Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बीचैमा पढाइ छाड्छन् बालबालिका

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं ५ कात्तिक / विराटनगर उपमहानगरपालिका–१६ स्थित सिमराही टोलमा विद्यालय जाने बालबालिका १५ जना छन् । उमेरको हिसाब गर्दा कोही सात–आठ वर्षका छन् भने कोही १०–११ वर्ष पनि पुगेका छन् । तर, सबै एक वा दुई कक्षामा पढ्छन् ।
टोलनजिकै छ बखरी निम्न माध्यमिक विद्यालय । तर, विद्यालयमा उनीहरूका लागि पढाइको राम्रो वातावरण छैन । यसै पनि शैक्षिक चेतना कम भएको दलित ऋषिदेव (मुसहर) समुदाय त्यसमाथि विद्यालयको शैक्षिक वातावरण पनि उनीहरू अनुकूल छैन । त्यसैले उनीहरू अधिकांश फेल हुन्छन् र कक्षा दोहो¥याउन बाध्य हुन्छन् । वर्षौंसम्म एउटै कक्षा दोहो-याएर पढ्नुपर्दा अधिकांशले बीचैमा पढाइ छाड्ने गरेका छन् ।
‘सबैजसो अभिभावक अनपढ छन्, त्यसैले घर मात्र होइन, पूरै गाउँमै पढाइको वातावरण राम्रो छैन,’ स्थानीय अभिभावक अर्जुन ऋषिदेवले भने, ‘विद्यालयले पनि दलित बालबालिकाको शैक्षिक चेतना र वातावरणबारे यथेष्ट ध्यान दिन नसक्दा अधिकांश बालबालिका पटक–पटक फेल हुन्छन् ।’ बर्सेनिजस्तो कक्षा दोहो¥याउनुपर्दा बीचैमा विद्यालय छाड्ने गरेको उनले बताए ।
विद्यालयमा नियमित पढाइ नहुने र शिक्षकले पनि आफूहरूलाई कम चासो दिने भएकाले बीचैमा पढाइ छाड्ने गरेको कक्षा ३ सम्म पढेर विद्यालय छाडेका किशोर श्याम यादवले बताए । उनका अनुसार टोलमा एक कक्षामा दोहो-याएर पढ्ने बालबालिका धेरै छन् । केहीले दुई–तीन कक्षासम्म पढे पनि घरायसी बहाना बनाएर विद्यालय छाड्ने गरेका छन् ।
सिमराही टोलमा माध्यमिक शिक्षा उत्तीर्ण गरेका एकजना पनि छैनन् । स्थानीयका अनुसार पहिले पटक्कै विद्यालय नजाने यहाँका बालबालिका नजिकै रहेको सत्य साई केन्द्रले शिशु शिक्षा पढाउन थालेपछि विद्यालयसम्म पुग्न थालेका हुन् । तर, विद्यालय जान थाले पनि उनीहरूको पढाइमा प्रगति हुन सकेको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभराज ऋषिदेवले ९० प्रतिशत विद्यार्थी दलित समुदायको भएको बताए । ‘विद्यालयमा एकजना पनि दलित शिक्षक छैनन्,’ उनले भने, ‘त्यसैले होला शिक्षकले पनि त्यति ध्यान दिँदैनन्, अभिभावक त सबै नपढेका भए ।’ त्यसैले पनि विद्यालयमा पढाइको गुणस्तर राम्रो नभएको उनको भनाइ छ ।
ऋषिदेव समुदायकै शिक्षित युवा भनेर चिनिने गुरुचरण ऋषिदेवले विराटनगर उपमहानगरपालिकाको सिमराही टोल मात्र नभएर देशैभर मुसहर समुदायका बालबालिका बीचैमा विद्यालय छाड्न बाध्य भइरहेको बताए । सरकारले मुसहरलगायतका समुदायका बालबालिकालाई माध्यमिक शिक्षामा पहु“च बढाउन विशेष र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाब छ ।

गणेश लम्सालले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया