Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

औचित्यका आधारमा मात्रै विश्वविद्यालय : शिक्षा मन्त्री

मंगलबार, २३ कार्तिक २०७३

काठमाडौं - आवश्कता र औचित्यलाई ख्याल नगरी स्थापना हुँदा कतिपय विश्वविद्यालयको  सञ्चालनमै समस्या देखिएको शिक्षा मन्त्री धनिराम पौडेलले निष्कर्ष निकालेका छन् । नयाँ विश्वविद्यालय खोल्नु अघि गहिरो अध्ययन आवश्यक रहेको उनले बताए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले मंगलबार आयोजना गरेको नेपालमा पर्यटन विश्वविद्यालय स्थापनाको अवधारणा एवं औचित्य सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

पछिल्लो समय नेपालमा आवश्यकताको आधारमा भन्दा पनि प्रवृतिगत रुपमा विश्वविद्यालय स्थापना गर्नेक्रम वढ्दै गएको बताउँदै पौडेलले मुलुकको लागि कुन क्षेत्रमा कति जनशक्ति आवश्यक पर्ने हो सो साधारमा मात्रै अघि बढ्नु पर्ने बताए । ‘हाम्रो मुलुकको लागि कुन क्षेत्रमा कति र कस्ता प्रकारको जनशक्ति आवश्यक छ ? त्यस्तो जनशक्ति उत्पादन गर्न कस्ता प्रकारका विश्वविद्यालय स्थापना गर्नुपर्छ ? यसप्रति वौद्धिक बर्गको ध्यान जान जरुरी छ’, मन्त्री पौडेलले भने ।

नेपालको भौगोलिक सौन्दर्य, कला, संस्कृतिको कारण पर्यटन विकासको सम्भावना प्रचुर रहेको भन्दै उनले त्यसको लागि पर्यटन विश्वविद्यालय नै आबश्यक हो कि होइन गहन छलफल र अध्ययन जरुरी रहेको पनि बताए । 

कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक चूडामणि शर्मा कट्टेलले नेपालमा पर्यटन विश्वविद्यालयको स्थापना, आवश्यकता र औचित्य सम्बन्धि आशय पत्र प्रस्तुत गरेका थिए । उनको आशय पत्रमा देशको अर्थतन्त्रको विकासमा मेरुदण्डको रुपमा रहेकको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा, सुविधा सहित आकर्षण वढाउँदै लैजान पर्यटन विश्वविद्यालयको आवश्यकतामा जोड दिईएको छ ।

कार्यक्रममा होटल तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मुलुकमा पर्यटन विकासको प्रचुर संभावना हुँदाहुँदै पनि त्यसप्रति राज्यले उचित ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया