Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

जब उनले मजदुरी गरेर पढिरहेको बताए ...

आइतबार, ०५ मंसिर २०७३

काठमाडौं - ‘म अहिले पनि बिहान बेलुकी मजदुरी गरेर पढिरहेको छु, मजस्तै गरी पढ्नेहरु थुप्रै छन्, यतिमात्र होइन बीचैमा पढाइ छोड्नेहरुको संख्या पनि बढी छ ।’

कक्षा ९ मा अध्ययनरत विद्यार्थी पर्शुराम सिवाकोटीले मञ्चको पोडियममा उभिएर माइकबाट यस्तो बताईरहँदा कार्यक्रममा उपस्थित मात्रै हैन सरकारी निकाय तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि समेत स्तब्ध बने ।

अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) को दिन पारेर केन्द्रीय बाल कल्याण समितिले शिक्षामा पहुँच बढेको तथा विद्यार्थी भर्नादरमा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्दै गर्दा सिवाकोटीले भने अझै पनि आफू जस्ता धेरै विद्यार्थी पढाइबाट बञ्चित भएको बताए । उनले आफू पढ्नकै लागि दोलखा जिल्लाबाट काठमाडौं आएको पनि बताए । पढाइका लागि काम गर्न बाध्य सिवाकोटी बालुवाटारको महेन्द्र राष्ट्रिय माविको कक्षा ९ मा सिभिल ओभरसियर विषय पढिरहेका छन्

देशभरका सम्पूर्ण बालबालिकाहरुको प्रतिनिधित्व गरी बोल्न पाउँदा आफूलाई ज्यादै खुसी लागे बताए पनि आफू जस्ता बालबालिकाको अवस्था सम्झदाँ दिक्क लाग्ने उनले बताए ।

‘नेपालमा बालबालिकाको स्थिति–२०७३’ नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु लम्साल, सहसचिव शंकर पाठक, बालअधिकारकर्मी गौरी प्रधान, महिला, बालबालिका कार्यालयका महानिर्देशक नरेशकुमार चापागाइँ, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी तथा राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअ, प्रहरी कार्यालय, महिला विकास कार्यालय लगायतका प्रतिनीधिहरु सहभागि थिए ।

प्रतिवेदन अनुसार प्राथमिक विद्यालयमा खुद भर्नादर ९६ दशमलब ६ प्रतिशत, निमावि स्तरमा ७७ दशमलब ७, माध्यमिक (कक्षा ९ र १०) स्तरमा ५८ दशमलब ६ प्रतिशत र उच्च माध्यमिक स्तर(कक्षा ११ र १२) मा १६ दशमलब ४ प्रतिशत छ ।

प्रतिवेदनमा २०७२ सालमा देशभरमा प्राथमिक तहमा ४२ लाख ६४ हजार ९४२ विद्यार्थी रहेको, देशभर ३४ हजार ८३७ स्कुल रहेको उल्लेख छ । प्रतिवेदनमा प्रत्येक वर्ष विद्यार्थी भर्नादर बढिरहेको देखिएको उल्लेख छ ।

औपचारिक कार्यक्रममा सचिव लम्सालले बालअधिकार सम्वद्र्धनका लागि शिक्षा मन्त्रालयले बचाउ र विकासको काम गर्ने उल्लेख गर्दै बालअधिकार रक्षा गर्न व्यक्ति–व्यक्ति र परिवार–परिवारमा जागरण आउनुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समयमा सरकारले पूर्वाधार विकासमा ध्यान दिएको तर सामाजिक विकासमा ध्यान नदिँदा बालअधिकारले अपेक्षा अनुरुप काम गर्न नसकेको बताए ।

बालअधिकारकर्मी गौरी प्रधानले विद्यालयहरुमा भर्ना दर बढेको तर विद्यार्थीलाई कक्षामा टिकाउने चुनौती विद्यमान रहेको बताउँदै सो विषयमा ध्यान जानु आवश्यक रहेको बताए ।

कार्यक्रम आयोजक समितिका अध्यक्ष गिरीले पनि बालअधिकारको रक्षाको लागि सँधै लागिरहेने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया