Edukhabar
सोमबार, २९ पुस २०८१
विचार / विमर्श

गणितमा गीत, गणितमै नाटक : जहाँ विद्यार्थी बनिरहेछन् शिक्षक !

बुधबार, १७ कार्तिक २०७३

एकै छिन पानी दर्किने । एकै छिन घाम फर्किने । छिन भरमै कुहिरोको आवरण भित्र हराउने । दक्षिण ललितपुरको सिम्ले गाउँ निकै सुन्दर र सिम्लेको मौसम मलाई निकै अनौठो लाग्छ ।

भदौको महिना थियो । तेस्रो पिरियडको घण्टी बज्यो । म उत्साहित हुँदै कक्षा ७ तिर लागें । गणित प्रतिको डर हटाउन र रुचि बढाउने मनोविज्ञानको निर्माणको खातिर । हामी गणित कक्षाको सुरुवात प्रायः जसो गणित गीत गाएर गर्छौं । सदाझैँ  गणित गीत गाएर कक्षाको सुरुवात भयो ।

...

- तिमीहरुलाई एक्टिङ् गर्न आउँछ ?
आउँछ सर

- नाटक हेरेका छौ ?
के को नहेर्नु सर, दशैमा हाम्रै गाउँमा नाटक हुन्छ ।

- नाटकमा भाग लिएका छौ त ?
छैन सर खेल्न त मन छ । तर ठुला दाई दिदीहरुले हामीलाई खेल्न दिँदैनन् !

माथिल्ला कक्षाका विद्यार्थी प्रति पुर्वाग्रहिपनको भाव उनिहरुको अनुहारले बोलिरहेको थियो ।

- त्यसो भए आज हामी सबै मिलेर नाटक बनाउँ है त !

जब यो वाक्य मेरो ओठ्बाट फुत्कियो । अनि विद्यार्थीको खुसिको परिधी नै रहेन ।

तिहारको बेला आँगनमा फक्रिएको फूल झैं विद्यार्थीको अनुहार धपक्कै बलिरहेको थियो । गणित विषय पढाउने नाताले गणित झल्किने नाटक गर्न लगाउने र नाटकको माध्यमबाट सिकाउने योजना थियो ।

त्यसको अलावा भाषामा सुधार, आत्मविश्वासको विकास, मिलेर काम गर्न सक्ने क्षमताको विकास निर्माणको आधार ।

नाटक बन्न सक्छ भन्ने मेरो बुझाई हो ।
...
नाफा नोक्सानको अवधारणालाई नाटक मार्फत बुझाउने सोच अनुसार मैले अघिल्लो दिन नै छोटो नाटकको डिजाइन गरि सकेको थिएँ । सबैलाई भुमिका दिन खोजेको थिएँ तर केही विद्यार्थीहरु नाटक खेल्न लजाए।लजाउनेहरुलाई अर्को पटक नाटकमा भाग लिनु पर्छ भन्ने हेतुले प्रेरित गर्दै साथीले गरेको नाटकलाई ध्यान दिएर हेर्न सुझाएँ ।

गाउँमा अदुवा धेरै फल्छ । मानौँ, सो अदुवा सबै एक जनाले खरिद गर्छ र चापागाउँमा बेच्छ । सस्तोमा खरिद गर्छ, धेरै महंगोमा बेच्छ । फाइदा गर्न कै लागि व्यापार गर्ने हो तर उपभोक्तालाई निराश बनाउने ढंगले बेच्नु भनेको ठग्नु हो । भ्रष्टाचार गर्नु हो । फाइदा त लिनु पर्छ तर रु. १० पर्ने चिज रु. १०० मा बेच्नु अनैतिकताको पराकाष्ठा हो । हाम्रो समाजमा अनैतिकरुपले व्यापार गर्नेहरुको कमि छैन । नैतिकतालाई नबिर्सि व्यापार गर्ने मान्छेको खाँचो छ यहाँ । उपभोक्ताहरु जागरुक नहुँदा कालो बजारले अवसर पाएको छ ।

आजको बच्चा नै भोलिको व्यापारी हो । भोलिको जिम्मेवार उपभोक्ता हो । उसलाई नैतिक शिक्षा विद्यालयबाटै सिकाउनु पर्छ । अन्यथा, हामीले खोजेको सभ्य  नागरिक पाउन मुस्किल हुनेछ । सभ्य नागरिक बिना मुलुकको रुपान्तरण असम्भव छ । सभ्य र नैतिक समाज निर्माण गर्ने माध्यम शिक्षा नै हो । कोरा शिक्षा मात्र होइन । नैतिक शिक्षाको आवश्यकता छ ।

मैले भने अनुरुप विद्यार्थीले नाटक गर्ने कोशिस गरे । हेर्नेले पेट मिचिमिची हाँसे । खेल्नेहरु पनि रमाए । तर राम्रोसँग अभ्यास गर्न नपाउँदै चौथो घण्टी बजिहाल्यो । समयको महत्व र गति शिक्षक हुदाँ मलाई धेरै अनुभुत भएको छ । थोरै समय भित्र धेरै दिनु पर्ने हुन्छ । पढाउनु ठुलो कुरा होइन । सबैलाई बुझाउन सक्नु पर्छ । त्यसैले शिक्षक हुन सजिलो छैन ।

तर दुखको कुरा नेपालमा शिक्षण पेशालाई काम नपाए पछि बाध्यताले गरिने निम्न दर्जाको काम ठानिन्छ । अन्तमा चापागाउँमा रु १०० पर्ने चिज सिम्लेमा बेच्नु पर्याे भने तिमी कतिमा बेच्न चाहान्छौ ? आ–आफ्नो टोलका साथीहरू–माथिल्लो कक्षाका विद्यार्थीको जवाफ लेखेर ल्याउनु भन्दै म कक्षा बाट निस्किएँ ।

...

भोलि पल्ट कक्षामा गृहकार्य को–को ले गरेका छौ त ! भन्दा एक जना बाहेक अरु कसैको हात उठेन । कारण खोज्दै जाँदा साना भाइ बहिनीहरुले आफुभन्दा ठुलो कक्षामा पढ्ने साथीहरुबाट सिक्न नखोज्ने मानसिकता देखेँ । सधैं शिक्षकको मात्र भर परेर हुदैन । जान्ने साथीबाट पनि सिक्नु पर्छ । साथीले मातृभाषा प्रयोग गरेर सिकाउँदा झन् छिटो सिकाई हुने रहेछ । सिकाउनेलाई पनि फाईदा । सिक्नेलाई पनि फाईदा ।

कक्षा १० मा अध्यनरत एक छात्रलाई कक्षा ८ मा आफ्नै मातृभाषामा गणित सिकाउन लगाएको थिएँ । यसो गर्दा विद्यार्थीले सिकेको पाएँ । अधिकांश विद्यार्थी गणितका आधारभुत कुरामा नै अलमलमा छन् । अनि यसै बेला मेरो मनमा एउटा योजना बन्यो ः दशैं र तिहारको विदामा कक्षा १० मा अध्यनरत गणितमा अलि राम्रो विद्यार्थीलाई कक्षा ८ र ७ मा विहानको समयमा पढाउन लगाउने मेरो मनमा संकल्प जन्मिएको थियो ।

...

असोज १५ गतेबाट, दशैं र तिहारको विदा सुरु भयो । त्यस पछि विहानको समयमा कक्षा ९ र १० को गणित शिक्षण मैले गर्थें । अनि कक्षा १० का दुई जना विद्यार्थी मध्ये एक जनालाई ८ कक्षाका भाईबहिनीलाई सिकाउने र अर्काेले ७ कक्षाका भाईबहिनीलाई सिकाउने जिम्मेवारी दिएँ । कुन पाठ, कसरी, केके कुरा सिकाउने सो बारेमा पहिले नै सहयोग गरिसकेको थिएँ ।

साथै कक्षामा म पनि निरन्तर अवलोकन गर्ने गर्थें ।अलि गह्रो पर्याे भने मैले सहयोग गरि दिन्थें । सिकाई मुल्यांकन गर्ने, समुहमा काम गराउने तथा गृहकार्य दिने, नजानेको नबुझेको सिकाइ दिने आदि काम विद्यार्थी शिक्षकले गर्ने गर्नेछन् ।

...

दशैंको समय सिक्दै र सिकाउँदै बित्यो । कात्तिक ८ देखि ११ गते सम्म 'मिलि' (टिच फर नेपालले तीन तीन महिनामा उपलब्ध गराउने तालिम ) को आयोजना गरेको हुनाले म काठमाडौं आउनु पर्ने भयो ।

कक्षा १० मा अध्यनरत दुई विद्यार्थीले कक्षा ७ र ८ का भाईबहिनीहरुलाई विहान ६ देखि ७ र ७ देखि ८ सम्मको समयमा कक्षाहरु लिईरहेका छन् । जुन कक्षा छठ सम्म निरन्तर संचालन हुनेछन् । काठमाडौं आउनु अघि कक्षा ७ र ८ का भाईबहिनीहरुको विचार बुझ्दा कक्षा १० का दुई विद्यार्थीले पढाउने भए विहानमा विद्यालयमा पढ्न आउने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया बमोजिम नै मैले कक्षा ८ को साँचो तथा मार्कर, मसि, गणित किताब र अन्य शिक्षण सामाग्री विद्यार्थी शिक्षकहरुलाई उपलब्ध गराएको थिएँ । विद्यार्थी शिक्षक पनि पढाउनको लागि निकै उत्साहित देखिन्थे । के, के कसरी पढाउने यस बारे पनि मैले पहिलै जानकारी दिईसकेको थिएँ ।

...

म काठमाडौं छु । मिली पनि सकि सक्यो । कात्तिक २२ गते सिम्ले फर्किने योजना छ । विद्यार्थीलाई फोनबाट कुरा गर्छु । त्यहाँ भई रहेको गतिविधिबारे जानकारी प्राप्त भईरहेको छ । विदाको बेला विद्यार्थीले विद्यार्थीलाई सिकाउँदै छन् । आफ्नै छिमेकी साथी प्रति विश्वास बढेको छ । यो कुराले मलाई भने निकै खुसि तुल्याएको छ । हामीलाई शिक्षकले भनेको कुरा ईश्वरको वाणी जस्तै लाग्छ । तर त्यहि कुरा साथीले या कसैले भन्दा वा सिकाउँदा हामीलाई  अपत्यारिलो लाग्छ । हो,यहि मानसिकताको अन्त्य गर्न सकिन्छ कि भन्ने मेरो उदेश्य थियो ।

सिक्ने कुरा हाम्रा हजुरबा आमासँग कती छन् कति तर हामी त्यसलाई नजर अन्दाज गर्छाैं । साथीले सिकाउँदा आफुलाई कमजोर महशुस गर्छाैं ।  हामी अरुलाई सिकाउन पनि चाहाँदैनौं । सिक्न पनि चाहाँदैनौ र त  हामी जीवन भर पछाडि पर्छाैँ । विद्यार्थी यस्तो संकुचित मानसिकबाट माथि उठ्न सकुन् मेरो मनसाय यहि हो ।

...

विद्यार्थीलाई जिम्मेवारी दिनु पर्ने रहेछ । जिम्मेवार हुन सक्नेहरु नै नेता हुन् । विद्यार्थीको विकासका लागि शिक्षकले अवसरको वातावरण जुराइ दिनु पर्ने रहेछ । कुनै कुरा सिक्नको लागि शिक्षकको विकल्पका रुपमा उस्को छिमेकी साथी पनि हुन सक्छ । दाई दिदी हुन सक्छन् । सोध्न र सिक्न सक्छन् । विद्यार्थी शिक्षक अवधारणाले एक अर्का प्रति विश्वासको वातावरण निर्माण गर्न सक्छ ।

साना विद्यार्थीलाई अरुको अगाडि गएर पढाउन सक्ने बन्नु पर्छ भन्ने संस्कारको विकास गर्न पनि सहयोग गर्छ । त्यस्तै ठुला कक्षाका विद्यार्थीलाई साना कक्षाका भाईबहिनीले सोधेको जवाफ दिनु पर्छ । सिकाउनु पर्छ । खोज गर्नु पर्छ भन्ने भावनाको विकास गराउन सकिन्छ । सिकाई प्रक्रियामा दुवैलाई सक्रियरुपमा सहभागी गराउनका लागि विद्यार्थी शिक्षक अवधारणाले सहयोग गर्न सक्छ भन्ने मेरो ठम्याइ हो । विद्यार्थीको नेतृत्वले मलाई निकै खुसि बनाएको छ ।

(देवकोटा सामुदायिक विद्यालयको सिकाइ सुधार अभियानमा कृयाशिल संस्था टिच फर नेपालका फेलो हुन् । उनी चण्डेश्वरी माध्यमिक विद्यालय, प्युटार, ललितपुरमा गणित विषय पढाउँछन् ।)

प्रतिक्रिया