Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

थोरै विद्यार्थी हुने विषयमा त्रिविले पढाउन नदिने

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं १२ कात्तिक / त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायले विद्यार्थी कम हुने विषय सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ । थोरै–थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा समस्या भएपछि त्रिविले १० जनाभन्दा कम हुने विषयमा सबै क्याम्पसमा सञ्चालन नगर्न सर्कुलर गरेको हो ।

त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले स्नातक र स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएमा धेरै क्याम्पसको एकै ठाउ“मा पढाउन सर्कुलर भएको बताए । डिन पोखरेलले भने, ‘१० जनाभन्दा कम विद्यार्थीले आवेदन फाराम भरेमा त्यो फाराम डिन कार्यालयमा पठाउन भनेका छौँ, जुन विषय अध्ययनका लागि फाराम भरेका छन्, त्यसका लागि उपयुक्त क्याम्पसको छनोट डिन कार्यालयबाट हुन्छ ।’

नेपाली र अंग्रेजी विषयमै समस्या
स्नातकोत्तर तहमा उपत्यकाका कतिपय क्याम्पसमा नेपाली अंग्रेजीलगायतका विषयमा नै अति कम विद्यार्थी रहेका छन् । त्रिविका उपत्यकाका सबै आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गर्ने विषयमा अध्ययन गर्न गठिन समितिले गरेको स्थलगत अध्ययनअनुसार तीन–चारजना विद्यार्थी मात्र पढाइरहेको समेत पाइएको थियो । रिपोर्टअनुसार सरस्वती क्याम्पसमा स्नातकोत्तर तहमा प्रथम वर्षमा अंग्रेजीमा ६ जना, नेपालीमा तीनजना, मानवशास्त्रमा पाँचजना रहेको पाइएको छ ।

त्रिचन्द्र क्याम्पसमा नेपालीमा तीनजना, राजनीतिशास्त्रमा चारजना अध्ययन गरेको पाइएको छ । मानविकी तथा सामाजिकशास्त्र पढाइ हुने क्याम्पसमा स्नातकोत्तर तहका विभिन्न विषय चलाएका विभिन्न विषयमा समस्या देखिएको छ । सो अध्ययन समितिले समेत थोरै विद्यार्थी भएका विषयको स्वीकृति सबै क्याम्पसमा दिन उचित नहुने सिफारिस गरेको थियो । त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. दानराज रेग्मीको संयोजकत्वमा त्रिविका सहप्राध्यापक ताराप्रसाद भुसाल र उपप्राध्यापक विष्णु केसी सदस्य रहेको कमिटी गठन भएको थियो ।

सिफ्ट पनि गाभिने
त्रिविको एउटै क्याम्पसले तीन सिफ्टसम्म कक्षा सञ्चालन गर्दै आएका छन् । थोरै विद्यार्थी भएका विषय धेरै सिफ्ट नचलाउन डिन कार्यालयले सर्कुलर गरेको छ । एउटै क्याम्पसमा विद्यार्थी कम भए पनि एउटा विषयमा दुई–तीन सिफ्ट चल्ने र जनशक्ति व्यवस्थापनमा समस्या भएपछि यस्तो सर्कुलर भएको हो ।

भाषा विषयमा विद्यार्थी न्यून
अहिले मानविकी संकायका भाषा पढाइ हुने विषय र अरू केही विषयमा विद्यार्थी संख्या धेरै न्यून हुँदै गइरहेको छ । नेपाल भाषा, हिन्दी, उर्दूलगाएतका भाषा तथा इतिहास, भूगोल, संस्कृत, राजनीतिशास्त्रलगायतका विषयमा विद्यार्थी संख्या निकै कम हुँदै गएको छ ।

धेरै क्याम्पसले थोरै–थोरै विद्यार्थी पढाउँदा भौतिक पूर्वाधार धेरै खपत हुने र जनशक्ति व्यवस्थापनमा समेत समस्या परेको त्रिविका अधिकारीको भनाइ छ । त्यसका लागि मानविकीका विषय पढाई हुने सबै आंगिक क्याम्पसलाई सर्कुलर गरेको डिन पोखरेलले बताए ।

एकदमै न्यून विद्यार्थी हुने विषय एक ठाउँमा पढाउँदा त्रिविलाई धेरै कुरामा फाइदा हुने त्रिविका अधिकारीको भनाइ छ । व्यवस्थापकीय समस्या नहुने र आर्थिक हिसाबले पनि फाइदा हुने बताइएको छ ।

‘एउटै क्याम्पसमा सबै विषय पढाउनुपर्छ भन्ने छैन,’ डिन पोखरेलले भने, ‘थोरै–थोरै विद्यार्थी हुने विषयको पढाइ एउटै क्याम्पसमा पढाउन सकेमा थोरै विद्यार्थीका लागि खपत हुने कक्षाकोठा नयाँ विषय र कार्यक्रमका लागि प्रयोग गर्न सकिन्छ ।’ उनले विद्यार्थी कम भएका ठाउँको जनशक्ति विद्यार्थी हुने ठाउँमा खपत गर्न सकिने बताए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।

प्रतिक्रिया