Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर, कुन जिल्लामा कति ? विवरणसहित

आइतबार, ०७ कार्तिक २०७३

काठमाडौं ७ कात्तिक / कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको तथ्यांकअनुसार कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् ।

आधारभूत तहमा धेरै छात्र विद्यालयबाहिर
शिक्षा विभागको सन् २०१५-०१६ को फ्ल्यास १ रिपोर्टअनुसार आधारभूत तह (कक्षा १–८) मा कुल पाँच लाख ४१ हजार पाँच सय ४२ बालबालिका विद्यालयबाहिर छन् । त्यसमा छात्राको संख्या धेरै छ । आधारभूत तहमा दुई लाख ६१ हजार सात सय ४२ छात्रा र दुई लाख ७९ हजार आठ सय छात्र विद्यालयबाहिर छन् । त्यसैगरी, माध्यमिक तह (९ र १०) मा भर्ना हुने १३ र १४ वर्ष उमेर समूहका पाँच लाख २५ हजार सात सय ७० विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । जसमध्ये दुई लाख ७३ लाख तीन सय ७९ छात्रा र दुई लाख ५२ हजार तीन सय ९१ छात्र विद्यालयबाहिर छन् ।

विभागका तथ्यांक शाखाका उपसचिव शंकर थापाले प्राथमिक तहमा पाँचदेखि नौ, कक्षा ६–८ सम्म १० देखि १२ वर्ष, ९ र १० मा अध्ययन गर्ने १३ र १४ वर्ष उमेर समूह तोकिएको छ । तोकिएको उमेर समूहका बालबालिका विद्यालयमा भर्ना भएको नपाएपछि तिनलाई विद्यालयबाहिर रहेको सूचीमा राखिएको छ । आधारभूत तहमा विद्यालय उमेर समूहका बालबालिकाको संख्या बढी विश्वसनीय भए पनि माथिल्ला तहमा तोकिएको उमेर समूहभन्दा बढीका बालबालिका अध्ययन गरिरहे पनि त्यसलाई उमेर समूहभन्दा बाहिर राख्ने गरिएको छ । कक्षा ११ र १२ मा १५ र १६ वर्ष उमेर समूह तोकिएको छ । यस तहमा तोकिएका उमेर समूहका बालबालिका भर्ना नहुने संख्या निकै धेरै छ ।

उपत्यकामा ६२ हजार विद्यार्थी विद्यालयबाहिर
शिक्षा विभागका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका ६२ हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर छन् । उपत्यकामा पाँचदेखि १४ वर्ष उमेर समूहका छात्रा २५ हजार एक सय ३२ र छात्र ३७ हजार एक सय ९२ गरी कुल ६२ हजार तीन सय २४ विद्यालयबाहिर रहेको सरकारी तथ्यांक छ । सबैभन्दा बढी काठमाडौंमा २० हजार तीन सय ७७ छात्रा र ३१ हजार एक सय एक छात्र गरी ५१ हजार चार सय ७८ बालबालिका विद्यालयबाहिर छन् । ललितपुरमा छात्रा एक हजार नौ सय ३४ र छात्र एक हजार नौ सय ६४ गरी तीन हजार आठ सय ९८ र भक्तपुरमा छात्रा दुई हजार आठ सय २१ र छात्र चार हजार एक सय २७ गरी ६ हजार नौ सय ४८ विद्यालयबाहिर छन् ।

मध्यतराईमा धेरै बालबालिका विद्यालय जाँदैनन्
मध्यतराईका आठ जिल्लामा विद्यालयबाहिर हुने बालबालिकाको संख्या धेरै छ । सर्लाहीमा ४४ हजार दुई सय ९७ बालबालिका विद्यालयबाहिर छन् । त्यसैगरी, रौतहटमा ४२ हजार चार सय पाँच, धनुषामा ४१ हजार तीन सय १८, बारामा ३९ हजार आठ सय ६९, महोत्तरीमा ३८ हजार आठ सय २१, पर्सामा ३५ हजार पाँच सय ३६ बालबालिका विद्यालयबाहिर रहेको सरकारी तथ्यांक छ ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया