Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

पाँच कक्षा, दुई शिक्षक, ऋण खोजेर शिक्षकलाई तलब

आइतबार, १२ मंसिर २०७३

काठमाडौं १२ मंसिर / काँडाका स्थानीय ऋण काढेरै बर्सेनि १८ शिक्षकलाई तलब खुवाउन बाध्य छन् । शिक्षक तलबकै लागि प्रतिवर्ष ३६ लाखभन्दा बढी चन्दा उठाउने गरिएको छ । काँडा १ मा विद्यालय खुलेको ५ वर्ष भयो । यस अवधिमा प्रतिघरले ३५ हजारभन्दा बढी चन्दा दिइसकेको जोधन बोहराले बताए । ‘चन्दा नदिए स्कुलले केटाकेटीको भर्ना लिँदैन,’ उनले भने, ‘चर्को ब्याजमा ऋण नखोजी सुख छैन ।’ चन्दा दिँदा लागेको २० हजार ऋण अझै तिर्न बाँकी रहेको उनले बताए । गाउँबाट नजिकको अर्काे विद्यालय जान झन्डै ५ घण्टा पैदल हिँड्नुपर्छ ।

सिंगो गाविसमा ६ वटा विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षाले अनुमति दिएको छ । सबै विद्यालयलाई आवश्यक शिक्षक व्यवस्था नगर्दा १८ जनालाई स्थानीयले नै चन्दा उठाएर तलब व्यवस्था गरिरहेको वसन्त बोहराले बताए । ‘कुन गाउँमा कति शिक्षक निजी स्रोतबाट राखिएका छन् । तिनको वार्षिक तलब कति हुन्छ ? हिसाब गरेर प्रत्येक परिवारले बराबर भाग लगाएर तिर्नुपर्छ,’ उनले भने ।
गाउँमा बस्ने परिवार संख्याका आधारमा प्रत्येक गाउँवासीले बर्सेनि ५ देखि १५ हजार रुपैयाँ विद्यालयलाई तिर्नुपर्छ । ‘नजिक अरू विद्यालय छैनन्, कि त बालबालिकालाई पढ्न वञ्चित गर्नुपर्‍यो । कि ऋण खोजेर भए पनि शिक्षकलाई तलब खुवाउनुपर्‍यो,’ काँडा माविका पूर्वव्यवस्थापन समिति अध्यक्ष मानबहादुर बोहराले भने, ‘थप शिक्षक दरबन्दीका लागि जिल्ला शिक्षामा कयौं धायौं, समस्या कसैले सुन्दैनन् ।’
उक्त गाविसस्थित धलौन माविमा ५ जना, काँडा माविमा ५, धुनिमाविमा ४, भवानी प्राविमा १, तपौन प्राविमा २ जना र काँया प्राविमा १ जना गरी १८ जना निजी शिक्षक कार्यरत छन् । जिल्लाकै अन्य सुगम ठाउँका विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक रहेपछि काँडालाई जिल्ला शिक्षाले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले शिक्षक दरबन्दी वितरणमा केही कमजोरी रहेको र यसलाई समाधान गर्न काम थालेको बताए । ‘दरबन्दी राम्रोसँग मिलान गर्नुपर्नेछ । २ वर्षअघिको दरबन्दी मिलानमा केही ठाउँमा मिले पनि काँडा लगायत केही ठाउँको अवस्था उस्तै छ । सरोकारवालासँग छलफल गरेर टुंग्याउँछु,’ उनले भने ।
पाँच कक्षा, दुई शिक्षक
प्यूठान– गणेश प्रावि तिराम १ मा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । दरबन्दीका दुई शिक्षकको अवकाशपछि विद्यालयमा पठनपाठनमा समस्या भएको हो । पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय दुई जना शिक्षकले धानेका छन् ।
वासुदेव अधिकारी र रामप्रसाद भट्टराईको अवकाशपछि समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । उनले भने, ‘शिक्षा कार्यालयले अवकाश भएको पत्र पठायो । दरबन्दी कायम भएको पत्र पठाएन ।’ प्रअ दीपप्रकाश चौधरी र कोटामा कार्यरत देवा भट्टराईले विद्यालयका सम्पूर्ण कक्षा धानेका छन् । शिक्षक अभावले अविभावकबाट मासिक २५ रुपैयाँ शुल्क उठाएर निजी शिक्षकको व्यवस्थापन गर्न लागेको उनले बताए ।
‘प्रावि तहसम्म पूर्ण नि:शुल्क शिक्षा भनिन्छ,’ खत्रीले भने, ‘हामीले विभिन्न बहानामा शुल्क उठाउनुपरेको छ ।’ जिल्ला शिक्षा कार्यालयको लापरबाहीले गर्दा अभिभावकबाट शुल्क उठाउनुपरेको उनको भनाइ छ । पञ्चयातकालमा फिस, बहुदल आएपछि चन्दा र गणतन्त्र आएपछि अभिभावक सहयोग भन्दै अभिभावकबाटै रकम असुलेर विद्यालय चल्दै आएको उनले बताए । कक्षा १ देखि पाँचसम्म १ सय ३१ विद्यार्थी रहेको उनले बताए ।
गाविसका सबै विद्यालयमा एकैपटक छड्के
प्यूठान– जिल्ला शिक्षा कार्यालयले एकै समयमा गाविसभरका सबै विद्यालयमा छड्के अनुगमन थालेको छ । जिशिअ, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सञ्चारकर्मीसहितको टोलीले सोमबार मरन्ठानामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अनुगमन गरे । विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएकाले अनुगमनलाई तीव्रता दिन थालिएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताइन् । ‘कार्यालयबाट दिइएको स्रोतसाधनको पनि सही प्रयोग नगरेको गुनासो आउन थाल्यो,’ उनले भनिन्, ‘खबरै नगरी एकैपटक अनुगमनमा निस्किएका हौं ।’
बालविद्या मावि मजुवामा पुग्दा पाँच जना शिक्षक/शिक्षिका अनुपस्थित देखिए । ‘विद्यार्थी चौरमा खेलिरहेका थिए,’ उनले भनिन्, ‘शिक्षक अनुपस्थितिको कारण खोज्दा शैक्षिक भ्रमणमा गएको पाइयो ।’ उपलब्धिबिनाको शैक्षिक भ्रमणलाई तुरुन्तै रोकिनेसमेत उनले जानकारी गराइन् । पुरानै शैलीबाट शिक्षण सिकाइ क्रियाकलाप भइरहेकाले परिमार्जन गर्न सुझाव दिइएको विद्यालय निरीक्षक दुर्गा खडकाले बताए । विगतका वर्षदेखि एकै समय सबै विद्यालयमा अनुगमनमा निस्किएपछि विद्यालय सतर्क हुँदै गएको समेत उनले जानकारी गराए ।

बझाङबाट वसन्तप्रकाश सिंहले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया