Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

अस्पतालै नभएकालाई सम्बन्धन दिइँदै, सम्बन्धन पाउन लागेका संस्थामा सांसद र नेताको लगानी

विहीबार, ०२ मंसिर २०७३

काठमाडौं २ मंसिर/शिक्षामन्त्री धनीराम पौडेलले आफ्नै अस्पताल नभएका संस्थालाई पनि स्वास्थ्यका कार्यक्रमको सम्बन्धन दिन लागेका छन् । स्वास्थ्यका फार्मेसीबाहेक अन्य कार्यक्रमको अभ्यास गराउन अस्पताल चाहिन्छ । मन्त्री पौडेल अध्यक्ष रहेको सीटीईभीटी परिषद् बैठक बिहीबार बसेर अस्पताल नभएका संस्थालाई समेत विभिन्न कार्यक्रम सञ्चालनको सम्बन्धन दिने तयारी गरिएको छ । सम्बन्धन दिन लागेका संस्थाले अन्य अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गराउने सम्झौता पेस गरेका छन् ।

सम्बन्धन दिने विषयमा मंगलबार बैठक राखिए पनि परिषद् सदस्य र कर्मचारीहरूको विरोधले रोकिएको थियो । बिहीबार पुन: बैठक राखेर पौडेलले सम्बन्धन दिने तयारी गरेका छन् । शैक्षिक सत्र सुरु भएको तीन महिनापछि यसै वर्षदेखि कार्यक्रम सञ्चालन हुने गरी सम्बन्धन दिन तयारी गरिएको हो । ‘शैक्षिक सत्र सुरु हुनुअघि नै सम्बन्धन दिनुपर्ने यसअघिको निर्णयलाई लत्याएर यो बेला किन सम्बन्धन दिन लागेको हो ? बुझ्न सकिएन,’ परिषद्का एक सदस्यले भने, ‘कर्मचारी र हामीले विरोध गरिरहेका छांै । मन्त्री पेलेरै भए पनि सम्बन्धन दिन चाहन्छन् ।’ सम्बन्धन लिन लागेको सबैजसो संस्था एमाले र माओवादीका सांसद, नेताको भएको सीटीईभीटी स्रोतले जनायो ।
सीटीईभीटी परिषद् सदस्य ऋषि खनालले भने मापदण्ड पूरा भएका संस्थालाई मात्रै सम्बन्धन दिने तयारी भएको बताए । ‘सरकारी अस्पताल देखाउने संस्थालाई सम्बन्धन दिँदैनांै । अन्य संस्थाको पनि पूर्वाधार पुगेको हुनुपर्छ,’ उनले भने, ‘सम्बन्धन पाउने संस्थाले यस वर्षदेखि वा अर्कोदेखि सञ्चालन गर्ने भन्ने पनि छलफलपछि मात्रै निर्णय हुनेछ ।’
सीटीईभीटी स्रोतका अनुसार कान्तिपुर कलेज अफ मेडिकल साइन्स सीतापाइलालाई एचए, एसियन फाउन्डेसन अफ एजुकेसन सातदोबाटोलाई रेडियोग्राफी, सुनसरी टेक्निकल कलेज धरानलाई एचए, रेडियोग्राफी, विराट हेल्थ कलेज विराटनगरलाई एचए, लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्सलाई एचए, सञ्जीवनी कलेज दाङलाई एचए, पब्लिक हिमाल सिरहालाई एचए, कान्तिपुर इन्स्टिच्युट हेल्थ साइन्स पोखरालाई रेडियोग्राफी र फार्मेसीको सम्बन्धन दिन लागिएको छ । यी कुनै पनि संस्थाको आफ्नो अस्पताल छैन । सबैले अरूको अस्पताल देखाएका छन् । यसमध्ये दाङको सञ्जीवनी र सिरहाको पब्लिक हिमालले सरकारी अस्पताल देखाएका छन् । स्वास्थ्य मन्त्रालयले २०७१ भदौ ९ मा सरकारी अस्पताल देखाउनेलाई सम्बन्धन नदिन र दिइसकेकालाई पनि तीन वर्षभित्र आफ्नै अस्पताल बनाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सीटीईभीटीलाई पत्र पठाएको थियो । २०७१ मा सरकारी अस्पताल देखाउने २५ कलेज सञ्चालनमा थिए । यी कलेजले आफ्नै अस्पताल नबनाए एक वर्षभित्र संस्था खारेज हुन्छ ।
सीटीईभीटीले आम्दा अस्पताललाई एचए, अल्का अस्पताललाई एचए र ल्याब, एमिटी ग्लोबल एजुकेसन गोंगबुलाई फार्मेसी, स्कुल अफ मेडिकल ल्याब्रोटरीलाई फार्मेसी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई एचए, ल्याब, रेडियोग्राफी, फिजियोथेरापी, फार्मेसीको सम्बन्धन दिने प्रस्ताव तयार गरेको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थालाई फार्मेसी, रेडियोग्राफी, ल्याबको सम्बन्धन दिने तयारी गरिएको छ । त्यस्तै चितवन मेडिकल कलेजलाई फार्मेसी, डेन्टल, एसिया डेन्टल कलेज एन्ड टिचिङ अस्पताल वीरगन्जलाई डेन्टलको कार्यक्रम सञ्चालन गर्न अनुमति दिने तयारी छ । स्तुपा सहकारीलाई ल्याब, सहिद स्मारक जनस्वास्थ्य सहकारीलाई फार्मेसीको सम्बन्धन दिन लागिएको छ ।
मंगलबारको बैठकमा परिषद् सदस्य र कर्मचारीले विरोध गरेपछि बुधबार सम्बन्धनको विषयमा छलफल भएको थियो । परिषद् सदस्यहरू सलाउदिन मिया, भरत रेग्मी, बालकृष्ण पौडेल, ऋषि खनाल सम्बन्धन दिन लागिएका संस्थाले मापदण्ड पूरा गरे/नगरेको जानकारी लिन सीटीईभीटी पुगेका थिए ।
मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया