Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

गुणस्तर बढाउन विद्यालय वर्गीकरण

शुक्रबार, ०३ मंसिर २०७३

काठमाडौं ३ मंसिर / जिल्ला शिक्षा कार्यालयले विद्यालय, शिक्षक र विद्यार्थीको बर्गीकरण गरेको छ ।

सिकाइ उपलब्धि, तालिमप्राप्त शिक्षक, भौतिक पूर्वाधार, शिक्षक विद्यार्थी अनुपात, पुस्तकालय, शैक्षिक सामग्री लगायत सूचकका आधारमा वर्गीकरण गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जेठमा शैक्षिक सुधार वर्ष घोषणा भएअनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न लागिएको उनको भनाइ छ ।
विद्यालय, शिक्षक र विद्यार्थीलाई शैक्षिक पक्षका सुधारका आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ । तोकेको मापदण्ड पूरा गर्ने विद्यालय, शिक्षक र विद्यार्थी ‘क’ बर्गमा, आशिंक मापदण्ड पूरा गर्नेलाई ‘ख’ र कमजोर शैक्षिक अवस्थाकालाई ‘ग’ वर्गको संज्ञा दिएको जिशिअ सिंहले बताए । कालिका प्राथमिक विद्यालय गरी डाँडागाउँ, कालिका आदर्श माध्यमिक विद्यालय रामीडाँडा, भेरी त्रिवेणी मावि रिम्ना खलंगा, रामोदय मावि जेवा दशेरालगायत २० प्रतिशत विद्यालय र १० प्रतिशत शिक्षक मात्र ‘क’ वर्गमा परेका छन् । त्यस्तै ५० प्रतिशत विद्यालय र ६० प्रतिशत शिक्षक ‘ख’ वर्गमा परेका छन् । ३० प्रतिशत शिक्षक र ३० प्रतिशत विद्यालय ‘ग’ वर्गमा परेका छन् ।
‘क’ वर्गमा परेका विद्यालयलाई यथावत् अवस्थामा राख्ने, ‘ख’ वर्गकालाई ‘क’ वर्गमा उकास्न प्रेरित गर्ने र ‘ग’ लाई पनि ‘क’ वर्गमा उकास्न नियमित अनुगमन/निरीक्षण, भौतिक पूर्वाधारको निर्माण, शिक्षक दरबन्दीको व्यवस्था, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम सञ्चालन गरिने जिल्ला शिक्षाले जनायो । यी विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति लगायतलाई सक्रिय तुल्याउनेछ ।
यसैगरी जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागि २६ गाउँ विकास समितिका २६ र भेरीमालिका नगरपालिकाका ४ वटा विद्यालयलाई नमुना विद्यालयको रूपमा रूपान्तरण गर्ने योजना शिक्षा कार्यालयको छ । शैक्षिक सुधारका लागि तल्लो वर्गमा परेका विद्यालय र शिक्षकलाई शैक्षणिक योजना निर्माण र कार्यान्वयन, निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली लागू गर्नुपर्ने शिक्षा अधिकारी सिंहले बताए

भीमबहादुर सिंहले जाजरकोटबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया