Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

हरेक जिल्लामा सरकारी कलेज, शिलान्यासको अवसर जुट्ने प्रधानमन्त्रीको अपेक्षा

मंगलबार, ०९ कार्तिक २०७३

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले देशका ७५ वटै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । कञ्चनपुरको पूनर्बासमा कृषि क्याम्पस स्थापनाको माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको सर्वदलीय प्रतिनिधि मण्डलसँग  भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । यसपटक शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्नुपर्छ भन्ने लागेको छ' उनले भने, 'अहिलेसम्म देशका केही जिल्लामा मात्रै सरकारी कलेज छन् । सरकारले देशका ७५ वटै जिल्लामा कम्तिमा पनि एउटा सरकारी कलेज खोल्ने तयारी गरिरहेको छ । छिटै हामी निर्णयमा पुग्छौं ।’

कृषि शिक्षाको महत्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न नसकिने पनि बताएका छन् ।

'आज मात्रै मैले सिंहदरबारमा सचिव लगायतको टोलीलाई बोलाएर देशभर कृषि क्याम्पस स्थापना गर्न सकिने सम्भावनाको अध्ययन गर्न भनेको छु । कञ्चनपुरमा कृषि क्याम्पस स्थापनाका लागि तपाईहरुले खेलेको भूमिकाले सरकारको सोंचलाई पनि सहयोग गरेको छ । भोलि नै म अर्थ, शिक्षा, शहरी विकास लगायतका मन्त्रालयसँग छलफल गरी कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउँछु ।'

उनले छिटै प्रक्रिया अगाडि बढाएर क्याम्पसको शिलान्यास गर्ने अवसर जुट्ने अपेक्षा पनि गरे ।

भेटमा प्रतिनिधि मण्डलले सुदुरपश्चिमको समग्र विकासका लागि कृषि क्याम्पस अत्यावश्यक रहेको भन्दै कञ्चनपुरको पूनर्बासमा राष्ट्रिय आवास कम्पनिको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध हुने वातावरण बनाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधि मण्डलमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता लेखराज भट्ट, पूर्वसभासद् टेकेन्द्रप्रसाद भट्ट, माओवादी केन्द्रकी नेतृ बिना मगर, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाल लगायतको सहभागिता थियो ।

उक्त अवसरमा कृषिमन्त्री गौरीशंकर चौधरी समेत उपस्थित भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । मन्त्री चौधरीले कृषि क्याम्पस कञ्चनपुरको आवश्यकता रहेको भन्दै त्यसका लागि सबै ठाउँबाट मिलेर पहल गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया