Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

नक्कली नियुक्तिपत्र बनाएका शिक्षककोे अनुसन्धान सुरु

विहीबार, ११ कार्तिक २०७३

काठमाडौं ११ कात्तिक / नक्कली नियुक्तिपत्र बनाएर धनुषाका केही शिक्षकले कार्य गरिरहेका आरोप लागिरहेको बेला ३२ जना राहत कोटाका शिक्षककोे अनुसन्धान प्रक्रिया जिल्ला प्रशासन कार्यालय धनुषाले अगाडि बढाएको छ । अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालय धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषामा केही दिन पहिला पत्राचार गरेका थिए । ‘शिक्षा कार्यालयकै अनुरोधमा हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका हौं,’ धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिप चापागाईंले भने । नियुक्तिका फाइलको अध्ययन अहिले भइरहेको उनले बताए ।

छानबिनमा परेका राहत शिक्षकमा धत्ताटोल प्राथमिक विद्यालय पिराडी–१३ का शिक्षकद्वय जगदीश राय, सुमित्राकुमारी यादव, जानकी राष्ट्रिय प्राथमिक विद्यालय महेन्द्रनगर–४ का मनोजकुमार यादव, रामगुरु कुल, सपही–२ का हरि पण्डित कुम्हार, कुर्था पाठशालाका दीलिपकुमार पासवान, रामजानकी प्राथमिक विद्यालय कटरैतका निलमदेवी यादव, मावि सोहनी मुजेलियाकाद्वय सुनिलकुमार साह, सरोजकुमारी राय, विश्वकर्मा राष्ट्रिय प्राथमिक विद्यालय बनिनिया भंगहाका द्वय सुरेश पण्डित र जिवछ यादव,  राष्ट्रिय पाथमिक विद्यालय बालाबाखरका जोगवीर यादव, राष्ट्रिय प्राथमिक विद्यालय, लक्ष्मीपुरका शिक्षकद्वय गंगाराम साह र मञ्जुलाकुमारी यादव, श्रीमावि मुजेलियाका निर्मलाकुमारी साह, पूजा गुप्ता र मीना कर्ण रहेका छन् ।

यसैगरी, छानबिनमा परेका अन्य राहत शिक्षकमा राष्ट्रिय प्राथमिक विद्यालय भोइलका ज्ञानी महतो र मुकेश राउत, राष्ट्रिय प्राथमिक विद्यालय सिकियाहीका गौरीशंकर यादव, जनजाति राष्ट्रिय प्राथमिक विद्यालय सिनुरजोडाका सुमित्रा देवी, कृष्ण राष्ट्रिय प्राथमिक विद्यालय कमलपुरका रामचन्द्र राउत, दिवसदीप प्राथमिक विद्यालय बैनगामाका विनिता यादव, प्रगतिशील माध्यमिक विद्यालय हथमुण्डाका मोेतीलाल यादव र नवीनकुमार महतो, गायत्रीपीठ गुरुकुल कुर्थाका जिवछीदेवी मण्डल, राष्ट्रिय प्राथमिक विद्यालय सुगा मधुकरहीका ललिताकुमारी यादव, राष्ट्रिय प्राथमिक विद्यालय जमुनियाका सुनिताकुमारी यादव, राष्ट्रिय प्राथमिक विद्यालय गोइयाहीका द्वय घुरनकुमार यादव, कविता यादव, देउराली माध्यमिक विद्यालय चुरेचाँदनीका ठकन मण्डल र राजदेव मण्डल र मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालय जनकपुरका पिंकी कुमारी साह रहेका छन् ।

शिक्षा कार्यालयले दुई चरणमा जिल्ला प्रशासन कार्यालयमा शिक्षकको फाइल पठाएको छ । पहिलो चरणमा १० जनाको र दोस्रो चरणमा २२ जनाको फाइल पठाएको जिल्ला शिक्षा कार्यालय धनुषाले जनाएको छ ।

नियुक्ति पत्रमा धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलको दस्तखत रहेको छ । नियुक्तिका लागि जिल्ला शिक्षा कार्यालय धनुषाबाट जारी पत्र र दस्तखतसमेत शंकास्पद देखिएकाले प्रशासनलाई पत्राचार गरेको धनुषाका उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झाले जानकारी दिएका छन् ।

तत्कालीन अधिकारी मण्डलले ५४ जनालाई राहत शिक्षकमा नियुक्ति दिएका थिए । मण्डलले गरेको नियुक्ति निकै विवादित थियो । सो नियुक्ति प्रकरणमा निकै व्यक्ति फस्ने सम्भावना रहेको प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार शिक्षा कार्यालयका कर्मचारीका अतिरिक्त विद्यालयका प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षको पनि प्रशासनले अनुसन्धान सुरु गरेको छ । शिक्षा कार्यालय धनुषाले सुरुमा दानीकान्त झाको संयोजकत्वमा छानबिन गरेको थियो ।
सुजितकुमार झाले राजधानीमा लेखेको खबर ।

प्रतिक्रिया