Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

सामुदायिकका शिक्षकलाई पत्याउँदैनन् अभिभावक

सोमबार, २७ मंसिर २०७३

काठमाडौं - सोलुखुम्बुबाट भक्तपुर सरुवा भएर आउँदा शिक्षक ईश्वरी शर्मालाई लागेको थियो, शहरको विद्यालय विद्यार्थीको भीडभाडले भरिएको होला र सिकाइ पनि अन्तभन्दा अब्बल होला । कतै त्यस्तो ठाउँमा आफू कमजोर शिक्षक पो भइने हो कि ?

उनलाई लागेको कुरा त्यति बेला गलत सावित भयो जतिबेला उनी भक्तपुरको श्री प्राविमा हाजिर गर्न पुगिन् । जहाँ न उनले सोचेजस्तो विद्यार्थी संख्या धेरै थियो न विद्यार्थीको सिकाइ स्तर अब्बल ।

‘मलाई शहरको स्कुल यस्तो होला भन्ने लागेको थिएन’, २०६९ मा सरुवा पछिको आफ्नो अनुभव सुनाइन्, ‘प्रावि भए पनि सोलुखुम्बुको गाउँको विद्यालयमा कम्तीमा १ सय ५० विद्यार्थी हुन्थे, यहाँ (भक्तपुर नगर) को यो स्कुलमा त ५० जना विद्यार्थी पनि छैनन् ।’

अभिभावकको निजी प्रतिको बढ्दो मोहले शहरका सामुदायिक विद्यालयमा विद्यार्थी घटेका घट्यै छन् । ‘आउनु अघि केही गर्छु भन्ने योजना मसित पनि थियो’, शर्माले भनिन्, ‘आएर केही प्रयास पनि गरेँ, तर सहरका अभिभावक सामुदायिक स्कुल र शिक्षकलाई विश्वास गर्दैनन् । अभिभावक आफ्ना छोराछोरी सकेसम्म निजीमा पढाउन चाहने रहेछन् ।’

जिल्ला शिक्षा कार्यालय भक्तपुरका निरीक्षक विमलप्रसाद निरौलाका अनुसार यस वर्ष भक्तपुरका प्राथमिक विद्यालयमा साढे ४ सय विद्यार्थी घटेका छन् ।

केही समय अघि एसियाली विकास बैंक र बेलायत अन्तर्राष्ट्रिय विकास नियोग लगायतका दाताले गरेको अध्ययन अनुसार नेपालमा निजी विद्यालयहरुको स्थापना शहर केन्द्रीत छन् । अध्ययनले यस्ता निजी विद्यालयको नियमनका लागि कुनै प्रभावकारी संयन्त्र नभएको देखाएको छ । सरकारको अनुगमन र सुपरीवेक्षण समेत कमजोर रहेको पनि अध्ययनले देखाएको छ ।

भक्तपुरकै हंशबाहिणी प्राविका शिक्षक श्रीकृष्ण पुरीको अनुभवमा सामुदायिकमा पढाए समाजमा कमजोर भइन्छ भन्ने सोच अभिभावकमा छ जसले निजीप्रति तानेको छ । र यो सोच राजधानी काठमाडौं जोडिएका शहरी क्षेत्रमात्रै होइन देशभरका सदरमुकाम र शहरी क्षेत्रमा विकसित छ ।

शिक्षा कार्यालय ललितपुरका अनुसार ललितपुरमा मात्र दर्जनका संख्यामा प्राविहरुमा विद्यार्थी शुन्य छन् भने ५० भन्दा बढी विद्यालयमा ५० जनाभन्दा कम विद्यार्थी पढ्छन् । काठमाडौंंसँगै जोडिएको काभ्रेका ४० विद्यालयमा विद्यार्थी शून्य रहेको जिशिअ डा.दीपेन्द्र गुरुङ बताउँछन् ।

‘हामी शिक्षकले भरपूर प्रयास गर्छौं तर हाम्रो प्रयासलाई सरकारले कहिल्यै पनि वास्ता गरेन’, काठमाडौंको आरुबारीस्थित अरुणोदय माविका शिक्षक सरस्वती ढुंगानाले भनिन्, ‘सामुदायिकमा विद्यार्थी तान्न राज्य तहबाट पनि पहल हुनु पर्छ, शिक्षकबाट मात्रै आशा गरेर हुन्न ।’

प्रतिक्रिया