Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

नेपालकै एक मात्र राष्ट्रिय अडियो पुस्तकालय नाजुक अवस्थामा

आइतबार, ०५ मंसिर २०७३

काठमाडौं ५ मंसिर / स्तरोन्नति नहुँदा पृथ्वीनारायण क्याम्पस हातामा दृष्टिविहीनका लागि सञ्चालित नेपालकै एक मात्र राष्ट्रिय अडियो पुस्तकालय नाजुक अवस्थामा गुज्रिरहेको छ । दृष्टिविहीनको अध्ययनमा पहुँच पुर्‍याउने उद्देश्यले १३ वर्षअघि स्थापित पुस्तकालय सरोकारवाला निकायको बेवास्ताले जीर्ण बन्दै गएको हो ।

कास्की नेत्रहीन संघ र क्याम्पसले सञ्चालनमा ल्याए पनि दुवै संस्थाले अपनत्व देखाएका छैनन् । यस्तै भइरहे आफूहरूले पढ्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था निम्तिने विद्यार्थीको गुनासो छ ।
पुस्तकालयका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । भौतिक तथा प्राविधिक पुन:संरचना आवश्यक छ । निर्धारित पाठ्यक्रम बाहेक थुप्रै सन्दर्भ सामग्री, तल्लोदेखि उपल्लो तहसम्मका सबै विषयका पुस्तक, साहित्यिक, धार्मिक, राजनीतिक कृति, प्रतियोगितात्मक परीक्षाका लागि आवश्यक सामग्रीसमेत आवश्यकताअनुरूप पूर्ति भएका छैनन् ।
पुस्तकालयकी अडियो रेकर्डर प्रभा त्रिपाठी कम्प्युटरलगायत सामान बिग्रिरहने, मुसाबाट जोगाउन समस्या भएको बताउँछिन् । ‘क्याम्पस र संघले मर्मत र स्तरोन्नतिमा ध्यान दिएको पाइएन,’ उनले भनिन्, ‘क्याम्पसकै कतिपय प्राध्यापकलाई अडियो पुस्तकालयबारे थाहै छैन ।’
पुस्तकालयमा नयाँ र पुराना गरी करिब ३ सय रेकर्ड गरिएका र डेढ सय प्रकारका अन्यत्रबाट ल्याइएका अडियो पुस्तक छन् । कक्षा ८ देखि डिग्रीसम्मका पाठ्यक्रम यहाँ रेकर्ड गरिन्छ । विज्ञान, व्यवस्थापनजस्ता विषयको भने हुँदैन । शिक्षा र मानविकी संकायका नेपाली किताब मात्रै रेकर्ड हुन्छ । पछिल्लो समय अंग्रेजी विषयको किताब स्क्यानिङ गरी सफ्टवेयरको माध्यमबाट बोलेको सुन्न सकिने व्यवस्था छ । त्यस्ता किताब विद्यार्थीले सीडी तथा मेमोरी कार्डमा सारेर लैजान्छन् ।
पुस्तकालयले सरकारबाट अहिलेसम्म ठूलो सहयोग नपाएको कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘स्रोतले नभई व्यवस्थापन र कामले बेहाल भएको छ,’ उनले भने, ‘क्याम्पसले पूर्ण अपनत्व लिएर अघि बढ्ने र हामीले सहयोग गरे राम्रो हुन्थ्यो ।’ अडियो पुस्तकालयका दुई कर्मचारीलाई क्याम्पसले अतिरिक्त काम र पारिश्रमिक दिएर अन्यत्र खटाएकाले समस्या बढेको उनको भनाइ छ । प्रतिविद्यार्थी १० रुपैयाँ उठाएर जम्मा भएको करिब ५ लाख रुपैयाँसमेत प्रयोगमा आउन नसकेको उनले बताए ।
पुस्तकालयमा पहुँचयुक्त ब्रेल वा अडियो पुस्तक, छात्रावास, दृष्टिविहीनमैत्री शिक्षक र शिक्षण विधि प्रयोग, आवश्यकतानुसार पुस्तक रेकर्डको छरितो व्यवस्था, परीक्षामा सहयोगीको सहज उपलब्धता र क्याम्पसबाट प्रभावकारी व्यवस्थापन तथा ब्रेल सामग्री र अडियो सामग्री पुस्तकालयमै हुनुपर्ने आवश्यकता रहेको संघका शिक्षा विभाग प्रमुख श्रीकान्त सापकोटाले बताए । ‘पुस्तकालयका लागि पर्याप्त भौतिक स्थान पनि छैन,’ उनले भने, ‘यसको स्वामित्व क्याम्पसले लिनुपर्छ । समन्वय र सहयोगका लागि दृष्टिविहीन, उनीहरू सम्बद्ध संघसंस्था, सरकार, अन्य सरोकारवाला निकायले गर्नुपर्छ ।’
दृष्टिविहीन अभियन्ता खोमराज शर्माले पुस्तकालय व्यवस्थापनमा समस्या देखिएको बताए । उनका अनुसार क्याम्पस तथा संघको भूमिकाबारे स्पष्ट पार्न एउटा पुस्तकालय व्यवस्थापन निर्देशिका बनाउन लागिएको छ । शर्माको सक्रियतामा फोर्स फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा राष्ट्रिय अडियो पुस्तकालय बनेको हो ।
क्याम्पसमा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालयका प्रमुख किशोर सुवेदीले नेपालको एक मात्र राष्ट्रिय पुस्तकालय भएकाले स्तरोन्नतिको आवश्यकता रहेको बताए । क्याम्पसले अडियो पुस्तकालयलाई सक्दो सहयोग गरेको भन्दै उनले काममा कुनै अवरोध नगरेको जनाए । ‘दुई कर्मचारी र ठाउँ दिएका छौं । प्राविधिक सहयोग नेत्रहीन संघले गर्ने पहिल्यै निर्णय भएको रहेछ,’ उनले भने, ‘निर्णय र व्यवहार फरक भएकाले केही समस्या आएको हो ।’ क्याम्पस प्रमुख देवेन्द्रबहादुर लामिछानेले क्याम्पसमा बजेट नहुने र केन्द्रमा माग गर्दापनि नआउने हुँदा समस्या भएको बताए । ‘क्याम्पस हातामा भएकाले अपनत्व लिएर रेखदेख हामीले नै गर्नुपर्छ’, उनले भने, ‘संघले हामी संचालन गर्छौं भनेर ठाउँ दिएका हौं, अलि बढी चासो नेत्रहीन संघले नै दिनुपर्छ ।’
एउटा प्राविधिक समूह गठन गरी सञ्चालन गर्न विद्यार्थीले आग्रह गरेका छन् । म्याग्दी पाखापानीकी दृष्टिविहीन सन्ध्या छन्त्यालले बर्सेनि पाठ्यक्रम परिवर्तन हुने तर सोहीअनुसार पुस्तकालयमा रेकर्ड नहुँदा आफूहरूलाई पढ्न समस्या भएको बताइन्

लालप्रसाद शर्माले पोखराबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया