भक्तपुर / १० वर्षका प्रमोद श्रेष्ठको उमेर हातमा कापी, कलम बोकेर स्कुल जाने हो तर उनी अहिले स्कुलको सट्टा झौखेलस्थित एक इँटा भट्टामा आएका छन् ।
‘बुवा, आमा, दिदी सबै आए, त्यही भएर म पनि यहाँ आएँ ।’ सर्लाहीको श्री प्राथमिक विद्यालयको कक्षा ३ मा पढिरहेको बताउने प्रमोदले भने । उनले उताको पढाइ नै छाडेर इँटाभट्टामा आएको बताए । त्यसरी आएका उनलाई ‘अब यहाँ के गर्छौ त ?’ भनेर उनलाई सोध्दा उनले भने, ‘ यहाँ सकेको काम गर्ने हो ।’
प्रमोद तथा प्रमोदका आमावुवा (पार्वती र प्रकाश) का अनुसार प्रमोदले गर्न सक्ने काम भनेको इँटा पल्टाउने, थोरैथोरै इँटाको चाङ लगाउने,पाँगोमाटो ओसार्ने, पानी बोक्ने इत्यादि हुन् । प्रमोदको परिवारमात्र नभएर अहिले भक्तपुरका इँटा भट्टामा काम गर्न परिवारसँगै विभिन्न जिल्लाका गरिब परिवारका बालबालिका पढाइ नै छाडेर आएका छन् ।
भक्तपुरमा मात्र नभएर राजधानी काठमाडौं उपत्यकाको काठमाडौं र ललितपुरका विभिन्न इँटा भट्टाहरुमा परिवार तथा गाउँका अन्य व्यक्तिसँंग इँटाभट्टामा बालबालिहरुका आउने क्रम जारी छ । कात्तिक महिनादेखि जेठ महिनासम्म इँटाभट्टामा इँटा बनाउने काम गर्न आउने अधिकांश बालबालिका छ महिना भट्टामामा काम गर्ने र छ महिना गाउँमा फर्कने गर्छन् । गाउँमा पढ्दै गर्दा पढाइ नै छोडेर इँटाभट्टामा पैसाकै लागि आउने बालबालिकाको पढाइ छ महिना छुट्ने गरेको ती बालबालिका बताउँछन् । भक्तपुरको ताथलीको एक इँटाभट्टामा इँटा बनाउन परिवारसंँगै तीन दिनअघिमात्र काभ्रेको तिमालबाट आएका दश वर्षका पाल्देन थोकर बाबुआमालाई काम सघाउने आएको बताए ।
गाउँकै हिमालय प्राविमा कक्षा २ मा पढिरहेका उनले आफूलाई पढ्न मन लागे पनि आमावुवा इँटा पार्न भक्तपुर आएपछि आफूपनि आएको बताए । ‘के गर्नु पढाएर मात्र, हामी गरिबले केही गर्न सकिने होइन ।’ पाल्देनका बुवा अक्कलले भने । उनले आमाबाबुसँगै छोराछोरी आउनुपर्ने बाध्यता भएको बताउँदै भने, ‘घरको सबै छोडेर त आइयो भने, पढाइको के कुरा ?’ उनको प्रश्न छ ।
‘घरमै छोडेर आए कसले हेर्छ ?’ नंखेलको एक इँटा भट्टामा रामेछापदेखि इँटा बनाउन आएका सुनिता विकले प्रश्न गरिन्, ‘जताजता माउ, उतैतउतै सन्तान त हुने भैहाल्यो नि ।’
यसैगरी कक्षा ५ को पढाइ बीचमा छाडेर आएका १४ वर्षीया नानुमाया स्याङतान भन्छिन्,‘६ महिना यता काम गर्ने अनि ठूलो जाँच(अन्तिम परीक्षा ) दिन त्यतै जाने हो, त्यसरी नै पढिरहेकी छु । सिन्धुपाल्चोकबाट गएको तीन वर्षदेखि इँटा बनाउन परिवारसँगै आएकी उनले भन् ि। गाउँमा भए, पढ्नुपर्छ, यता पढ्नु नि पर्दैन, ठूलो जाँच मात्र दिए पुग्छ, पास भइहाल्छ, किन पढ्न जानुपर्यो र काम गरे भैहाल्यो नि ।’ उनको भनाइ छ ।
इँटा व्यवसायीहरुका अनुसार इँटा पार्ने तथा बोक्ने कामका लागि विशेष गरी रामेछाप, काभ्रे, सिन्धुपाल्चोक रोल्पा, रुकुम, मकवानपुर, दाङ, नुवाकोट, धादिङ, बाँके, धनुषा, पर्सा, सर्लाही, बारालगायत विभिन्न जिल्लाबाट बालबालिका आउने गरेका छन् । भक्तपुरको ताथली, सुडाल, बागेश्वरी, दुवाकोट, झौखेल, सिपाडोल र चित्तपोल, दुवाकोट, चाँगुलगायतका ठाउँमा रहेका इँटाभट्टामा रहेका बालबालिकाले इँटा पार्ने, इँटा उठाउने, इँटा पल्टाउने, बालुवा ल्याउने, पानी ल्याउनेदेखि कोइला कुट्ने र खच्चर धपाउनेसमेत काम गर्दै आएका छन् ।
सरकारले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाउने कानुन बनाए पनि त्यसको कार्यान्वयन नहुँदा बालबालिका पढाइबाट बञ्चित भएका छन् । त्यस्ता बालबालिकाहरुका लागि भनेर विभिन्न गैरसरकारी संस्थाहरुले करोडौं लगानी गरे पनि अझै पनि बीचैमा पढाइ छाड्ने विद्यार्थीहरुको संख्यामा कमी आउन सकेको छैन ।
प्रतिक्रिया