भक्तपुर - मंगलबार बिहान ११ बजे तिर टाँ टाँ र टिँ टिँ गर्दै जब विद्यालयको मूल गेटबाट गाडि र मोटरसाइकलको लर्को छिर्यो विद्यार्थी र शिक्षक छक्क परे ! गणेश माध्यमिक विद्यालय ताथलीका कक्षा कोठामा पढिरहेका विद्यार्थी र शिक्षकहरुको ध्यान पनि उतैतिर तानियो ।
‘पढिरहेको बेला किन यसरी स्कुलमै सरकारी गाडी र मोटर साइकल छिरे, थाहा भएन ।’ कक्षा १० मा पढिरहेकी सन्ध्या केसीले भनिन् । उनले मात्र नभएर कक्षा लिइरहेका शिक्षक निरेन्द्र कुँवरले पनि शुरुमा अचानक गाडीहरु छिर्नुको कारण थाहा नभएको बताए ।
एकछिन पछि मात्र उनीहरुले थाहा पाए, नगरकोट नपा वडा नं. १, २ र ३ को संयुक्त वडा कार्यालय ताथलीमा नगरकोट नगरपालिका र जिल्ला विकास समितिको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ रहेछ ।
विद्यालय छेउमै रहेको वडा कार्यालयको चौरमा गरिएको सार्वजनिक सुनुवाइमा जोडिएको स्पिकरको आवाज कक्षाकोठा सम्मै आईपुग्यो । जसका कारण कक्षाकोठामा पठन पाठन हुन सकेन । यहीकारण शिक्षकहरुको समय पनि घरी कक्षाकोठामा जाने, घरी चौरमा आउने र घरी कार्यक्रम स्थलमा आउने गरेरै वित्यो ।
‘स्कुल छेउमै ठूलो–ठूलो स्पिकर राखेर, स्कुलको चौरमै यत्तिका गाडी रोकेर कार्यक्रम गरेपछि कसरी पढाउन सकिन्छ र ?’ प्रति प्रश्न गर्दै शिक्षक धु्रब केसीले भने, ‘आज त पहिलो पिरीयडमात्र राम्ररी लिन पायौं ।’
स्कुल छेउमै कार्यक्रम गर्दा पढाइमा बाधा पुगेको कक्षा १० कै विद्यार्थी रितेश बालाले गुनासो गरे । उनले तिहार विदापछि मात्र खुलेको विद्यालयमै यसरी कार्यक्रम गर्दा सरकारी निकायहरुले ध्यान नदिएको बताए ।
‘तिहार बिदा पछि एक दिन पढाइ भयो, आजै यस्तो भयो’ उनले भने, ‘सरको आवाजभन्दा बाहिरबाट आएको आवाज ठूलो थियो, त्यही कारण ध्यानै उतैमात्र गयो ।’
सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी र विद्यालय निरीक्षक विमलकुमार निरौला पनि पुगेका थिए । पढाइमै असर पुग्ने गरी विद्यालय छेउमै कार्यक्रम हुँदा पनि उनीहरुले केही भनेनन् ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले भने विद्यालय छेउमै कार्यक्रम गरेर स्कुल सञ्चालन गर्न बाधा पु¥याएको, विद्यार्थीको पढ्न पाउने अधिकारलाई सरकारी निकायबाटै कुण्ठित गर्न खोजेको विषयमा कार्यक्रम आयोजकको आलोचना गरेका थिए ।
कार्यक्रममा आलोचनाको आवाज उठेपछि भक्तपुरका स्थानीय विकास अधिकारी धु्रबप्रसाद कोइरालाले समग्र कार्यालयहरुको तर्फबाट गल्ती भएको बताए । उनले यतिमात्र नभएर समयमै कार्यक्रम सुरु नभएर समग्रमा सबैलाई परेको असरको जिम्मेवार भएको बताउँदै माफी समेत मागे ।
कार्यक्रमबाट विद्यार्थीको पढ्ने अधिकारलाई कुण्ठित गर्ने उद्देश्य नभएको बताउँदै कोइरालाले भने, हामीले यत्रो माइक राखेर डिस्र्टबै हुने गरी नगरेको भए पनि बेश हुन्थ्यो, आगामी दिनमा यसलाई सुधार्नेछौं ।’
११ बजेको कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा निम्त्याईएका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको टोली सवा १२ बजेतिर मात्र आइपुगेको थियो । उनीहरुको ढिलाईले गर्दा पनि विद्यालय नजिकैको हो हल्ला सवा घण्टा धेरै थप लम्बियो ।
प्रतिक्रिया