Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

संकटमा सेमेस्टर

मंगलबार, ०९ कार्तिक २०७३

काठमाडौं ९ कात्तिक / कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) भूगोल केन्द्रीय विभागमा १४ शिक्षक छन् । उनीहरूले पढाउने विद्यार्थी एक जना पनि छैनन् । घट्दै गएर विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकहरूको जागिर ‘धराप’ मा परेको छ ।

यसअघि भर्ना भएका ६ जना विद्यार्थी परीक्षा दिएर थेसिस बुझाउने क्रममा छन् । नयाँ सत्रमा विद्यार्थी भर्ना हुन आउने/नआउने कुनै टुंगो छैन । त्रिविले ती शिक्षकलाई कुनै शोध–अनुसन्धान र काममा खटाउन सकेको छैन ।
इतिहास सबैको चासोको विषय हो । तर त्रिवि केन्द्री य विभागमा यतिखेर इतिहास पढ्ने विद्यार्थी २ जना मात्र छन् । पढाउने शिक्षक १२ जना छन् । विभाग प्रमुख प्राध्यापक शंकर थापा भने इतिहासको महत्त्वलाई कम आकलन गर्नु र विषयलाई काम नलाग्ने ठान्नु भूल हुने बताउँछन् । ‘इतिहास विषयमा विद्यार्थी विमुख बनाउने हामी होइनौं । राजनीतिक हस्तक्षेपको परिणाम हो यो,’ उनले भने ।
अर्कातर्फ मुलुकका झन्डै ७० वटा भाषाको शोध, अनुसन्धान र अभिलेखीकरणमा जुटेको त्रिवि केन्द्रीय भाषाविज्ञान विभागको भूमिका बढ्दो छ । तर, भाषाविज्ञान पढ्दै गरेका विद्यार्थी २ जना मात्र छन् ।
शिक्षकचाहिँ ११ जना छन् ।
नेपाली पढ्ने १८ विद्यार्थी छन्, पढाउने शिक्षक ३० जना । हिन्दी विषयमा ७ विद्यार्थी र ९ शिक्षक छन् भने संस्कृतमा ५ विद्यार्थी र ५ जनै शिक्षक छन् । मनोविज्ञानमा ३० विद्यार्थी र शिक्षक ८ छन् । राजनीतिशास्त्रमा ९ विद्यार्थी छन् । उक्त विषय पढाउन २६ दरबन्दीमा १० शिक्षक कार्यरत छन् । अरू अन्यत्र अवसरका निम्ति लाखापाखा छन् । संस्कृतिमा १८ विद्यार्थी र १० शिक्षक छन् । जनसंख्या विभाग प्रमुख प्राध्यापक रामशरण पाठकका अनुसार उक्त विषयमा १८ विद्यार्थी र १५ शिक्षक कार्यरत छन् ।
त्रिविअन्तर्गत मानविकी संकायका अधिकांश विषयमा विद्यार्थी संख्या निकै कम हुनुको मुख्य कारण ती विषय प्रत्यक्ष रोजगारीसँग नजोडिनुलाई मानिएको छ । त्रिविले वार्षिक प्ररीक्षा प्रणालीको सट्टा सेमेस्टर लागू गर्दै गएपछि यस्तो अवस्था देखिएको हो । वार्षिक प्रणाली हुँदा कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा एकै विषयका विद्यार्थी हजारभन्दा बढी हुन्थे । तीन वर्षदेखि सेमेस्टर सिस्टम लागू भएपछि एक विषयमा बढीमा ४० विद्यार्थीले मात्र पढ्न पाउने भएका छन् र ती विषयमा चाप पनि घटेको छ ।
मानविकी स्नातकोत्तर तहमा २४ विषय पठनपाठन हुँदै आएको छ । सेमेस्टर प्रणालीले विद्यार्थी कम्तीमा ८० प्रतिशत हाजिर हुनुपर्ने, ४० प्रतिशत आन्तरिक मूल्यांकन हुने, प्रत्येक सेमेस्टरको १५ क्रेडिट आवर भ्याउनुपर्ने भएपछि केही विषयमा विद्यार्थी संख्या शून्य भएको छ । केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहको मात्र पठनपाठन हुने गर्छ ।
सहायक डिन शरद ठाकुर भने त्रिविले केन्द्रीय विभागमा सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थी घटेको देखिए पनि केही वर्षयता मानविकी संकायमा विद्यार्थी बढेको दाबी गर्छन् । वार्षिक प्रणाली कायम राखेका आंगिक क्याम्पसहरूमा भने विद्यार्थी संख्या खास घटेको छैन ।
चालु शैक्षिक सत्र २०७२/७३ मा मानविकीमा सबैभन्दा धेरै २ सय ५९ जनाले अंग्रेजी विषय पढ्दै छन् । उक्त विषयको कोटा तीन सय जनाको छ । अंग्रेजी विभागका उपप्रशासक भोजराज भट्टका अनुसार उक्त विषय पढ्न सुरुको वर्ष २ सय ९१ र दोस्रो पटक १ सय ८४ जना भर्ना भएका छन् । यो विषय पढाउन ३५ जना स्थायी र तीन जना आंशिक शिक्षक छन् ।
अर्थशास्त्रमा १ सय १ विद्यार्थी र २४ शिक्षक छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पढाइने आमसञ्चार तथा पत्रकारिता विभागअन्तर्गत उक्त विषयमा ६९ विद्यार्थी र १६ जना आंशिकसहित १९ शिक्षक कार्यरत रहेको विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिए । लोकप्रिय ठानिएको समाजशास्त्रमा ५२ विद्यार्थी र ९ शिक्षक छन् । उक्त विषय सुरुमा एक सय र त्यसपछि ८९ विद्यार्थीले पढेका थिए । गत वर्षबाट समाजशास्त्रबाट अलग गरिएको मानवशास्त्रमा २० जना विद्यार्थी र १० शिक्षक छन् ।
कुनै समय लोकप्रिय ठानिएको ग्रामीण विकासमा ३५, ललितकला (पेन्टिङ, मूर्ति र संगीत) मा ५०, पुस्तकालय विज्ञानमा १६, बौद्ध अध्ययनमा ७ विद्यार्थी पढिरहेको सहायक डिन ठाकुरले जानकारी दिए । ती लगायतका विषयमा अति न्यून विद्यार्थी र विषय शिक्षकको संख्या यकिन छैन । त्रिविले भरखरै मात्र प्राध्यापक हरि पराजुलीको संयोजकत्वमा अभिलेख समिति गठन गरेको छ । सहायक डिन ठाकुर विश्वविद्यालयले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्ने बताउँछन् । केही वर्षअघि सरकारले हरेक गाउँमा ग्रामीण विकास (आरडी) विषय पढेकालाई अधिकृत स्तरको कर्मचारी राख्ने नीति लागू गरेपछि केही समय उक्त विषयको चाप बढेको थियो । ‘तर जनशक्ति उत्पादन भइसकेपछि सरकारको नीति फेरियो, अहिले त्यस्तो चाप छैन,’ उनले भने, ‘अरू विषयलाई लोक सेवा आयोगले पाठ्यक्रममा राख्दैन । त्यसैले पनि विद्यार्थी संख्या घटेको हो ।’ भारतको लोक सेवा आयोगले प्राथमिकता दिने भएकाले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा इतिहास, राजनीतिशास्त्रजस्ता विषयमा विद्यार्थीको चाप हुने गरेको उनको भनाइ छ ।
समयको कालखण्डले त्रिवि मानविकीमा विविध विषय सिर्जना गरेको पदाधिकारी ठान्छन् । तर, परिवर्तित अवस्थामा समयसापेक्ष विषयगत पाठ्यक्रम परिमार्जन हुन नसक्नु, स्रोतको अभाव हुनु, प्राध्यापक तथा शिक्षकहरू विषयगत चिन्तनभन्दा राजनीतिक विभाजनमा रमाउनु, पदाधिकारी नियुक्तिमा राजनीतिक रूपमा प्रत्यक्ष हस्तक्षेप हुनु लगायतका कारण त्रिविको समृद्धिमा आँच आएको हो । उपकुलपति प्राध्यापक तीर्थराज खनियाँ भने त्रिविको मानविकी संकाय र तिनका विषय असान्दर्भिक भएको मान्न तयार छैनन् । ‘विश्वको मूल मर्म भनेको मानविकी विषय नै हो किनभने विश्वविद्यालयको सुरुवात दर्शन यसैबाट हुन्छ,’ उनले भने, ‘घर पुरानो होइन, रङ मात्र पुरानो भएको हो । समाज बदलियो । मानिस बदलिए । पाठ्यक्रम, पाठ्यपुस्तक पुरानो भएका हुन् ।’
त्रिविले छेउ लाग्दै गएका विषयहरूलाई लिएर डिन तथा सम्बन्धित विषयका प्राध्यापकहरूको भेला बोलाएर छलफल चलाएको उपकुलपति खनियाँले बताए । ‘डिनहरू लगायतको संलग्नतामा विषयगत कमिटी बनाउनेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘अब ती विषयलाई रिमोडलिङ गर्दै छौं । नयाँ प्रविधि र नयाँ आवश्यकता जोडिने छन् ।’ विश्वविद्यालयले बेलैमा निर्णय लिए पनि कार्यान्वयन ढिलो हुने गरेकाले पछाडि पर्ने गरेको उपकुलपतिको कथन छ । उपकुलपति खनियाँले त्रिविको संरचना बृहत् भएकाले सेमेस्टर सिस्टमभन्दा वार्षिक परीक्षा प्रणाली मात्र उपयुक्त हुने उल्लेख गरे । ‘त्रिवि सेमेस्टर होइन, वार्षिक परीक्षा प्रणालीको मोडेलमा स्थापना भएको हो,’ देशभरि आंगिक र सम्बन्धन क्याम्पस रहेको उल्लेख गर्दै उनले भने, ‘सेमेस्टर भनेको सीमित ठाउँमा मात्र लागू गर्न सम्भव हुन्छ ।’ त्रिविले आधा दशकयता मानविकीतर्फ केही नयाँ विषय लागू गर्दै आएको छ । जसमा एमएसडब्लू, इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी, जेन्डर स्टडिज, कन्फ्लिक्ट, पिस एन्ड डेभलपमेन्ट स्टडिज, क्राइसिस म्यानेजमेन्ट, शान्ति, सुरक्षा र विकास (एमएसडीपीएस) छन् । यी विषयलाई स्नातक तहमा समेत कार्यान्वयन गर्ने तयारी भइरहेको जनाइएको छ ।
यसरी विषयगत विद्यार्थी घटदा पढाउने शिक्षकसमेत बेरोजगार बनेको दशकभन्दा बढी भएको छ । त्रिविमा कार्यरत कतिपय स्थायी शिक्षकले अर्को विषयमा स्नातकोत्तर गरी आफूलाई बिकाउ तुल्याउने गरेका छन् । कतिपयले भने हाजिर मात्र गरेर त्रिविबाट तलब बुझ्छन् । त्रिविले विद्यार्थीविहीन विषयका शिक्षकलाई काम लगाउन सकेको छैन । अलोकप्रिय विषयका रिक्त दरबन्दीमा त्रिवि सेवा आयोगले पदपूर्ति प्रक्रिया अघि बढाइसकेको छ ।
