Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

प्राविधिक शिक्षाका लागि अनुसन्धान केन्द्रित पाठ्यक्रममा जोड

सोमबार, ०८ कार्तिक २०७३

भक्तपुर - शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षालाई रोजगार, उत्पादन र श्रमसँग जोड्न नसक्दा समग्र शिक्षा क्षेत्र आलोचनाको सिकार भएको बताएका छन् । प्राविधिक शिक्षाका लागि अनुसन्धान केन्द्रित पाठ्यक्रम निर्माणका बारेमा शुरु कार्यशाला उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षालाई सिप र उत्पादनसँग जोड्नपर्ने भन्दै परम्परागत रुपमा चल्दै आएका सिप र प्रविधिलाई आधुनिक दिशातर्फ लैजान आवश्यक रहेको बताए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) र कोलोम्बो प्लान स्टाफ कलेज (सिपीएससी) द्वारा आयोजित कार्यशालामा प्राविधिक शिक्षा संग सम्बन्धित व्यक्ति सहभागि छन् । सिटीइभिटी अन्र्तगतका विभिन्न ३० विद्यालयका प्रधानाध्यापक, श्रम, उद्योग र कृषि मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यशाला ५ दिन चल्ने छ ।

कार्यक्रममा सिटिईभिटिका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले अध्ययन अनुसन्धान विना प्राविधिक शिक्षाको गुणस्तर बृद्धि नहुने भन्दै कार्यशाला गरिएको बताए । यस्तै निमित्त सदस्य सचिव रमेश बखतीले प्राविधिक शिक्षाका लागि अध्ययन अनुसन्धानका खाँचो र यसमा सिटिईभिटीले गर्दै आएको कामका बारेमा प्रष्ट पारे ।  

प्राविधिक शिक्षामा खोज र अनुसन्धानलाई प्रभावकारी रुपमा समेट्ने उद्धेश्यले  अनुसन्धान केन्द्रित पाठ्यक्रम निर्माणका बारेमा कार्यशाला हुरु भएको सिपीएससीका महानिर्देशक डा.रामहरि लामिछानेले बताए ।

'प्राविधिक शिक्षामा खोज र अनुसन्धानलाई दिगो बनाउन कार्यक्रमको आयोजना गरिएको हो' उनले भने 'अनुसन्धानले सिप विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।'

कार्यक्रमका दौरान प्राविधिक शिक्षाका बारेमा विभिन्न ४ वटा कार्यपत्र समेत प्रस्तुत हुने उनले बताए ।

प्रतिक्रिया