भक्तपुर - ‘अब यसै क्रममा छात्रा शोभा बाटीलाई सम्मान ग्रहणका लािग अनुरोध गर्दै माननीय शिक्षामन्त्री धनीराम पौडेललाईज्युलाई छात्रा बाटीलाई सम्मान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ कार्यक्रम सञ्चालकले मञ्चबाट उद्घोष गरेपछि ह्विलचियरमा बसेकी बाटीलाई उनकी दिदीले मञ्चनिर पु¥याइन् ।
प्रमुख अतिथि (शिक्षामन्त्री धनीराम पौडेल), विशेष अतिथि (शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ) र अन्य अतिथिहरु बसेको मञ्च चौरभन्दा अग्लो थियो । अर्थात् चारमा गुड्याईएको ह्विलचियर मञ्चमा पुर्याउन कठिन थियो । शिक्षामन्त्रीको हातबाट सम्मान थाप्न आएकी बाटीको ह्विलचियर मञ्चनिरको खाली ठाउँमा रोकियो ।
त्यसपछि शिक्षामन्त्री, विद्यालयका प्राचार्य (राम हाडा) र कार्यक्रमका सभापति (बाबुराजा जोशी) हातमा सयपत्रीको फूलमाला, प्रशंसा पत्र र खादा लिएर मञ्चबाट ओर्लिए र बाटीलाई पालैपालो फूलमाला र खादा पहि¥याइदिए अनि शिक्षामन्त्री पौडेलले दिए, सम्मान पत्र ।
‘मन्त्रीबाट यसरी सम्मानित हुन पाउँदा निक्कै खुसी लाग्यो ।’ आफूले त्यसरी सम्मान पाउँछु भन्ने कल्पना पनि नगरेकी बताउने बाटीले भनिन्, ‘मञ्चबाटै ओर्लिएर सम्मान गर्न आउँदा मैले एसएलसी पास भएर कक्षा ११ पढ्ने विद्यालय खोज्दा ताकाको सम्झना आयो ।’
भक्तपुरको खँचास्थित सुर्योदय स्कुलबाट २ बर्ष अघि एसएलसी पास गरेकी उनलाई कक्षा ११ कहाँ पढ्ने ? भन्ने समस्याले हैरान बनाएको थियो । उनका आफन्त र परिवारजनले पनि विद्यालय दोज्न कम्ता हैरानी भएन !
‘मलाई कक्षा ११ पढाउने स्कुल नपाउँदा मभन्दा बढी मेरो परिवार र आाफन्तजन अझ दुखित भएका थिए ।’ कारण जब कक्षा ७ मा पढ्दै गर्दा उनी ज्वरोले थलिइन्, उनलाई मनेन्जाइटिस भएको निधो भयो । सपांग शोभा उपचार गर्दा गर्दै पनि एकाएक अपांग बनिन् । केही समय पढाइ रोकियो । ‘अब यी नानीले केही गर्न सक्तिनन्, पढ्न पनि सक्तिनन् ।’ अपांग भएपछि धेरैले उनलाई यसो भनेका थिए ।
तर, जब उनले शारिरिक रुपले सक्त व्यक्तिले सरह २०७१ सालमा एसएलसी उत्तीर्ण गरिन् तब उनीप्रतिको दृष्टिकोण फेरियो । ‘अपांग भए पनि गर्न सक्ने रहेछ भन्ने मैले पढाइमा राम्रो गरेर विश्वास दिलाएँ ।’
त्यही विश्वासकै कारण उमावि खोज्दा आफन्तले दुःख पाएको सम्झदै उनले भनिन्, ‘त्यो बेला मलाई कक्षा ११ पढाउन सक्ने स्कुल खोज्न कम समस्या भएन, बल्लबल्ल श्रीपद्मले पढाइदिने भएपछि मात्र पढ्न पाएकी हुँ ।’
हुन त उनले पढेको पद्म स्कुल पनि अपांगमैत्री छैन, अन्य विद्यालयजस्तै ३/४ तलाको छ तर पनि जब उनी सो विद्यालयमा भर्ना भइन्, स्कुल प्रशासनले उनको अवस्थालाई बुझेर तेस्रो तलामा रहेको कक्षा नै भुइतलामा सा¥यो । ‘स्कुलले मेरो निम्ति गरेको त्यो योगदान म बिर्सन सक्तिँन ।’ उनले भनिन् ।
बुधबार विद्यालयको बार्षिकोत्सव कार्यक्रममा शिक्षामन्त्रीको मञ्च ओर्लाइ र आफूलाई दिइएको सम्मानले पनि उनलाई त्यही विगतको याद दिलायो । विद्यालयले आफूप्रति गरेको ‘गुण’ प्रति कृतज्ञ उनको गुनासो पनि छ, ‘कम्तीमा ह्विलचियर जाने सक्ने गरी मञ्च बनाएको भए हुन्थ्यो ।’ उनको गुनासो विद्यालयलाई मात्र नभएर सरकारलाई पनि हो । ‘सरकारले हामीजस्ता अपांगहरुका लागि पनि गरेका छौं भने, तर व्यवहारमा भने यस्तो सास्ती छ ।’
भक्तपुरको चाँगु नपा, दुुवाकोटको सखालवस्तीकी बाटी परिवारकै कान्छी छोरी हुन् । आमा रत्नलक्ष्मी र बुवा बुद्धिनारायण सामान्य खेती किसानी गर्छन् । पद्म माविमा मानविकी संकायअन्तर्गत २०७२÷७३ सालमा उत्कृष्ट अंक ल्याए बापत उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार मानविकी संकायमा ६ सय ६३ अंक अर्थात् ६३ दशमलब ६ प्रतिशत ल्याएकी छिन् ।
‘फेरी पनि विद्यालय खोज्न उही सास्ति’
उनको जीवनको लक्ष्य समाजसेवा गर्नु हो । ‘म शारिरीक रुपमा अपांग छु तर समाजसेवा गर्ने मेरो उद्देश्य छ, त्यसैले म ‘सोसल वर्क’ पढाइ हुने कलेज खोजिरहेको छु ।’ उनले भनिन् ।
उनको जीवनमा कलेज खोज्नका लागि पनि यस अघिकै घटना दोहोरिरहेको छ । दुई वर्ष अघि कक्षा ११ पढ्न पनि कलेज खोजेरै हैरान भएँ, अहिले पनि कलेज खोजिरहेको छु ।’ कक्षा १२ को रिजल्ट आएको भोलिपल्टदेखि नै कलेज खोज्न थालेकी उनले भनिन् ।
‘धेरै कलेज गएँ, मेरो सर्टिफिकेटहरु हेर्छन्, राम्रो भनेर पनि तारिफ गर्छन् तर भर्ना गर्न नसक्ने बताएर फर्काउँछन् ।’ उनले सम्झिइन् । पढेरै आफ्नो उद्देश्य पूरा गर्ने सोच बनाएकी उनीप्रति कलेज सञ्चालकहरुले त्यसो गर्दा दुःख लाग्छ । जीवनदेखि नै निराशा पनि जाग्छ, कताकता अपांग भएकोले यस्तो भोग्नुपर्यो भन्ने लाग्छ ।
‘कलेजहरुमा स्नातक तहको पढाइ ठूलाठूला भवनहरुमा हुन्छ । भवन हेरेकै भरमा पनि विद्यार्थी पनि भर्ना हुन जान्छन् तर मलाई हुने कलेज भने छैन ।’ स्नातक पढ्ने आफ्नो उद्देश्य आकाशको फल आँखातरि मर हुने हो कि भन्ने चिन्ता छ ।
यही चिन्ताका बीच शिक्षामन्त्रीबाट सम्मान पाएपछि मन्त्रीसँग सोध्ने मन गरेकी थिइन् उनले, ‘के विद्यालय÷कलेज अपांगमैत्री हुुनुपर्दैन ?’ तर बाटीले त्यो अवसर पनि पाइनन् ।
हुन त उनी भक्तपुरकै ख्वप कलेजमा पढ्न चाहन्छिन्, त्यसको लागि सो कजेजमा पनि गइन् । काठमाडौंका अन्य कलेजहरुमा पनि पुगिन्, ती विभिन्न कलेजहरुका भवन देखेपछि उनलाई कहाली लाग्यो । ‘ओहो, कलेजको बिल्डिङ चार÷पाँच तलाको रहेछ, तर, कक्षाकोठामा ह्विलचियर सम्म पनि नपुग्ने ।’
यही कारण हिजो आज उनको मनमा पढ्ने इच्छा र चाहना भएर पनि के गरुँको द्धिविधाले बास गरिरहेको छ । ‘सरकारले थुप्रै अपांगमैत्री वातावरण बनाउन प्रतिवद्ध छु भन्छ तर खै मेरो लागि ?’
प्रतिक्रिया