई गरिएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । शिक्षा ऐन जारी भईसेकको अवस्थामा नियमावली आउने वित्तिकै अस्थायी शिक्षक सेवाबाट बाहिरिने र त्यो ठाउँमा आफूहरु बस्न पाउने उनीहरुको अड्कल छ ।
जसरी हुन्छ उपत्यकाका सुगम विद्यालयहरुमा कार्यरत आफ्ना मान्छेलाई कसरी सहज बनाउने भन्ने बारेमा उपयुक्त उपाय नसुझेकाले नयाँ शिक्षक नियुक्तिको फाईल सिंहदरबार स्थित शिक्षा मन्त्रालय र सानोठिमी स्थित शिक्षा विभागमा ओहोर दोहोर भईरहेको उक्त श्रोतको दावी छ ।
आफ्नो सबै काम सकेर शिक्षक सेवा आयोगले मंसिर तेश्रो हप्ताको शुरुमै उत्तीर्ण उम्मेद्वारहरुको नामावली सहितको फाईल विभागमा बुझाएको थियो । आयोग उत्तीर्ण शिक्षकहरुको पदस्थापनाका बारेमा विभागले पहिलेकै मापदण्ड तय गरेर उक्त फाईल मन्त्रालयमा पठाए पनि फेरी विभागमै फिर्ता गरिदिएको थियो ।
मन्त्रालयबाट फिर्ता आएको उक्त फाईल विभागले गत आईतबार फेरी मन्त्रालयमा बुझाएको छ ।
'फाईल यता र उता भएको यही तरिकाबाट तपाई थाह पाउन सक्नुहुन्छ शिक्षाका हाकिमहरुलाई पदस्थापना गर्न कति हम्मे परेको छ भन्ने कुरा' उक्त श्रोतले भन्यो, 'हाम्रा हाकिमहरुलाई यतिखेरको पदस्थापना नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भनेको जस्तो भएको छ ।'
तर विभागका महानिर्देशक बाबुराम पौडेल पदस्थापनाको प्रकृया जारी रहेको र अव छिट्टै टुङ्गिने दावि गर्छन् । आफूहरुले पदस्थापनाको मापदण्ड तय गरेर मन्त्रालयमा फाईल पठाईसकिएकोले एक दुई दिन भित्रै नियुक्तिको प्रकृया शुरु हुने उनको दावी छ ।
'नियुक्तिको मापदण्ड त पहिलेकै जस्तो हो, तर यस पटक हामीले सबै जिल्लामा एकै पटक पदस्थापना गर्ने गरी योजना बानाएका छौं' उनले भने, 'कुनै जिल्लामा भईसक्यो कुनैमा बाँकी छ भन्ने गरी प्रकृया नलम्बियोस् भनेर क्षेत्र र जिल्लालाई दिनै तोकेर नियुक्ति गर्ने मापदण्ड बनाएका छौं ।'
नियुक्तिका लागि यस अघिनै तय भएको मापदण्ड यथावत रहेको उनको भनाई छ । जस अनुसार कार्यरत शिक्षक छ भने उसलाई सोही विद्यालयमा प्राथमिकता दिईने छ । दोश्रो प्राथमिकता अपाङ्गता भएका उम्मेद्वारले पाउने छन् । महिलालाई तेश्रो प्राथमिकता छ भने त्यसपछि बल्ल प्राप्ताङ्क अनुसार आयोगले तयार पारेको मेरिट लिष्टको आधारमा नियुक्ति गरिने छ ।
शिक्षक सेवा आयोगले गत असारमा लिएको मावि तह स्थायी शिक्षकको अन्तर्वार्ता गत कात्तिक १ गतेबाट शुरु भएको थियो । अन्तर्वार्ताको नतिजा मंसिर २ गते सार्वजनिक भएको थियो ।
प्रतिक्रिया