Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

अस्थायीका बारेमा शिक्षक महासंघ : प्रतिस्पर्धा पछि मात्रै गोल्डेन ह्याण्डसेक

विहीबार, ०४ कार्तिक २०७३

काठमाडौं - अस्थायी शिक्षकलाई प्रतिस्पर्धा पछि मात्रै गोल्डेन ह्याण्डसेकको प्रकृयामा सहभागि गराउनु पर्ने नेपाल शिक्षक महासंघले माग गरेको छ । अवकासमा जाने की प्रतिस्पर्धा नभनी प्रतिस्पर्धा पछि मात्रै सुविधाको प्रकृयामा सहभागि हुने ब्यवस्था गर्न लविङ् गर्ने महासंघको बैठकले निर्णय गरेको हो ।

'आन्तरिक प्रतिस्पर्धा पछि मात्रै गोल्डेन ह्याण्डसेकको प्रकृयामा सहभागि गराउने विषयमा महासंघ जुन सुकै तहमा लड्न तयार छ, हाम्रो बैठकले त्यही निर्णय गरेको छ' बिहीबार बसेको बैठक पछि अध्यक्ष केशव निरौलाले भने, 'यसरी सहभागि हुने अस्थायी शिक्षकलाई औषधि उपचारको खर्च पनि दिनु पर्ने महासंघको धारणा छ ।'

धर्ना र अनसन हुँदै बिहीबार देखि सामुदायिक विद्यालयको पठन पाठन बन्दको घोषणा गरेर आन्दोलनमा रहेका अस्थायी शिक्षकहले शिक्षा मन्त्रालयसंग हुने वार्तामा शिक्षक महासंघका प्रतिनिधि समेत उपस्थित हुनुपर्ने माग गरेका थिए । मंगलबार शिक्षा मन्त्री धनिराम पौडेलसंग भएको छलफलमा उनीहरुले यस्तो माग गरे पनि ३ दिन पछि बल्ल महासंघले अस्थायी शिक्षकका मागबारे बैठकमा छलफल गरेको हो ।

मन्त्रालयले सँधै महासंघसँग भएको सहमतीलाई देखाएर आफूहरुलाई झुलाएको भन्दै अस्थायी शिक्षकहरुले महासंघ सहित छलफलको  माग गरेका थिए । बिहीबार महासंघले गरेको निर्णयका बारेमा आफूलाई जानकारी नभएको अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिका अध्यक्ष निरेन्द्र कुवँरले बताए  ।

यसैविच आन्दोलनरत अस्थायी शिक्षकलाई विद्यालय नै बन्द गर्ने आन्दोलनका कार्यक्रम फिर्ता लिन महासंघले आग्रह गरेको छ । विद्यार्थीको पढ्न पाउने अधिकारलाई शिक्षकबाटै हनन् हुनु न्यायोचित नभएको ठहर सहित बन्दका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको निरौलाले बताए ।

तर, आफूहरुको माग पुरा नभए सम्म आन्दोलनका कार्यक्रमबारे कुनै परिवर्तन नभएको कुवँरले बताए । 

यसैविच विद्यालय बन्द गर्न भन्दै कोटेश्वर स्थित सरस्वती माविमा पुगेका ५ जना अस्थायी शिक्षकलाई प्रहरीले पक्रेको छ । रामकलेवर यादव, प्रमोद कुमार सिंह, किरण भट्टराई, ईश्वर पण्डित र प्रविण कुमार केसीलाई प्रहरीले पक्रेर तिनकुने वृत्तमा राखेको कुवँरले बताए ।

अस्थायी शिक्षकले बुधबारदेखि माईतिघरमा शुरु गरेको रिले अनशनको दोश्रो दिन  बाँकेका चेतबहादुर विष्ट र सिन्धुलीका सुदर्शन भट्टराई सहभागि छन् ।

प्रतिक्रिया