Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शैक्षिक सुधारका लागि १० बुँदे संकल्प प्रस्ताव

शनिबार, १३ कार्तिक २०७३

काठमाडौं १३ कात्तिक / जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि १० बुँदे संकल्प प्रस्ताव पारित गरिएको छ । पेसागत महासंघ नेपाल र साना किसान सहकारी लिमिटेड देउरीको सहयोगमा जिल्ला शिक्षा कार्यालय विद्यालय निरीक्षण क्षेत्र नं. २ उदयपुरले आयोजना गरेको ‘विगत कार्यक्रमको समीक्षा र हाम्रो विद्यालय राम्रो विद्यालय’ कार्यक्रममा यस्तो संकल्प प्र्रस्ताव पारित गरिएको हो ।

पारित प्रस्तावमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, देउरी स्रोत केन्द्रअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, आमा समूहका अध्यक्ष र अन्य सरोकारवाला निकायले हस्ताक्षर गरेका छन् ।

प्रस्तावमा सेवा क्षेत्रभित्रका प्रत्येक टोलमा आमा समूह/टोल शिक्षा समिति गठन गरी अभिभावकलाई शैक्षिक अभियानमा अग्रसर गराउने, विद्यालयमा नीति, विधि र प्रविधिको प्रयोग भित्र्याउने, आवश्यकताअनुसार अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने रहेका छन् ।
कक्षा रमाइलो बनाउने उपायको खोजी गर्ने, छलफल चलाउने र नमुनायोग्य कार्यको थालनी गर्ने, विद्यालय सुधार योजनामा उल्लिखित लक्ष्यहरू पूरा गर्न जिम्मेवारी बाँडफाँड गरी टिम परिचालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, सरोकारवालासँग छलफल गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने, अनुगमन, मूल्यांकन र सुपरीवेक्षणको कामका आधारमा सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने पनि प्रस्ताव रहेको छ ।

सिकाइ उपलब्धि वृद्धि गर्न विषयगत छलफल, गोष्ठी, शैक्षिक सामग्री निर्माण, विषयगत कक्षा निर्माण, वर्षेडाँडा घोषणापत्र–२०७०, उदयपुर शैक्षिक मार्गचित्र र हातेमालो अभियान गाईघाटका उपयोगी कुरा लागू गर्ने, नयाँ प्रविधिको विकास र खोजी गर्ने प्रस्ताव संकल्पमा समेटिएका छन् ।

तत्काल कार्यान्वयनको प्रतिबद्धता
समेटिएका प्रस्तावलाई तत्काल कार्यान्वन तहमा लैजाने प्रतिबद्धता जनाइएको छ । पारित प्रस्तावलाई कार्यान्वयन गर्न सके जिल्लाको खस्कँदै गएको शिक्षालाई गुणस्तरीय बनाउन सकिने आयोजक संस्थाका संयोजक विद्यालय निरीक्षक जसबहादुर कार्कीले बताए ।

‘टोलटोलमा आमा समूहको सेवा गुणस्तरीय शिक्षाका लागि टेवा’ भन्ने मूल नाराका साथ ०७० देखि यो अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । अभियान सञ्चालन यता विद्यालय शिक्षामा व्यापक सुधार आएको सहभागी विद्यालयका प्रधानाध्यापकले बताए ।

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले शिक्षालाई गुणस्तरीय बनाउन भएका स्रोतसाधनको भरपुर सदुपयोग, शिक्षासम्बन्धी बनेका नीति–नियम तथा ऐनको अध्ययन, शैक्षिक सामग्रीको विकास, बाह्य वातावरण, अन्य जिल्लाको सिकाइलाई व्यवहारमा उतार्नेलगायतका प्रतिबद्धता जनाएका थिए ।

कसले के भने ?
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले व्यवस्थापनमा सुधार गर्न सके मात्र गुणस्तरीयता कायम गर्न सकिने बताए । उनले प्रधानाध्यापक हुनुअघि विद्यालयका यी काम गर्न सक्छौ या सक्दैनौ यदि सकेनौ भने पदमुक्त गराइनेछजस्ता प्रतिबद्धता गराउन सकिए सुधार गर्न सकिने बताए । बढ्दो ट्रेड युनियनको हस्तक्षेपका कारण पनि शिक्षा क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

कार्यक्रमको सहजीकरण गर्दै पूर्वसांसद एवं एमाले नेता गुरु बरालले थोरै सुधारले शिक्षामा व्यापक परिवर्तन ल्याउन सकिने बताए । उनले स्रोतसाधन नभएर निराश हुनुभन्दा पनि भएका स्रोतसाधनको प्रयोग गर्न सके उपलब्धि हासिल गर्न सकने स्पष्ट पारे । कविर माध्यमिक विद्यालय बेलबारी मोरङका अध्यक्ष नरेन्द्र बराल, हिमालय उच्च माध्यमिक विद्यालय दमक झापाका सहायक प्राचार्य ओम आचार्य र सजिलाल उच्च माविका प्रअ नारायण घिमिरेले आफ्नो विद्यालयमा भएका प्रगति सुनाएका थिए ।

नमुना विद्यालयका रूपमा रहेका ती विद्यालयले आफू नमुना हुन, गुणस्तरीयता कायम गर्न अपनाएका विधि, पद्धति, भइरहेका प्रयास, आगामी कार्ययोजनाबारे जानकारी दिएका थिए । कार्यक्रममा विद्यालयका प्रअ, अध्यक्ष तथा आमा समूहले आ–आफ्ना समस्या राखेका थिए ।

भरत खड्काले नयाँ पत्रिकामा लेखेको खबर ।

 

प्रतिक्रिया