Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

प्राध्यापक आन्दोलित

सोमबार, १३ मंसिर २०७३

काठमाडौं १३ मंसिर / झन्डै तीन महिनापछि खुलेको मनिपाल मेडिकल कलेजको एमबीबीएसको पढाइ आइतबारदेखि फेरि ठप्प भएको छ । कलेज व्यवस्थापनले सम्झौता कार्यान्वयन नगरेको भन्दै प्राध्यापकले पढाइमा अवरोध गरेका हुन् ।

तीन पक्षबीच मंसिर १ गतेको छलफलमा समय सापेक्ष तलब वृद्धि, करार शिक्षकको स्थायीका लागि प्रचलित कानुन, शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय र श्रम विभागसँग राय सुझाव लिएर २ महिनाभित्र अघि बढ्ने सम्झौता भएको थियो । सट्टा बिदाको हकमा विश्वविद्यालय र श्रम विभागको सुझाव संलग्नतामा टुंगोमा पुर्‍याउने निर्णय गरिएको थियो । त्यस्तै प्राध्यापकका मागलाई वैज्ञानिक ढंगले सम्बोधन गर्न कलेज व्यवस्थापनको बाध्यतासमेत अध्ययन गरी समस्याको समाधान गर्न सबै पक्ष सहमत भएपछि २ गते देखि कक्षा सञ्चालन भएको हो ।
निर्णयपछि कलेज व्यवस्थापनले ५ प्रतिशत तलब वृद्धि गरिसकेको छ । तर अन्य दुई मागको पनि कार्यान्वयन हुनुपर्ने भन्दै प्राध्यापक आन्दोलनमा उत्रिएका हुन् । ‘सम्झौताको पालना एकमुष्ठरूपमा हुनुपर्नेमा नभएकाले फेरि आन्दोलनमा उत्रिएका हौं,’ आन्दोलनका अगुवा प्राडा दीपक कोइरालाले भने, ‘सबै माग पूरा हुनुपर्छ ।’ प्राध्यापकहरूले बेनामी अपिल टाँसेर पढाइ बन्द गरेका हुन् । कलेज व्यवस्थापनले भने तलब बढाइएको र अन्य मागका सम्बन्धमा २ महिनाभित्र टुंगोमा पुर्‍याउने सम्झौताअनुसार काम भइरहे पनि प्राध्यापाकहरू आन्दोलनमा उत्रिनु दु:खपूर्ण भएको जनाएको छ । ‘समस्या समाधानका लागि सरकारी सहयोग चाहिएको छ’, कलेजका डिन बीएम नागपालले भने ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया