Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

जसोतसो धानिदैं अंग्रेजी माध्यम, पढाउनै नपरे हुन्थ्यो झैं गर्छन् शिक्षक

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं - ललितपुर उपमहानगरपालिका वडा नं. १५ मा रहेको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेको १० वर्ष भयो । अंग्रेजीको लोभमा अभिभावकहरुले निजी विद्यालय ताकेपछि विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन शुरु गर्ने तय गरेको हो । चारसयको हाराहारीमा सिमित विद्यार्थी संख्या ६ सय नाघ्नुको पछाडी अंग्रेजी माध्यमकै भूमिका ठान्छन् प्रधानाध्यापक  प्रअ राधाकृष्ण महत ।

‘नेपाली माध्यममा पढाइरहँदा धेरै अभिभावकहरुले अंग्रेजी माध्यमबाट पढाइदिनुप¥यो भन्ने माग गरे' उनल भने, 'समयको माग र आवश्यकतालाई मध्यनजर गरी अंग्रेजी माध्यमबाटै पढाइ सुरु गर्दा विद्यालयमा विद्यार्थी संख्या बढेको हो ।’

त्यस्तै भक्तपुरको यालाछेंको शारदा मावि र  दूधपाटीको गणेश माविले पनि यही काईदा अपनाए । त्यहाँको नतिजा पनि नमूना मच्छिन्द्रकै जस्तो आयो । अर्थात् अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थी संख्या बढ्यो । विद्यार्थी संख्या बढेपछि गणेशका प्रअ गंगाप्रसाद याकामी दंग छन् ।  ‘पहिला नर्सरीमा १०/१२ जना विद्यार्थी हुनेमा अंग्रेजी माध्यमबाट पठनपाठन थालेपछि २२/२४ जना विद्यार्थी भएका छन् ।’ शारदाका प्रअ उद्धव सुजखु भन्छन् ।

यी विद्यालयहरु देशभरका सामुदायिक विद्यालयहरुको अवस्थाको प्रतिनीधि  घटना हुन् । अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि देशका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा यसैगरी विद्यार्थी संख्या बढेको यथार्थ हो ।

प्रविधि र आवश्यकताले संसार साँघुरो बनाउँदै लगेको छ । जसले गर्दा अंग्रेजी भाषा अनिवार्यजस्तै बनेको छ । अंग्रेजीमा पठनपाठन हुने विद्यालयहरुप्रति अभिभावकहरुको छुट्टै लगाव र आर्कषण छ । अभिभाववकहरुको यही मनोभावनालाई बुझेर सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमबाट पठनपाठनको दिशातिर अग्रसर भएका छन् ।

विद्यालयहरुलाई त्यतातिर अग्रसर हुन समाजले बाध्य बनाए पनि विद्यालयहरुमा भने दक्ष शिक्षकको अभाव चुनौती बनेको छ । अहिले पढाईरहेका शिक्षकप्रति अभिभावकको विश्वास जाग्न सकेको छैन । ‘विद्यालयमा दरबन्दीमा रहेका शिक्षकहरु छन् तर दरबन्दीका शिक्षकहरुलाई अभिभावकले पत्याएका छैनन’ शारदा माविका प्राचार्य सुजखु भन्छन्, ‘ निजी स्तरबाट शिक्षक राखेर अध्यापन गरानु पर्ने बाध्यता छ । हामीले पनि त्यस्तै गरिरहेका छौं ।’

यो समस्या देशभरका सामुदायिक विद्यालयको साझा समस्या हो । ‘एक त सरकारले पुग्दो मात्रामा दरबन्दी दिँदैन, दरबन्दीका सबै शिक्षकहरु पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउन सक्ने क्षमतामा छैनन् ।’ भक्तपुरकै ताथलीको देवी माविका प्रअ राजाराम छुकांले भने ।

कोटेश्वर सरस्वती माविका प्रअ पुष्पराज कुँवरको भोगाई पनि यस्तै छ । न अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनमा शिक्षकहरुकै कारण समस्या झेल्नुपरेको अनुभव उनले सुनाए । ‘पुराना शिक्षकहरुमा बढी समस्या छ, उहाँहरु आफूलाई अंगे्रजी माध्यमबाट पढाउनुपर्ने विषय नदिए नि हुन्थ्यो झैं गर्नुहुन्छ ।’

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि निजी स्कुलमा पढिरहेका विद्यार्थीको समेत आर्कषण बढेको तर शिक्षकहरुलाई त्यही अनुसार ढाल्न नसकेकोउनले स्वीकारे ।

त्यसैले अधिकाँश विद्यालयहरुले नेपाली र अंग्रेजी दुबै माध्यमबाट पठनपाठन गराइरहेका भेटिन्छन् । अभिभावकको आवश्यकता र आकांक्षालाई मात्र नहेरी विद्यालयको बाध्यता हेरेर दुबै माध्यमबाट पठनपाठन गराउन बाध्य भएको एकजना प्रधानाध्यापक बताउँछन् ।

सामुदायिक विद्यालयका शिक्षकहरु अंग्रेजी माध्यमबाट पढाउन योग्य, सक्षम तथा आँट नगर्दा धेरै समस्या भएको उनको अनुभव छ । यही कारण कुनै विद्यालयले जसोतसो अंग्रेजी माध्यमलाई पछ्याएका छन् भने कतिपय विद्यालयहरु निजी शिक्षकहरुको भरमा चलिरहेका छन् ।

‘हामीकहाँ कक्षा ५ सम्म पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ, त्यहाँ पाँच जना सरकारी कोटाका शिक्षक छन् भने १० जना निजी शिक्षक ।’ बासु माविका प्रअ अम्बिका न्याइच्याइले भनिन् ।
उनले अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा समग्र विद्यालयलाई लाभ पुगेको भए पनि शिक्षकहरुलाई उक्त कुरा बोध गराउन नसकेको बताइन् । ‘कोशिश सम्म पनि गर्दैनन्, सिधै सक्तैनौं भनेर भन्छन्, यसले समस्या भएको छ ।’

सिमित श्रोत साधन तथा विभिन्न चुनौती झेल्दै भए पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा भएको परिवर्तनलाई हेरेर सम्बन्धित निकायबाट प्रोत्साहन नहुँदा हतोत्साही भएको एक प्रअ बताउँछन् ।

‘अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुभएको रहेछ, ठीक छ मात्र भन्छन् प्रअ याकामीले भने विद्यालयमा आउने विनि र शिक्षा कार्यालयका अधिकारीहरु, शिक्षकहरुलाई कसरी अंग्रेजी भाषा अध्यापन गराउन सक्षम बनाउने भन्ने तिर केही कार्यक्रम भने गर्दैनन् ।’

प्रतिक्रिया