Edukhabar
बुधबार, १२ मंसिर २०८१
गतिविधि

चिकित्सा शिक्षामा छात्रा धेरै, उत्कृष्ट पनि छात्रानै

मंगलबार, ०७ मंसिर २०७३

काभ्रे - काठमाडौँ विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहमा चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ३ सय ७७ विद्यार्थी दीक्षित भएका छन् । मंगलबार भएको दीक्षान्तमा छात्रको तुलनामा छात्राको संख्या धेरै छ । कूल उत्तीर्ण विद्यार्थी मध्ये ५२ दशमलव ५१ प्रतिशत छात्रा रहेको विश्वविद्यालयले जनाएको छ । उत्कृष्ट विद्यार्थीका रूपमा लुम्बिनी मेडिकल कलेजकी विद्यार्थी प्रनिता राजभण्डारीले स्वर्ण पदक प्राप्त गरेकी छन् । अहिलेसम्म विश्वविद्यालयबाट चिकित्सा विधामा कुल ११ हजार ४७ जना दीक्षित भएका छन् ।

मंगलबार दीक्षितमध्ये चिकित्सा विधामा सबैभन्दा उच्च एमसिएच डिएम उपाधि नौ जना, एमडी एमएस उपाधि १ सय ८९ जना, एमबिबिएस उपाधि ९ सय ४६, बिडिएस उपाधि १८, बिएस्सी नर्सिङ २ सय २, बिएनएस उपाधि एक र बिपिटी १२ जनालाई प्रदान गरिएको छ ।

दीक्षितमध्ये भारतका ९३ र श्रीलङ्काका सात जना विद्यार्थी पनि छन् ।

प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गरे । चिकित्सा  क्षेत्र गम्भीर भएकाले लापरबाही नगर्न उनले आग्रह पनि गरे ।

उपाधि प्राप्त गरेपछि दीक्षितका काँधमा समाज र राष्ट्रप्रति जिम्मेवारी बढेको उल्लेख गर्दै उनले विद्यार्थीलाई मानव समुदायको कल्याणमा जीवन समर्पित गर्न समेत आग्रह गरे । युनिभर्सिटी अफ वेस्टर्न सिड्नी, अष्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेण्ट प्रा.डा. बार्ने ग्लोभरले जनशक्ति उपयोग गर्न असीमित चुनौती भएको बताए । विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजुले आलोचना भन्दा पनि सकारात्मक सोचको संस्कारलाई बढावा दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया