Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

नतिजा निस्कने बेला उत्तरपुस्तिका जाँच !

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं १२ कात्तिक / राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा ११ को नतिजा प्रकाशन गर्नुपर्ने बेलामा बल्ल उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ ।

परीक्षा गत जेठ २–१२ मा चलेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक गरेको शैक्षिक कार्यतालिकाअनुसार कक्षा ११ को नतिजा कात्तिक मसान्तमा सार्वजनिक गर्नुपथ्र्यो । एनईबीका अनुसार जेठमा लिएको परीक्षाको उत्तरपुस्तिका दसंैअघिबाट परीक्षण सुरु भएको हो ।

 कक्षा ११ मा ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी छन् । नतिजा आउनुपर्ने बेलामा परीक्षा सकिएको ६ महिनापछि मात्रै उत्तरपुस्तिका परीक्षण हुनुले एनईबीको कार्यशैली छर्लङ्ग भएको छ । कक्षा १२ को नियमित र आंशिकको नतिजा प्रकाशन, मौका परीक्षाको तयारी, सञ्चालन र नतिजाको तयारीले गर्दा ११ कक्षाको ढिलाइ हुने गरेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए । ‘१२ कक्षाको मौका परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै कक्षा ११ को आशिंक परीक्षार्थीको नतिजा सार्वजनिक गर्छौं,’ उनले भने, ‘नियमितको अलि ढिलो हुन्छ ।’

कक्षा १२ पास भएर ११ मा अनुत्तीर्ण विद्यार्थी नतिजा ढिलाइ हँुदा स्नातक तह अध्ययन गर्ने अवसरबाट वञ्चित हुन्छन् । गत पुस अन्तिममा नतिजा सार्वजनिक हुँदा स्नातक तह अध्ययन गर्न पाएनन् । ‘त्यसैले यस वर्ष पार्सिएलतर्फको नतिजा चाडै गर्ने तयारीमा छौं,’ अर्यालले भने ।

कार्यकालिका अनुसार वैशाख दोस्रो साता लिएको कक्षा १२ को परीक्षाको नतिजा साउन मसान्तमा सार्वजनिक गर्ने र वैशाख मसान्तमा लिएको कक्षा ११ को परीक्षाको नतिजा कात्तिक मसान्तमा गर्ने उल्लेख छ । ‘परीक्षा मात्रै लिएर हुँदैन,’ अर्यालले भने, ‘परीक्षण, सम्परीक्षणलगायत सबै प्रक्रिया पूरा गर्दा ढिलाइ हुन्छ ।’

एनईबीले कक्षा १२ विज्ञान संकायको परीक्षाफल साउन अन्तिममा र अरू संकायको भदौ अन्तिममा सार्वजनिक गरेको थियो ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया