Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकका माग नियमावली पछि मात्रै, महासंघका अध्यक्ष विरामी हुँदा वार्ता रोकियो

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं - शिक्षा नियमावली विना अस्थायी शिक्षकका माग पुरा नहुने भएको छ । आन्दोलरत अस्थायी शिक्षक तथा शिक्षा मन्त्रालयविच वार्ता जारी रहेका बेला विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसडीपीका बारेमा जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री धनिराम पौडेलले अस्थायी शिक्षकको ब्यवस्थापनका लागि शिक्षा ऐनले नै ब्यवस्था गरेको हुँदा सोही अनुसार हुने बताएका हुन् ।

'अस्थायी शिक्षकलाई नियमावली पछि मात्रै सम्बाधेन हुन्छ' उनले भने ।

आन्दोलनरत शिक्षकका माग पुरा गर्न आफू र मन्त्रालय गम्भिर रहेको बताउँदे मन्त्री पौडेलले ऐन कार्यान्वयन गर्न अस्थायी शिक्षक पनि प्रतिवद्ध हुनु पर्ने बताए ।    

'ऐनले निर्देश गरिसकेको विषयलाई सिधै विज्ञापन गरिदिए भै हाल्छ भन्ने एउटा पक्ष छ' उनले भने 'अर्को पक्ष नियमावली नबनीकन कार्यान्वयन गर्न जटिलता रहेको कारणले नियमावली सम्म बनाउँ भन्ने पनि छ ।'

नियमावली बन्न ढिलो होलाकी भन्ने आशंका पनि देखिएकोले बरु नियमावली चाँडो बनाउन तिर लागेको उनले बताए । प्रारम्भिक ड्राफ्ट तयार भएको र तोकिएको समयमा नियमावली आउने उनको दावी छ ।

मन्त्री पौडेलद्धारा सार्वजनिक ६ महिने कार्ययोजनामा कात्तिक २५ गते भित्र नियमावली ल्याउने प्रतिवद्धता छ । तर नियमावली निर्माणका चरणमा देखिएका अस्थायी शिक्षक, विद्यालय कर्मचारी, प्रारम्भिक बाल विकासका जनशक्ति ब्यवस्थापन लगायतका विषयमा अझै नटुङ्गिदाँ नियमावली निर्माण धकेलिदैं गएको छ ।

पढ्नुहोस् :  धकेलिदैं शिक्षा नियमावली, मन्त्री र कर्मचारीको तालमेल मिलेन

अस्थायी शिक्षकहरुको माग वार्ताबाटै समाधान गर्न शिक्षक महासंघ, अस्थायी शिक्षक संघर्ष समिति र मन्त्रालय विच चरणवद्ध रुपमा त्रीपक्षीय वार्ता जारी रहेको मन्त्री पौडेलले बताए । पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बताए पनि शुक्रबार अर्को चरण बस्ने गरी २ चरण सम्म भएको वार्ता फेरी हुन भने सकेन ।

शिक्षक महासंघका अध्यक्ष केशव निरौला अस्वस्थ भएकोले वार्ता हुन नसकेको हो । विहानको वार्तामा सहभागि भएका निरौला दिउँसो हुने भनिएको वार्तामा भने सहभागि भएनन् ।

निरौला विरामी भएर अस्पताल गएको खबर आएकोले वार्ता हुन नसकेको समितिका अध्यक्ष निरेन्द्र कुवँरले बताए । 'महासंघका प्रतिनिधि विना वार्ताको औचित्य छैन भन्ने हाम्रो पुरानै कुरा हो, त्यसैले आज केही निष्कर्षमा पुग्न सकिएन ।' उनले भने ।

केही दिन देखि खुट्टामा भएको समस्याका कारण आफू उपस्थित हुन नसकेको निरौलाले बताए ।

'मेरो खुट्टामा खिल पल्टेको थियो केही दिन अघि सामान्य अप्रेसन गरेको आज फलोअपको दिन थियो' उनले भने 'डाक्टरलाई भेट्न आउँदा फेरी अप्रेसन गर्नु पर्छ भने ।'

यो संगै तिहार विदा परेकोले अस्थायी शिक्षकको माग पुरा हुने दिन पनि धकेलिएको छ ।

अस्थायी शिक्षकको समस्या समाधानका लागि शिक्षा ऐनले अवकासमा जानेकी सुविधा लिने भन्ने बारेमा गरेको विकल्पले आफूहरुलाई अन्याय गरेको अस्थायी शिक्षकहरुल बताउँदै आएका छन् । परीक्षामा सहभागि हुने र पास नभए पनि पछि अवकासको योजना पाउनु पर्ने, औषधोपचार खर्च पाउनु पर्ने लगायतका माग सहित अस्थायी शिक्षक आन्दोलनमा छन् ।

प्रतिक्रिया