काठमाडौं ८ कात्तिक / मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको मुम्बई विश्वविद्यालयबीच विद्यार्थी तथा विशेषज्ञ आदानप्रदानलगायत द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयका उपकुलपतिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयको टोली भारत भ्रमणमा छ । भ्रमणकै अवसरमा अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा प्रख्यात भारतको मुम्बई विश्वविद्यालयसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य परियोजनामा समझदारी भएको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । त्यस्तै, क्षमता विकाससम्बन्धी तालिम, सेमिनार, सम्मेलन तथा अन्य सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।
भारतको मुम्बई विश्वविद्यालय एक सय ६० वर्ष पुरानो विश्वविद्यालय हो । यो विश्वविद्यालयमा साढे सात लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने सात सय ११ वटा क्याम्पस छन् । खड्काका अनुसार समझदारीपत्रको हस्ताक्षरको साक्षी भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका अब्जर्भर रिसर्च फाउन्डेसन मुम्बईका अध्यक्ष प्रा.डा. सुधीन्द्र कुलकर्नी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल छन् ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा दुई विश्वविद्यालयका उपकुलपतिबीच अब्जर्भर रिसर्च फाउन्डेसन मुम्बईको आयोजनामा नेपाल र भारतका सरकारी विश्वविद्यालयको शिखर सम्मेलन आयोजना गर्ने पनि समझदारी भएको छ । त्यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाल–भारत अध्ययन केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले जानकारी दिए ।
यसैबीच मुम्बईस्थित थिंक ट्यांक काउन्सिल अफ ग्लोबल रिलेसन, गेट वे हाउस मुम्बई र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतबीच द्विपक्षीय हितमा काम गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको विश्वविद्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । समझदारीपत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र संस्थाका तर्फबाट अध्यक्ष मन्जित कृपालामीले हस्ताक्षर गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति कोइराला, रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल, सचिवालय सदस्य यदुप्रसाद ज्ञवाली, हेड असिस्टेन्ट युद्धमान बस्नेत र उपकुलपतिका स्वकीय सचिव दिलीप भट्टराई भारतमा रहेको विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गर्न भारत भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।
यसैबीच भारतस्थित अन्य विश्वविद्यालयसँग आपसी द्विपक्षीय हितका सम्बन्धमा काम गर्ने उद्देश्यले यसै साताभित्र भारतको गोवा विश्वविद्यालय र दिल्लीस्थित जिन्डल विश्वविद्यालयसँग पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गर्न लागेको जानकारी सूचना अधिकारी खड्काले दिए ।
राजेन्द्र ताम्राकारले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया