Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी र अभिभावकले नै गरे विद्यालयमा तालाबन्दी

आइतबार, १९ मंसिर २०७३

काठमाडौं १९ मंसिर / विद्यार्थी संगठन र अभिभावकले रामबजारस्थित नेपाल–भारत मैत्री विद्यालयमा तालाबन्दी गरेका छन् ।

उच्चमावि अध्ययन गरेका ५४ विद्यार्थीले समकक्षता प्रमाणपत्र नपाउँदा अन्यत्र भर्ना नपाएको भन्दै शुक्रबार तालाबन्दी गरिएको हो । कक्षा ११ को परीक्षा अगावै रजिस्ट्ेरसन फारम भरिसक्नुपर्ने हुन्छ । यसका लागि विद्यार्थीसँग समकक्षताको प्रमाणपत्र आवश्यक हुन्छ । तर, विद्यालयले त्यो प्रमाणपत्र नदिएपछि अरू उच्चमावि र क्याम्पसले भर्ना नलिएको विद्यार्थीले बताए ।
सन् २०१३ देखि नवीकरण नगरी कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ११ को रजिस्ट्ेरसनका लागि बुधबारसम्म म्याद थियो । विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले तालाबन्दी गर्नुपरेको पीडित अभिभावक संघर्ष समितिका अध्यक्ष तुलबहादुर ठकुरीले बताए । प्रमाणपत्र उपलब्ध नगराउँदासम्म ताला नखोल्ने उनले चेतावनी दिए । विद्यालय भारतीय पेन्सन क्याम्पमार्फत सञ्चालित छ । सदस्य सचिव लेफ्टिनेन्ट कर्णेल प्रदीप शर्माले समस्या समाधानका लागि मन्त्रालयमा छलफल भइरहेको बताए ।
शिक्षा सचिव र भारतीय राजदूत रणजित रेसँग वार्ता भइरहेको र छिट्टै निकास निस्कने उनले बताए । मन्त्रालयले नवीकरण नगरेका कारण यस्तो समस्या आएको उनले बताए । प्राचार्य मृत्युञ्जय सिंहले विद्यालयको तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गरेपनि सरकारले नवीकरण नगरेको बताए । गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका बेला सरकारले विद्यालयलाई कानुनको परिधिमा रहेर नियमन गर्न र सम्बन्धनका लागि दर्ता र नवीकरण गर्न आह्वान गरेको थियो । अन्यले गरेपनि यो विद्यालयले नवीकरण नगर्दा समस्या भएको हो ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया