Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

मेडिकल कलेजलाई बाटो खुल्यो

सोमबार, १५ कार्तिक २०७३

काठमाडौं १५ कात्तिक/वन मन्त्रालयले रूख कटानी अनुमति दिएपछि चार वर्षदेखि अल्झिएको मेडिकल कलेज निर्माण अघि बढाउन बाटो खुलेको छ । मेडिकल कलेजका लागि कैलालीको गेटामा छुटयाइएको ५१.८ हेक्टर क्षेत्रमा रहेका ४ सय ५३ वटा रूख काट्न सकिने भएपछि पूर्वाधार निर्माण अघि बढाइँदै छ ।

‘वातावरण प्रभाव मूल्यांकनमा भएको ढिलाइले निर्माण कार्य अनिश्चित बनेको थियो,’ पूर्वाधार विकास समिति सदस्य हेमराज पुजाराले भने, ‘मन्त्रालयले अनुमति दिएपछि निर्माण अघि बढाउन सकिने भएको छ, रूख काट्न थलिसकेका छौं ।’ मंसिर मसान्तसम्म रूख काटेर जग्गा खाली गरेपछि भौतिक संरचना निर्माण थालिने उनले जानकारी दिए ।
रूख काट्ने ठेक्का समिता ट्रेड एन्ड सप्लायर्सले लिएको छ । विकास समितिका अनुसार मंसिरलगत्तै कलेजको भौतिक निर्माण सुरु हुनेछ । सदस्य पुजाराले भने, ‘तत्काल २ वटा भवन बनाउन टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।’
यस वर्ष ३ सय शय्याको अस्पताल र कलेज भवनका लागि टेन्डर हुँदै छ । सरकारले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्रीले दशरथ चन्द स्वास्थ्यविज्ञान प्रतिष्ठानका नाममा बजेट विनियोजन गरे पनि नाम निक्र्योल भइनसकेको समितिले जनाएको छ ।
२०६६ सालमा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । पूर्वाधार निर्माण गर्न नसक्दा निजी घर भाडामा लिएर प्रशासनिक कामकाज चलाइएको छ । अघिल्लो आवमा प्रशासनिक भवनका लागि १३ करोड र बाटो निर्माणका लागि ४ करोड रुपैयाँको ठेक्का सम्झौता गरिए पनि समयमा रूख नकाटिँदा बजेट ‘फ्रिज’ भएको थियो ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया