भक्तपुर - बुधबार दिउँसो शिक्षा विभागको भुइँतल्लामा रहेको बैठककक्षबाट बाहिरिदैँ गर्दा महानिर्देशक बाबुराम पौडेलका आँखा छेउमै रहेको रिसेप्सन अर्थात् सोधपुछ कक्षमा ठोक्किए ! नजिकै पुगेर शिशाले घेरेको उक्त कक्षको प्वालबाट भित्र चिहाए, त्यहाँ कोही थिएन ।
घडी हेरे दिउँसोको करिब साढे १२ बजेको छ । कोही कर्मचारी नभेटेपछि उनले ‘यहाँ को छ ?’ भनेर सोधे । तर, भित्रबाट कसैले उत्तर फर्काएन ।
उनको अनुहारमा हैरानी झल्कन्थ्यो । विभागको मुल ढोका छिर्ने वित्तिकै त्यहाँ आउने सेवा ग्राही वा आगन्तुकको पहिलो सम्पर्क हुने ठाउँकै यो गती देखेपछि कार्यालय प्रमुख पौडेलका मनमा के उब्ज्यो होला ? अनुमान लगाउन कुनै गाह्रो भएन ।
देशभरका शिक्षाका निकायको नियमन गर्ने 'माउ अड्डाका हाकिम' पौडेलले त्यतिखेर आफू मातहतका अरु कार्यालय सम्झे सम्झेनन् उनै जानुन् । तर, बुधबार दिउँसोको यो घटनाले उनलाई झस्काएको भने हुनु पर्छ ।
उक्त कक्षको अघिल्तिरको खाली ठाउँमा यताउती टहल्दै गरेका हाकिमलाई देखेपछि भुइँतल्लाका अन्य शाखाका कर्मचारी झुम्मिए । हात जोड्दै नमस्कार गर्न ब्यस्त कर्मचारी तिर उति ध्यान नदिएका पौडेलका आँखा अझै पनि कसैलाई खोज्दै थिए ।
केही कर्मचारीले कुरा बुझे शायद । रिसेप्सनिष्टलाई फोन गरेर बोलाए । करिब ४ मिनेट पछि एक महिला कर्मचारी रातोपिरो हुँदै कक्ष भित्र प्रवेश गरिन् । ‘म केही कुरा सोधपुछका लागि आएको थिँए, शिशाको प्वालबाट चिहाएँ, बोलाएँ कोही थिएन’ रिसेप्सनिष्टलाई आफ्नो कक्ष नछोड्न निर्देशन दिदैं उनले भने ।
कार्यालय समयमा कर्मचारी आफ्नो ठाउँमा नबस्ने क्रम ब्याप्त भएको उनले ठम्याउनु र सोधपुछ कक्षबाट हाकिमले अनुगमन गर्न थालेको कर्मचारीले बुझ्नु शायद एकै पटक भयो । विभागका विभिन्न शाखाका कर्मचारीहरु हतार–हतार आआफ्नो कार्यकक्षमा छिरे र आआफ्ना कुर्चिमा बसे ।
पौडेल त्यसपछि आफ्नै कार्यालयका विभिन्न शाखाहरुमा पुगेर कर्मचारी ठीक ठाउँमा बसे नबसेको, काम भए नभएको बुझे ।
महानिर्देशक पौडेलको यो कृयाकलापलाई कर्मचारीले छड्केका रुपमा ब्याख्या गरेका छन् । विभागका विभिन्न शाखामा रहेका कर्मचारीहरु आआफ्नो कक्षमा नभएर अन्यत्रै व्यस्त हुने गरेको गुनासो आइरहेको बेला महानिर्देशक पौडेलले अनुगमन गरेको कर्मचारीहरुको भनाइ छ । ‘कर्मचारीहरु आआफ्नै तालमा हिँड्ने र बस्ने गरेका थिए, आज भएको छड्केले ठीकै गरेको छ’ एक कर्मचारीले भने ।
विभागको महानिर्देशक भएपछि पहिलो पटक गत असोज १३ गते पत्रकार सम्मेलन गर्दै उनले २५ बर्ष अघि निजामती सेवा प्रवेशको अनुभव सुनाएका थिए । उति बेला नेपालको शिक्षाको समस्या जे थिए महानिर्देशक हुँदा पनि तिनै समस्याका बारेमा कुरा गर्नु पर्दा दिक्क लागेको उनको भनाई थियो ।
पढ्नुहोस् : शिक्षा विभागको महानिर्देशक भएँ, समस्या चाँही शाखा अधिकृत हुँदाकै !
शिक्षाको मुद्धा पर्गेल्न सक्ने पौडेलले बुधबारको घटनाबाट कर्मचारीको काम गर्ने मानसिकता पनि पक्कै बुझे होलान् । उतिखेरका सरकारी कर्मचारीको थेगोमा परिवर्तन भयो होला, तर चरित्र भने उस्तै रहेछ भन्ने ठम्याउन सके भने मात्रै पनि शिक्षा मन्त्रालय अन्तर्गतका निकायको काममा चुस्तता आउनेमा कुनै शंका छैन ।
प्रतिक्रिया