काठमाडौं - सन्तोष तामाङ (नाम परिवर्तन) बानेश्वरको एक निजी विद्यालयमा अध्यापन गर्छन् । काम गर्दै, आफ्नो पढाइलाई पनि अघि बढाउँदै गरेका रामेछापका सन्तोषलाई विद्यालयले थमाएको नियुक्ती पत्रमा बिहान ‘पौने दश बजे स्कुल आइसक्नुपर्ने र साँझ साढे चार बजेसम्म काम गर्नुपर्ने’ भन्ने उल्लेख छ । तर उनी भने जहिल्यै सवा नौ बजेभित्र स्कुलको गेट छिरिसक्नुपर्छ भने साँझ सवा पाँच नबजी निस्कन पाउँदैन ।
‘के गर्नु काठमाडौंमा बस्नुपर्छ, पढाइसँगै काम नगरौं भएन ।’ उनले आफ्नो बाध्यता सुनाए । उनले आफूले दैनिक रुपमा एकदेखि डेढ घण्टासम्म बढी समय दिनुपर्छ । तर त्यो बढी समयको विद्यालयले भने केही पनि दिँदैन । उनकै भाषामा उनलाई स्कुलले बढी काम गराउँछ ।’ त्यो बढी समय दिनु उनको बाध्यता हो ।
‘विद्यालयले कहिले के, कहिले के भनेर बिहान चाँडै डाक्छ, बेलुका साँझसम्म राख्ने गरेको छ ।’ स्कुल प्रशासनबाट आफूलाई प्रायः बोलाइने उनको भनाइ छ ।
उनीमात्र होइन, राजधानी उपत्यकालगायत देशका अन्य ठाउँमा खुलेका निजी विद्यालयहरुले अधिकांश शिक्षकहरुलाई उही पारिश्रमिकमा बढी समय काम लगाउने गरेका छन् । नेपालको सन्दर्भमा सो विषयमा विस्तृत अध्ययन नभए पनि र आफूलाई परेको समस्याका बारेमा बोल्न नसके पनि शिक्षकहरु भने यस्तै समस्याबाट आफ्नो दैनिकी बिताउन बाध्य छन् ।
‘हाम्रो बाध्यता हो, अरु कुनै काम छैन’, एक शिक्षकले पुनः नाम प्रकाशित नगर्ने सर्तमै भनिन्, ‘ आफूले काम गरिरहेको विद्यालय र प्रिन्सिपलले यसरी चाँडै बोलायो, ढिलासम्म राख्यो भनेर भन्न नहुने, पाएको काम पनि नपाईएला भन्ने चिन्ता हुन्छ ।’ शिक्षकहरुको यस्तै खालको बाध्यता र विवसताको फाइदा संस्थागत विद्यालयले लिने गरेको शिक्षकहरुको भनाइ छ ।
यही सन्दर्भमा हालैमात्र एसोसिएसन अफ टिचर्स एण्ड लेक्चरर्स (एएलटी) ले दक्षिणपूर्वमा गरेको अध्ययनले पनि शिक्षकलाई आफूलाई तोकिएको समयभन्दा बढी समय स्कुलमा जान बाध्य भएको देखाएको छ ।
विभिन्न देशका ७ सय ३० जना निजी विद्यालयका शिक्षकहरुसँग गरेको अध्ययनले ९२ दशमलव ५ प्रतिशत शिक्षकले सम्झौता भन्दा बढी समय काम गर्नुपरेको बताएका उक्त संस्थालाई उद्धृत गर्दै विल हाजेलले लेखेका छन् ।
अझ ७४ प्रतिशत शिक्षकले गत वर्षभन्दा यो वर्ष कामको लोड बढेको, २० प्रतिशत शिक्षकले भने उनीहरुलाई स्कुलबाटै विभिन्न बहाना गरी बोलाउने गरिएको पनि अध्ययनमा उल्लेख छ ।
नेपाल सरकारले २०७२ सालमा शिक्षा विभागमार्फत् तयार गरेको रिपोर्ट अनुसार प्राथमिक तहमा देशभर ५ हजार ८ सय २३ निजी विद्यालय छन्, जहाँ, ४८ हजार २ सय ४६ जना शिक्षक अध्यापन गर्छन्, त्यस्तै निमावि तहमा १ हजार ४४ विद्यालयमा १६ हजार २ सय १७ र माध्यमिक तहका २ हजार १ सय ४८ विद्यालयमा १५ हजार तीन सय ५७ र उमावि तह अध्यापन हुने ९ सय ५२ विद्यालयमा ४ हजार ३ सय ३२ गरी कूल ८४ हजार १ सय ४३ शिक्षकहरु छन् ।
ति विभिन्न तहमा कार्यरत शिक्षक भए पनि तिनीहरुले स्कुलले औपचारिक रुपमा बनाएको नियमभन्दा बढी समय दिनुपरिरहेको छ । ‘हामी शिक्षकहरुले न्यूनतम ९/१० घण्टा समय विद्यालयमा बिताउनुपर्छ ।’ एक निजी विद्यालयका शिक्षकले भने । निजी विद्यालयमा अध्यापन गर्ने त्यस्ता शिक्षकमध्ये ७० प्रतिशत शिक्षकहरु सस्तो तलब लिएर धेरै काम गर्न विवश रहेको शिक्षकहरु जनाउँछन् ।
अर्थात् निजीका शिक्षकहरुको नियुक्तिपत्र देखाउने कागजी खोस्टो मात्रै बनेको छ । न त्यहाँ उल्लेख भएको समयको पालना हुन्छ न तोकिएको तलवको नै । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले शिक्षकहरुले बढी समय स्कुलको लागि दिनु परेको वास्तविकता स्विकार गरिन् । तर, शिक्षकहरुलाई आफूहरुले चाँडै बोलाएको र ढिलोसम्म राखेबापत आफूले भने समय अनुसार पारिश्रमिक पनि दिने गरेको दावी गरिन् ।
रिमाल सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल हुन् । अन्य विद्यालयको हकमा भने आफू जानकार नभएको उनले बताईन् । उनले सो सम्बन्धमा संस्थागत रुपमा आवाज उठिरहेको स्वीकार्दै समस्या उठान भएको तर समाधान ननिस्किएको पनि स्विकार गरिन् ।
प्रतिक्रिया