Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

शिक्षक पढाउने, विद्यार्थी भने चिसो छल्ने

शुक्रबार, १० मंसिर २०७३

काठमाडौ १० मंसिर / विक थरका दलित, माथिल्लो भेगका शेर्पा, सात घर बादी समुदायका केटाकेटी । बिलन्दु ६ स्थित डल्लीडाँडा प्राथमिक विद्यालयका विद्यार्थी प्राय: यिनै हुन् । आर्थिक रूपमा कमजोर यी समुदायका १ सय १२ विद्यार्थी पढ्छन् त्यहाँ ।

मंगलबार दिउँसो डल्लीडाँडा प्रावि पुग्दा आकाश धुम्मिएको थियो । पातलो सर्ट र फ्रक, पेन्ट लगाएका केटाकेटी जस्तापाताको टहरामा जाडाले काँपिरहेका थिए । शिक्षक पढाइरहेका थिए तर उनीहरूको ध्यान पढाइतिरभन्दा कसरी चिसो छल्ने भन्नेतिर थियो । समुद्री सतहदेखि २ हजार मिटर उचाइमा अवस्थित उक्त स्थानमा दिउँसै सिरेटो चल्ने गर्छ । पुस, माघमा हिउँ र तुषारो पर्छ । तैपनि पहिले यस्तो सकस झेलेका थिएनन् विद्यार्थीले ।
यो अवस्था गत वर्षको भूकम्पपछि निम्तिएको हो । ढुंगामाटोले बनेको चारकोठे भवन ध्वस्त भएपछि एक महिना स्कुल नै बन्द भयो । एउटा कार्यालय सञ्चालन गर्ने कोठा भने जेनतेन काम चल्ने अवस्थामा छ । ‘टहरामा बस्नुपरेकाले जाडो–गर्मी दुवै याममा केटाकेटीलाई गाह्रो छ,’ प्रधानाध्यापक अंकबहादुर बोगटीले भने, ‘साहस नेपाल नामक संस्थाले चारकोठे पक्की भवन बनाउने भनेको महिनौं बितिसक्यो । काम सुरु भएको छैन । अबचाहिँ छिट्टै थाल्ने कुरा छ । भवन नबनेसम्म केटाकेटीले चिसोको सामना गरेरै बिताउनुपर्ने भयो ।’
हाल सञ्चालित अस्थायी शिक्षण केन्द्र जिल्ला शिक्षा कार्यालयले तत्कालीन अवस्थामा दिएको ६० हजार रुपैयाँ र त्यसमाथि विद्यालयको स्रोत थपेर बनाइएको हो । ६ कोठे टहरा बनाए पनि कक्षा साँघुरो हुँदा पढाउन असजिलो हुने गरेको छ । २०४६ सालमा स्थापित यस विद्यालयमा २ दरबन्दी र २ निजी स्रोतका गरेर ४ जना शिक्षक छन् । एक जना बालकक्षा सहयोगी छन् ।
जिल्लामा भूकम्पले पूर्ण क्षतिग्रस्त विद्यालय भवनमध्ये २३ वटा सहास नेपाल र स्ट्रिट चाइल्ड अफ नेपाल दुई संस्था मिलेर बनाउने तयारी रहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी शंकरबाबु श्रेष्ठले बताए । युनिसेफको आर्थिक सहयोगमा ती संस्थाले बनाउने गरी शिक्षा कार्यालयले दिएको सूचीअनुसार शिक्षा विभागबाट अनुमति लिएर निर्माण थालिने उनको भनाइ छ ।
जिल्लामा २ सय ६० विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको थियो । तीमध्ये सरकारी स्तरबाट ५० वटा कक्षाकोठा मर्मत र १० वटा ‘रेट्रोफिटिङ’ का लागि मात्र बजेट उपलब्ध भएको छ । तिनमा काम पनि सुरु भइसकेको छ । बाँकी विद्यालय भवन पुनर्निर्माण गर्न एसियाली विकास बैंक (एडीबी) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उसले सर्वेक्षण गरिसके पनि कहिलेदेखि काम सुरु हुने टुंगो लागेको छैन । भूकम्पको १९ महिना बित्दा पनि विद्यालय पुनर्निर्माण नहुँदा सबैजसो स्थनका विद्याथी प्रभावित छन् ।

कुम्भराज राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया