Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

मानक नेपाली भाषाको अन्तर्राष्ट्रिय सञ्जाल

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं १२ कात्तिक / नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताविरुद्ध मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने भन्दै राजधानीमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको छ । सञ्जालले नेपाली भाषामा हाल देखिएको अराजकतालाई रोक्ने घोषणा गरेको छ ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलको अध्यक्षता गठित सञ्जाल ६३ सदस्यीय छ । त्यसमा त्रिवि, नेपाल संस्कृत र मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, पत्रकार, कानुन व्यवसायीलगायत क्षेत्रबाट समेटिएको छ । सञ्जालमा नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतम सल्लाहकार छन् ।

शिक्षा मन्त्रालयको निर्णयपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको नेपाली विषयको पाठ्यपुस्तक नयाँ हिज्जेअनुसार प्रकाशन गर्दै आएको छ । विद्यालयका शिक्षक अन्योलमै बालबालिकालाई पढाइरहेका छन् । भाषाविद् र प्राध्यापकबीच विवाद चुलिँदै गएपछि त्यो विषय सतहमा आएको छ ।

‘अहिलेको परिवर्तन बालबालिकाका लागि मात्रै गर्न खोजेको देखिन्छ । तिनै बालबालिकाले कलेज टेकेपछि अर्कै हिज्जे पढ्नै पर्छ,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘सरललाई जटिल बनाउने, कलिलो मस्तिष्कमा वितृष्णा जगाउने काम भएको छ ।’

त्रिवि नेपाली केन्द्रीय विभागले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको वर्णविन्यास विवादास्पद भन्दै खारेजको निर्णय गरेको छ । ‘२०६६ सालमा त्रिवि अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्ष प्रा.डा. हेमाङ्गराज अधिकारीले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको प्रकाशनका क्रममा विषय समितिमा वर्णविन्यासबारे छलफल नै नगराई निर्णय भएको भनेर साझा प्रकाशनबाट पुस्तकाकार रूपमा प्रकाशित गरेको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई खारेज गर्ने निर्णय गरेको छ,’ विभाग प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको अध्यक्षतामा भएको निर्णयमा छ, ‘उक्त शिक्षण निर्देशिकामा उल्लेख भएको वर्णविन्यासबारे २०६९ सालमा केही परिमार्जन गरी प्रस्तुत गरेको वैकल्पिक प्रस्तावलाई पनि विभागको बैठकले संशोधन–परिमार्जन गरेको छ ।’

नेपाली भाषाबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकाले शिक्षा मन्त्रालयले बोल्न सकेको छैन । तर, सरोकारवाला पक्षले भाषालाई निर्णय र लहडमा नभई साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् । गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ मानक भाषा आवश्यक रहेको बताउँछन् । ‘नेपाली भाषाप्रति चासो र चिन्ता छ भने राजनीतिक दलजस्तै विभाजित हुनुपर्ने किन ?’ प्राज्ञिकहरू भाषाको नाममा विभाजित हुँदा परिणाम उल्टो हुने उल्लेख गर्दै श्रेष्ठले भने, ‘एकरूपताका निम्ति एकजुट होऔं ।’

गणेश राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया