Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

विद्यालय बनाउन पाँच करोड संकलन

बुधबार, १० कार्तिक २०७३

बाग्लुङ् - २०७२ सालको भूकम्पले भत्काएको विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालयमा सञ्चालित महायज्ञबाट झण्डै ५ करोड रुपैंया संकलन भएको छ । महायज्ञका महासचिव डिल्लीराज गौतमका अनुसार महायज्ञबाट ४ करोड ९२ लाख ५१ हजार ८ सय ७० संकलन भएको छ ।

बुधबार भने २१ लाख ५५ हजार ८ सय ४३ संकलन भएको छ । यसमध्ये १८ लाख ७६ हजार ९ सय ४१ नगद र वाक्दान अन्तर्गत २ लाख ७८ हजार ९ सय २ संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यले बताए । दानपात्रबाट ७९ हजार ६ सय ४६ संकलन भएको छ ।

गोविन्दशरण र मीरादेवीले प्रवचन दिएका महायज्ञको समापनका अवसरमा प्रमुख अतिथि पूर्वराज्यमन्त्री ओमकार प्रसाद गौचनले आफ्ना पिता ओम प्रसाद गौचन र अर्का स्थापक मेघबहादुर वैद्यले त्यतिबेला निकै संघर्षका बिच विद्यालय स्थापना गरेको स्मरण गरे ।

महायज्ञको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले अब विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिई स्कुल नमूना बन्नुपर्ने बताए ।  समापन समारोहमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, समाजसेवी, दानदाता लगायतको उपस्थिति रहेको थियो ।

महायज्ञ अन्तर्गत सप्ताहव्यापी योग शिविर पनि सञ्चालन गरिएको थियो । शिविरको सुर्खेत जिल्लाका योग गुरु तिलक आचार्यले सहजिकरण गरेका थिए । महायज्ञ अन्तर्गतका पुर्नमिलन कार्यक्रम, शालिग्राम दर्शन, भजन कीर्तिन, झाँकी प्रर्दशन लगायतका कार्यक्रम पनि भएका भए ।

प्रतिक्रिया