उपकुलपति खनियाँ शिक्षकहरू स्वयं विद्वान् भएको उल्लेख गर्दै विषयलाई रिमोडलिङ गरेसँगै शिक्षकलाई थोरै समयावधिमा कक्षा र प्रशिक्षण दिए पुग्ने दाबी गर्छन् । तर, त्रिविले शिक्षकलाई काम दिन नसकेप्रति स्वीकारोक्ति दिँदै अन्यत्र काम गर्दा पूर्वअनुमति लिनुपर्ने नियमलाई कडाइसाथ कार्यान्वयन गर्ने उनले बताए ।
शिक्षाविद् विद्यानाथ कोइराला विश्वविद्यालयले विषय शिक्षकलाई आफ्नो विषयको परिमार्जन गर्न नदिँदा परिणाम उल्टो भएको बताउँछन् । ‘विश्वविद्यालयले शिक्षकलाई आफ्नो विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समसामयिक, बिकाउ, तुल्याउ चिन्तन गराउन सकेन,’ उनले भने, ‘विषयलाई काम लाग्ने बनाउन प्राध्यापकलाई नै जिम्मा दिनुपर्छ । उही विषयलाई नेपाली जनजीवनलाई सैद्धान्तिक बनाउने र नयाँ ढंगले प्रस्तुत गर्न सकेमा मानविकीका विषयहरू लोकप्रिय र बिकाउ बन्न सक्छ ।’ शैक्षिक सत्र २०७३/७४ का निम्ति नयाँ भर्ना हुने समय नजिकिँदै छ । कति विद्यार्थी भर्ना हुन आउँछन् कुनै टुंगो छैन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दै विद्यार्थी संगठनहरूले चुनावी जित्न फर्जी विद्यार्थी भर्ना गराउने गरेका छन् । त्रिविले नौ वर्षपछि आउँदो फागुनमा स्ववियु चुनाव गराउने तालिका सार्वजनिक गरिसकेको हुँदा विद्यार्थी भर्ना दर हवात्तै बढ्ने सम्भावनासमेत छ ।
गुणस्तर भने कायम
त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा छ । स्नातकोत्तर तहमा सेमेस्टर सिस्टम लागू भएपछि कोटामा सीमित विद्यार्थी भर्ना गर्नुपरेको विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल बताउँछन् । ‘सेमेस्टर सुरु हुनुअघि सय जना जति विद्यार्थी भर्ना हुन्थे तर कक्षामा नियमित उपस्थिति न्यून हुन्थ्यो,’ उनले भने, ‘अहिले जति भर्ना हुन्छन् शत प्रतिशतजस्तो कक्षामा नियमित छन् । कक्षामा नियमित हुने कुनै पनि अनुत्तीर्ण र बेरोजगार छैनन् ।’
अंग्रेजी पढेपछि फरक निकायमा रोजगारी पाइने भएकाले लोकप्रियतामा कमी नआएको लेक्चरर शिव रिजालको ठम्याइ छ । वार्षिक परीक्षा प्रणालीमा हजार जनाको हाराहारीमा एमए अंग्रेजीमा भर्ना हुन्थे । आधा जति कक्षामा उपस्थित हुन्थे । सेमेस्टर सुरु भएपछि भर्ना भएका अढाई सय विद्यार्थी नियमित हुनैपर्ने बाध्यता छ । सामाजिक भूगोलविद् प्राध्यापक भीम सुवेदीका अनुसार भूगोल विषय विद्यार्थी शून्य हुनुको कारण समयानुकूल पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जन नहुनु प्रत्यक्ष कारण हो । भूगोलमा पढाइने विषयवस्तु अन्य नयाँ विषयमा जोडिनाले पनि यसमा असर पुगेको उनी ठान्छन् । ‘भूगोल पढेपछि जब मार्केटसित जोडिन नसक्नु र अरू विषयमा भूगोलका प्रमुख तत्त्व जोडिनुले विद्यार्थीको चाख घटेको हो,’ उनी भन्छन्, ‘भूगोलमा नयाँपन ल्याउन गाह्रो भएको छ ।’

गणेश राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया