Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

७२ प्रतिशत साक्षर महिला हिंसामा

सोमबार, १३ मंसिर २०७३

काठमाडौं १३ मंसिर / लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा महिला पुनःस्र्थापना केन्द्र (ओरेक नेपाल) ले सार्वजनिक गरेको एक अध्ययनमा ‘लैङ्गिक हिंसामा परेको भन्दै उजुरी गर्ने अधिकांश शिक्षित महिला नै भएको’ पाइएको छ ।

ओरेक नेपालले सार्वजनिक गरेको वर्ष पुस्तक ‘अन्वेषी’ मा यस्तो तथ्य उल्लेख छ । उपत्यकाभरका विभिन्न ठाउँमा भएका महिला हिंसाका घटनाको अध्ययन प्रतिवेदन ‘अन्वेषी’ का अनुसार एक हजार ७७५ वटा महिला हिंसा घटना भएकोमा ७२ प्रतिशत साक्षर महिला हिंसामा परेको पाइएको छ ।
यस वर्ष भएका घटनाको विश्लेषण गर्दा हिंसा प्रभावित महिलामध्ये ४५ प्रतिशत लेखपढ गर्न जान्ने, २० प्रतिशत माध्यमिक तहसम्म अध्ययन गरेका, १३ प्रतिशत प्राथमिक तहसम्म अध्ययन पूरा गरेका, १३ प्रतिशत उच्चमाध्यमिक तहसम्म अध्ययन गरेका, पाँच प्रतिशत प्रौढ शिक्षा, चार प्रतिशत स्नातक वा स्नातकोत्तर तहसम्म अध्ययन गरेका महिला छन् ।
महिला अधिकारकर्मी एवम् अधिवक्ता मीरा ढुङ्गानाले शिक्षित महिलाले आफूमाथि परेको अन्यायविरुद्ध खुलेर प्रतिकार गर्नसक्ने तर निरक्षर महिलाले त्यसमा प्रतिवाद नगर्ने र सहनैपर्छ भन्ने सोच भएकाले निरक्षरभन्दा साक्षर महिलाको उजुरी बढी आउने गरेको बताउनुभयो ।
अन्वेषी अनुसार यो वर्ष एक हजार ७७५ वटा महिला हिंसा घटनामा ७३ प्रतिशत महिला घरेलु हिंसा भएको पाइएको छ । यसमध्ये पनि ७८ प्रतिशत महिला आफ्नै पतिबाट र २२ प्रतिशत महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका तथ्याङ्कले देखाएको छ ।
यस्तै, यस वर्ष चार प्रतिशत महिलामाथि बलात्कार, पाँच प्रतिशत महिलामाथि यौनिक हिंसा, एक प्रतिशतको हत्या र सोही मात्रामा बेचबिखनमा परेका पाइयो ।
पेसागत रूपमा आफ्नै घरमा काममा संलग्न हुने ३४.४ प्रतिशत महिलामाथि सबैभन्दा बढी हिंसा भएको पाइएको छ ।
महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी (अधिकारी) ले कुनै पनि प्रकारको हिंसा हुँदा सबैभन्दा बढी महिलामाथि मानसिक असर ४७ प्रतिशत परेको पाइएको छ तर आफूमाथि परेको मानसिक हिंसाबारे उजुरी गर्ने वातावरण अझै बनिनसकेको बताउनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया