Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, १४ मुलुकका दुई सय जना सहभागी हुने

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं ३ कात्तिक / विश्वविद्यालयले रूपान्तरणमुखी शिक्षा र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

शिक्षा मन्त्रालय, युनेस्को र अस्ट्रेलियाको मर्डख विश्वविद्यालयको सहकार्यमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन अन्तर्गतको रूपान्तरणमुखी शिक्षा अध्ययन केन्द्रले सम्मेलन आयोजना गर्न लागेको हो ।

कात्तिक ५ देखि ७ गतेसम्म धुलिखेलमा चल्ने सम्मेलनमा १४ देशका दुई सयभन्दा बढी सहभागी हुनेछन् । शिक्षा प्रणालीमा रूपान्तरणका मुद्दा उठिरहेका बेला यसको बहस नेपालबाटै सुरु गर्न लागिएको स्कुल अफ एजुकेसनका एसोसिएट डिन बालचन्द्र लुइँटेलले बताए ।

नेपालमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशमा आएको परिवर्तनपछि शिक्षा क्षेत्रमा पनि रूपान्तरण हुनुपर्ने बहसलाई सम्बोधन गर्न सम्मेलनले सघाउने उनले बताए ।
 
सम्मेलनमा शिक्षा क्षेत्रका अन्वेषक, चिन्तक र विचारकले रूपान्तरणमुखी शिक्षा र यसको आवश्यकताबारे विचार/विमर्श गर्ने आयोजकले जनाएको छ ।

‘माटो सुहाउँदो शिक्षाबारे बहस चल्नेछ,’ लुइँटेलले भने, ‘भाषिक र सांस्कृतिक रूपमा विविधता भएका मुलुकमा शिक्षा क्षेत्रमा कस्तो खाले रूपान्तरण आवश्यक छ, कस्तो शिक्षा पद्धति अवलम्बन गर्नुपर्छ, यसमा संलग्न पक्षहरूको भूमिका के हुन सक्छ भनी छलफल हुनेछ ।’

सहभागीले शिक्षाको गुणस्तर, समताको प्रश्न र अनुकूलता लगायतका विषयमा अनुभव र सैद्धान्तिक बहस गर्नेछन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया