Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

२० विद्यालय बन्द, शहरतिर बसाइसराइ मुख्य कारण

मंगलबार, २३ कार्तिक २०७३

तनहुँ - जिल्लामा रहेका ३ सय २८ वटा प्राथमिक विद्यालयहरु मध्ये २० वटा विद्यालय बन्द गरिएको छ । गाउँबाट शहर र दुर्गमबाट सुगमतिर बसाइसराइ हुन थालेसँगै विद्यार्थी संख्या न्यून भएपछि ती विद्यालयहरु बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

यो संख्या ६ प्रतिशत हुन आउँछ । ‘वर्सेनी विद्यालय संख्या घट्दा पनि विद्यार्थी संख्या बढाउन नसकेका यहाँका ६ प्रतिशत प्राथमिक विद्यालयहरुलाई हामीले बन्द गरेका छौं’ जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले भने । विद्यालय बन्द गरिए पछि पनि जिल्लामा ३ सय ८ प्राथमिक विद्यालयहरु रहेका छन् ।

बन्द गरिएका विद्यालयहरुमा त्रिभुवन प्रावि रुपाकोट, खाँददेवी प्रावि, निर्लुङ, नारायणचौर प्रावि, सतिसस्वाँरा, कन्यादेवी प्रावि, धरमपानी, तारा प्रावि, धरमपानी, चन्डीदेवी प्रावि बन्दीपुर, जनप्रयास प्रावि, बन्दीपुर रहेका छन् ।

त्यस्तै भगवती प्रावि कोटा, राम प्रावि केशवटार, रविचन्द्र प्रावि व्यास, ऋषिथुम प्रावि र माथिल्लो गोदारी प्रावि जामुने, गणेश बालमिलन प्रावि व्यास, विष्णु प्रावि, शान्तिवर्षा प्रावि, वुद्धिविकास प्रावि अरुणोदय, मदनआश्रित प्रावि बन्द गरिएका छन् ।

विद्यार्थी कम भएका विद्यालयहरु बन्द गरी सो ठाउँमा कार्यरत शिक्षकहरुलाई जिल्लाका विभिन्न विद्यालयहरुमा समायोजन गरिएको जिशिअको भनाइ छ । उनले विद्यार्थी कम भएका विद्यालयहरु बन्द गराएसँगै धेरै विद्यालयका शिक्षक, प्रधानाध्यापक र समुदाय सजग भएको पनि बताए ।

‘विद्यार्थी कम भएपछि भएको दरबन्दी पनि कटौती गर्छ, विद्यालय बन्द गर्छ भनेर केही विद्यालयहरुले संस्थागत विद्यालयहरुले जस्तै गरी पठनपाठन पनि गराउन थालेका छन्’, जिशिअ श्रेष्ठले भने, ‘स्थानीय समुदाय पनि आफूहरुले दुःख गरेर बनाएको विद्यालय बन्द नहोस् भनेर आफ्ना सन्तानलाई नजिकैको विद्यालयमा भर्ना गर्न थालेका छन् ।’

बन्द भएका २० बाहेक तनहुँमा ४ सय ८९ वटा सामुदायिक विद्यालय छन् । जसमा निमावि ७३ वटा र मावि १ सय ८ वटा छन् ।

प्रतिक्रिया