काठमाडौं - ‘मेरो बच्चा अहिले कक्षा ३ मा पढ्ने भइसक्यो, तर उसले अझै पनि अंग्रेजीको स्मल लेटर बी र डी छुट्याउन सकेको छैन ।’
‘कक्षा ५ मा पढ्ने विद्यार्थी अंग्रेजी त के नेपालीको एक अनुच्छेद समेत खर्रर पढ्न सक्तैनन्, बीचमा रोकिरोकी अँ, अँ गर्छन्, अलमलिन्छन् ।’
आफ्ना सन्तानको पढाइको विषयमा अभिभावकहरुका माथिका अभिव्यक्ति अधिकांश अभिभावकहरुका प्रतिनीधि बनेको छ । यो तथ्य कुनै अभिभावक संघ, गैरसरकारी संघसंस्था वा व्यक्तिले नभनी स्वयम् सरकारी शिक्षाको गुणस्तर र अवस्थाबारे अध्ययन गर्ने सरकारी निकाय शैक्षिक गुणस्तर केन्द्रले गरेको अध्ययनको निचोडले भनेको तथ्य हो ।
केन्द्रले गरेको अध्ययनले सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धि क्रमशः ओरालो लाग्दै गएको प्रमाणित गरेको छ । जसकारण शिक्षामा गुणस्तर र सिकाइ उपलब्धि बढाउने विषय शिक्षक, अभिभावकदेखि शिक्षा मन्त्रालयसम्मलाई थप चुनौतीको विषय बनेको छ ।
‘सरकारले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न तथा सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्न भनी वर्षेनी लगानी बढाइरहेको छ, शिक्षकहरुलाई विभिन्न तालीमहरु पनि दिँदै आएको छ, तर त्यसमा गरेको लगानीअनुसार उपलब्धि बढ्नुको सट्टा घटेको छ’, शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘अझै पनि सरकार त्यस्तो हुनुको कारणबारे अध्ययन गर्न चुकिरहेको छ ।’
केन्द्रले सन् २०१२ र सन् २०१५ मा कक्षा ३ को नेपाली, अंग्रेजी र गणित विषयमा गरेको अध्ययनले नेपालका सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धि ओरालो लाग्दै गएको देखिएको छ ।
शिक्षाविद् कोइरालाले सिकाइ उपलब्धि घट्नुमा शिक्षकले नपढाएर, पढाउन नजानेर र पढ्ने र पढाउनेबीचको तारतम्य नमिलेरमात्र नभएर शिक्षकहरुमा रहेको गैरजिम्मेवारी पन पनि मुख्य रहेको बताए । ‘कक्षाकोठामा दश मिनेट पछि जाने, दश मिनेट अघि फर्किने पनि भएको छ । त्यसले विद्यार्थीले पढ्ने समय नै पाउँदैन । विद्यार्थीको समय चोरी हुन्छ, शिक्षकले पढाउँदैन ।’
केन्द्रले सन् २०१२ मा गरेको अध्ययनबाट कक्षा ५ को नेपाली विषयमा पढ्न क्षमता ५६ रहेकोमा सन् २०१५ मा आउँदा ३९ मा झरेको छ भने लेखन क्षमता पनि घट्दो देखिएको छ । सन् २०१२ मा कक्षा ५ कै नेपाली विषयमा ५८ आएकोमा तीन वर्षको अन्तरालमा ३३ मा सीमित बनेको छ ।
नेपाली विषयमा मात्र नभएर अंग्रेजी र गणित विषयमा पनि उही अवस्था रहेको केन्द्रको अध्ययनको निचोड छ । जसअनुसार सन् २०१२ मा अंग्रेजीमा गरेको अध्ययनले पठनमा ५० ल्याएका विद्यार्थीको सिकाइ उपलब्धि ४ अंकले घटेको छ भने लेखन उपलब्धिमा ४९ बाट घटेर ४० मा खुम्चिएको छ । शब्दार्थ क्षमतामा गरेको अध्ययनले अझ स्थिति विकराल बनेको देखिएको छ । जसअन्तर्गत सन् २०१२ मा कक्षा ५ को नेपालीमा ७० अंक ल्याएकोमा सन् २०१५ मा आउँदा ५३ मा झरेको छ ।
गणित विषयमा गरिएको अध्ययनले पनि नतिजा खस्केकै देखिएको छ । सन् २०१२ मा भएको अध्ययन अन्तर्गत कक्षा ५ गणितको सिकाइ उपलब्धि ५३ रहेकोमा सन् २०१५ मा आउँदा ४८ मा झरेको छ ।
केन्द्रले सन् २०१२ मा २८ जिल्लाका कक्षा ३ का ३८ हजार ७ सय ५३ जना विद्यार्थीमा र सन् २०१५ मा २३ जिल्लाका कक्षा ३ कै ३३ हजार ८ सय ६३ जना विद्यार्थीको सिकाइ उपलब्धि मापन गरेको थियो । कक्षा ५ मा सन् २०१२ मा २८ जिल्लाका ४१ हजार ४ सय ७९ जना र सन् २०१५ मा २३ जिल्लाका ४१ हजार १५ जनाको मापन गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले स्थिति प्रतिवेदन मात्र तयार गरेको र सिकाइ उपलब्धि खस्कनुको कारणबारे अध्ययन नगरेको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराइ बताउँछन् । शिक्षामा हरेक वर्ष लगानी बढेको तर लगानी बढेअनुसारको उपलब्धि भने हासिल हुन नसकेको उनले बताए । ‘नेपाली विद्यार्थीहरुको सिकाइ उपलब्धि सुधारोन्मुख र सन्तोषजनक छैन । यो कुरा हामीले शिक्षा मन्त्रालयमा लिखित रुपमै जानकारी गराइसकेका छौं ।’ उनले भने ।
सिकाइ उपलब्धि घट्नुको मुख्य कारणमा शिक्षक नै मुख्य दोषी रहेको अभिभावक, शिक्षा अधिकारीदेखि शिक्षाविद्सम्मको निश्कर्ष छ ः ‘हाम्रा कक्षाकोठाहरुमा शिक्षण सिकाइमा शिक्षकबाट उपचारात्मक र सहयोगात्मक शिक्षण नै भएन ।’
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले सिकाइको जग पढाइबाट हुने भएकोले कक्षाकोठामा पढाइ नै नहुँदा यो स्थिति निम्तिएको बताए ।
‘कक्षामा शिक्षकहरु आउनुहुन्छ, विद्यार्थीसँग घुलमिल हुनुसट्टा अगाडि उभिएर आफैं भट्याउन थाल्नुहुन्छ, यस्तो वातावरणमा विद्यार्थीले के सिक्लान र ?,’ उनले प्रतिप्रश्न गर्दै थपे, ‘शिक्षकको न्यून उपस्थिति, विषयगत शिक्षकको अभाव, शिक्षण विधिको कमी, पाठ्यपुस्तकको उपलब्धता, शिक्षण सामग्रीको कमीले पनि यस्तो भएको हो ।’
विद्यार्थीको मूल्याकनका लागि प्रयोग गरिएको मूूल्यांकन साधन (प्रश्नपत्र, गहृकार्य, कक्षाकार्य, परियोजना कार्य) को स्तरीयतामा कमी हुँदा पनि उपलब्धिमा सुधार नभएको भट्टराईले जनाए ।
विद्यालयका प्रधानाध्यापकहरु भने कक्षाकोठामा पढाइ सीप विकास गर्ने क्रियाकलापमा निक्कै कमी आउँदा सिकाइ उपलब्धि घटेको हुन सक्ने सम्भावना रहेको बताउँछन् ।
‘शिक्षकलाई शिक्षण क्रियाकलाप गर्न उत्साहित गर्न भनी विभिन्न तालीमहरु त दिए तर त्यसको प्रयोग नुहँदा सिकाइ उपलब्धि घटेको हो ।’ एक प्रअले भने ।
फाईल फोटो
प्रतिक्रिया