भक्तपुर - शिक्षा विभागका महानिर्देशकको काम के हो ? निश्चय पनि शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम र कार्यक्रमको अवलम्बन गर्नु । तर, सोमबार महानिर्देशक बाबुराम पौडेलले विद्यार्थी पढाउने शिक्षकलाई नै पढाएका छन् ।
विद्यार्थीलाई शिक्षकले जस्तै कक्षाकोठामा नभएर उनले जिल्ला शिक्षा कार्यालयको कार्यकक्षमा जिशिअ अर्जुनबहादुर रायमाझीलाई बगलमै राखेर शिक्षकहरुलाई पढाएका हुन् ।
विभिन्न विद्यालयका लैंगिक सम्पर्क बिन्दु (जेण्डर फोकल पर्सन) का लागि आयोजित अभिमुखीकरणमा प्रमुख अतिथिको रुपमा आएका पौडेलले भक्तपुरका ३० जना शिक्षकलाई करिब आधाघण्टा पढाए । शिक्षक तालिमलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने विषयमा मात्र उनले करिब २५ मिनेट कक्षा लिएका थिए ।
विद्यालयमा लैंगिकमैत्री वातावरण बनाउन सहयोग पु¥याउने उद्देश्यले शिक्षकहरुका लागि आयोजित उक्त कार्यक्रममा महानिर्देशक पौडेलले आफू पनि प्राथमिक शिक्षक भएर शिक्षा क्षेत्रमा प्रवेश गरेको स्मरण गर्दै शिक्षकहरुका लागि आयोजना हुने कार्यक्रममा शिक्षकहरुको उपस्थिति शारिरीक रुपमा मात्र हुने तर मानसिकता भने अन्यत्र हुने समस्या रहेको बताए । त्यसैले तालिम प्रभावकारी नभएको उनले अनुभव सुनाए ।
‘म पनि प्रावि तहबाट शिक्षण पेशामा प्रवेश गरेर क्रमशः निमावि, मावि हुँदै विनि, विनिबाट अधिकृत हुँदै महानिर्देशकसम्मको यात्रामा छु,’ आफनो इतिहास बताउँदै पौडेलले भने, ‘शिक्षकहरुलाई दिइने तालिममा शिक्षकहरुले नै जागरुकता देखाउनुपर्छ, अन्यथा तालिम औपचारिकतामा सीमित हुन्छ ।’
शिक्षकहरुलाई समयको ख्याल गर्न अनुरोध गर्दै उनले शिक्षकहरुबाट जानी/नजानी हुने विभेदको शिकारमा विद्यार्थीहरु पर्दा सिकाइ उपलब्धि समेत बढ्न नसकेको बताए ।
उनले भक्तपुरको सिकाइ उपलब्धि देशका अन्य जिल्लाहरुको लागि पनि अनुकरणीय भएको बताउँदै भक्तपुरका विभिन्न विद्यालयहरुमा कार्यरत शिक्षकहरुकै कारण उक्त उपलब्धि सम्भव भएको भन्दै शिक्षकहरुको प्रसंशा पनि गरे ।
उनले भक्तपुरका विद्यालय र शिक्षकहरुको स्तरवृद्धिका लागि विभाग सहयोग गर्न तयार रहेको बताउँदै शिक्षकहरुले तालिम तथा अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।
महानिर्देशक पौडेलले लैंगिकमैत्री वातावरण बनाउनका लागि शिक्षकहरुबाटै सुरु नगरे परिवर्तन नआउने भएकोले उक्त कामको अगुवाइका लागि शिक्षकहरुसँग आग्रह गर्दै सो कामका लागि आफूले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया