Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

न फर्निचर न शिक्षक

आइतबार, १४ कार्तिक २०७३

काठमाडौं १४ कात्तिक /धूलाम्य कोठा, भुइँमा बसाइँ र किताब, कापी, न शिक्षक, विद्यार्थी संख्यामा पनि १० भन्दा कम । यो अवस्था हो सप्तरीको विकट मौवाहा बेल्ही ५ स्थित सलहेस दलित राष्ट्रिय प्राथमिक विद्यालयको ।

२०६१ मा स्थापित विद्यालयमा अध्ययन गर्न अउने विद्यार्थीहरू घरबाटै बोरा लिएर आउनुपर्ने बाध्यता छ । डेस्क–बेन्च नभएका कारण भुइँमै बोरा राखेर पढ्नुपर्ने कक्षाकोठा पनि फोहोरैफोहोर छ । सफाइ र विद्यालयको सुधारका लागि न त शिक्षा कार्यालयको ध्यान पुगेको छ न स्थानीयवासी र विद्यालय प्रशासनको ।
बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा कुल १ सय ९ जना विद्यार्थी रहे पनि उपस्थिति भने १० जना मात्रै हुने गरेको हाजिरी रजिस्टरले पुष्टि गरेको छ । कक्षाकोठाको अभावका कारण ३ वटा कक्षा एउटै कोठामा चलाउनुपरेको प्रअ बालेश्वर यादवले बताए ।
दरबन्दीका शिक्षक यादव मात्रै हुन् । एक जना कार्यालय सहयोगी र एक जना बालविकास हेर्ने गरी जम्मा ३ जना कार्यरत छन् । फोहोर भुइँमा विद्यार्थी अध्ययन गर्न आउँदा सधैं बिरामी पर्ने गरेको स्थानीय उपेन्द्र पासवानले भने ।टिफिनपछि विद्यालयमा विद्यार्थी आउने गरेका छैनन् । सोमबार उक्त विद्यालयमा पुग्दा १० जना विद्यार्थी थिए । अरू विद्यार्थी टिफिनपछि नआएको प्रधानाध्यापक यादवले बताए । प्रअ यादव, बालविकास हेर्ने र कार्यालय सहयोगीले विद्यार्थीलाई पढाउने गरेका छन् ।
शौचालयको भवन भए पनि सञ्चालनमा नहँुदा विद्यार्थीहरू विद्यालयछेउ खुला स्थानमै दिसापिसाब गर्छन् । यसले दुर्गन्ध फैलिएको छ । विद्यालयको बोर्ड एउटा कुनामा राखिएको छ । बाटोछेउमै विद्यालय रहेका कारण दैनिक चल्ने सवारी साधन र सर्वसाधारणको आवतजावतले विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ ।
‘न शिक्षा कार्यालयबाट बजेट आउँछ न त विद्यालयको आफ्नै सम्पत्ति छ, कसरी सुधार्नु ?’ प्रअ यादवले भने । स्थानीय बासिन्दाले भने विद्यालयको नाममा सरकारी स्तरबाट आउने बजेट खर्च नगरी प्रअ यादवले आफंै राख्ने गरेको आरोप लगाए ।
अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयको बेथितिबारे स्थानीयहरूले समेत चासो नराख्ने गरेको प्रधानाध्यापक यादवले आरोप लगाए । ‘म आएपछि बजेट आएको छैन,’ प्रअ यादवले भने, ‘मभन्दा अघिका प्रधानाध्यापकले आएको बजेट केमा खर्च गरे त्यो हिसाब दिएनन् ।’ यादव एक वर्षअघि उक्त विद्यालयमा प्रअ भएर आएका हुन् ।
स्थानीय उपेन्द्र पासवानले विद्यालयमा पढाइ नहुने गरेका कारण विद्यार्थी पनि नआउने गरेको बताए । ‘शिक्षक पनि समयमा आउँदैनन्, विद्यार्थी पनि पढाइको वातावरण नहुँदा आउँदैनन्,’ उनले भने, ‘शिक्षकले समयमा तलब पाएकै छन् दलित विद्यार्थीको पढाइ भने चौपट छ ।’ ‘पैसा भएकाहरू त बोर्डिङ स्कुलमा आफ्ना विद्यार्थी पढाउँछन् तर गरिब दलितका बालबालिका अध्ययन गर्ने विद्यालयको भौतिक सुधार र पढाइको स्तर उकास्न कसैको ध्यान जान सकेको छैन,’ पासवानले भने ।
‘सय मिटर दक्षिण भारतीय विद्यालयको भौतिक अवस्था र पढाइको स्तर हेर्दा उतै बालबालिका पढ्न पठाउनुपर्छ जस्तो लाग्छ,’ पासवानले भने, ‘तर के गर्ने उता भर्ना लिँदैनन्, हाम्रो विद्यालयमा भने पढाइ चौपट छ ।’
अवधेशकुमार झाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया