Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा

शनिबार, १३ कार्तिक २०७३

काठमाडौं १३ कात्तिक / जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई सरुवा गर्ने भएको छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यस्तो रणनीति अघि सारिएको हो । पायक पर्ने विद्यालय रोजेर काम गर्दै आएका शिक्षकको कार्यक्षमता मापन गर्ने र जिम्मेवारी पूरा गर्न नसके त्यस्ता शिक्षकलाई कारबाहीस्वरूप सरुवा गरिने शिक्षा कार्यालयले जनाएको छ ।

केही दिनअघि मात्र शिक्षा कार्यालयमा हाजिर भएका नयाँ जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले अब तोकिएको जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई कारबाही गरिने चेतावनी दिए । 'शिक्षा कार्यालयले सबै विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्झौता गर्नेछ, तोकिएको सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने प्रअलाई अर्को विद्यालयमा सरुवा गर्नेछौं । अब आफूलाई पायक पर्ने विद्यालय रोजेर कसैले पनि जागिर पाउने छैनन्', उनले भने, 'जिम्मेवारी पूरा गर्न नसक्नेलाई कारबाही गर्नेछौं ।' तिहारलगत्तै सबै प्रधानाध्यापकसँग शिक्षा कार्यालयले कार्यसम्झौता गर्ने तयारी गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, सिकाइ उपलब्धि, विद्यार्थीको टिकाउ दर, शैक्षिक वातावरण निर्माण, विद्यालयमा शिक्षकको नियमिततालगायतका विषयमा शिक्षा कार्यालयले प्रअसँग सम्झौता गर्नेछ । सम्झौताअनुसार प्रधानाध्यापकले काम गर्नुपर्नेछ । प्रधानाध्यापकले पनि आफू कार्यरत विद्यालयका शिक्षकसँग कार्यसम्झौता गर्नेछन् । तोकिएको अवधिमा सम्झौताअनुसार नतिजा निकाल्न नसक्ने प्रअ र शिक्षकलाई शिक्षा कार्यालयले कारबाहीस्वरूप अर्को विद्यालयमा सरुवा गर्नेछ ।

यस किसिमको व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने र शिक्षकको कार्यक्षमतामा पनि वृद्धि हुने कार्यालयको दाबी छ । 'पायक पर्ने विद्यालयमा दरबन्दी मिलाउने, तर शैक्षिक गुणस्तरको सुधारमा ध्यान नदिने प्रवृत्ति हाबी भयो', जिशिअ शाहले भने, 'अब जसले सम्झौताअनुसार नतिजा निकाल्छन्, उनीहरु ढुक्क हुनेछन् । जसले दिएको जिम्मेवारी पूरा गर्न सक्दैनन्, उनीहरूलाई हामी अन्यत्रै सरुवा गरिदिनेछौं ।'

यस्तै शिक्षा कार्यालयले जिल्लाको शैक्षिक विकास एवं गुणस्तर सुधारका लागि विभिन्न योजना अघि सारेको छ । कार्यालयले अब शिक्षक, अभिभावक र विद्यार्थीबीच संयुक्त छलफल गरेर विद्यालय शिक्षाबारे सुझाव संकलन गर्नेछ । त्यसैगरी विद्यालयमा विद्यार्थीलाई टिकाउन नयाँ रणनीति निर्माण गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयलाई अब मंसिरभित्रै अपाङ्गमैत्री बनाइने कार्यालयको भनाइ छ ।

कार्यालयमा कार्यरत सबै कर्मचारीको कार्यविभाजन गरिएको जिल्ला शिक्षा अधिकारी शाहले बताए । उनका अनुसार अब नमुना विद्यालयको विकासका लागि पनि पहल थालिनेछ । विद्यालयका साना बालबालिकालाई सार्वजनिक कार्यक्रममा उत्ताउला गीतमा नचाउने गरिएको र यसले बालमस्ष्तिकमा नकारात्मक प्रभाव पारेकाले यो कार्यलाई बन्द गरिने शिक्षा कार्यालयको भनाइ छ । बालमैत्री कक्षा निर्माणका लागि प्रयास भइरहेकोसमेत कार्यालयले जनाएको छ ।

शिक्षाक्षेत्रमा धेरै विकृति रहेकाले सबैको प्रयास एवं समन्वयबाट समाधान गर्न सकिने जिशिअ शाहले बताए । तलब लिने तर विद्यालयमा नजाने शिक्षकलाई कार्यालयले विशेष निगरानीमा राखेको उनको भनाइ छ । विद्यालयमा मदिरा सेवन गरेर जाने, नियमित विद्यालयमा हाजिर नहुने र बालबालिकालाई यातना दिने शिक्षकलाई कडा कारबाही गरिने उनले चेतावनीसमेत दिए ।

मंसिरभित्र सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन भइसकेको र तोकिएको मितिमा गठन नगर्ने विद्यालयको सेवासुविधा रोक्का गरिने उनको भनाइ छ । करार शिक्षक नियुक्तिमा पनि चलखेल हुने गरेको भन्दै कार्यालयले अब योग्य शिक्षकलाई भित्र्याउन परीक्षा प्रणालीमा पारदर्शिता अपनाइने जानकारी दिएको छ ।
ललितबहादुर बुढाले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया