Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्न बाध्य

बुधबार, ०३ कार्तिक २०७३


काठमाडौं ३ कात्तिक / पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले देश चलाउने उपप्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सरकारका उच्च कर्मचारी जन्माए पनि अहिले भने आफैँ जीर्णोद्धारको पर्खाइमा छ । अहिलेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी यही महेन्द्र बहुमुखी क्याम्पसका उत्पादन हुन् । तर, अब करिब ५० वर्ष पुरानो भवन जीर्णोद्धार नभए पठनपाठन गर्न नसकिने क्याम्पस प्रमुख गणेशकुमार रेग्मीले बताए । जीर्णोद्धारका लागि धेरै ठाउँमा हारगुहार गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनले बताए । ‘भवनका छत जीर्ण छन् । छतबाट पानी चुहेर पाठ्यपुस्तक भिज्छन्,’ उनले भने ।

क्याम्पस प्रमुख रेग्मीले अब भवन मर्मतसम्भार नभए जुनसुकै वेला दुर्घटना हुने चेतावनी दिए । ‘जताततै भत्किएको छ, पानी परेको वेला चुहिएर पठनपाठन गराउन समस्या हुन्छ,’ क्याम्पस प्रमुख रेग्मीले भने, ‘कुन वेला छतबाट इँटा, रोडा झरेर चोट लाग्ला भन्ने डर छ ।’ २०१९ सालमा महेन्द्र डिग्री कलेजका नाममा क्याम्पस भवन निर्माण भएको हो । २०२८ सालमा आएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नामकरण गरिएको थियो । स्थापना भएको ५० वर्ष पूरा हुँदासम्म पनि अहिलेसम्म मर्मतसम्भार भएको छैन । क्याम्पस प्रमुख रेग्मी भन्छन्, ‘भवन बनेको ५५ वर्ष भयो, जीर्णोद्धार गर्ने हो भने अझै ५० वर्ष चल्छ ।’ भवन जीर्ण भएका कारण विद्यार्थी संख्यासमेत घटेर गएको क्याम्पस प्रशासनको भनाइ छ ।

भवन मर्मतसम्भारका लागि त्रिभुवन विश्वविद्यालय तथा स्थानीय निकायका साथै विभिन्न दातृ निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएको क्याम्पस प्रमुख रेग्मीले गुनासो गरे । ‘भवन यति जीर्ण छ कि मर्मतसम्भारका लागि धेरै ठाउँ अनुरोध गरियो, तर अहिलेसम्म कसैले सहयोग गरेको छैन,’ उनले भने । हालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाटै आइएस्सीसम्मको अध्ययन गरेका हुन् ।

बनिनसक्दै चुहियो क्षेत्रीय पुस्तकालय भवन
क्याम्पसभित्र रहेको क्षेत्रीय पुस्तकालय भवन निर्माण सम्पन्न नहुँदै चुहिन थालेको छ । सो पुस्तकालय भवन निर्माणमा १ करोड रुपैयाँ लागेको थियो । तल्लो तला पुरानो र जीर्ण अवस्थामा कुनै मापदण्डविना माथिल्लो तला बनाएका कारण पुस्तकालयमा जोखिममा परेको हो । पानी चुहिने भएका कारण पुस्तकालय भवनमा राखिएका पुस्तक भिज्ने गरेका छन् । ‘छतबाट पानी चुहिन्छ, झ्यालबाट पनि आउँछ, पुस्तक कहाँ राख्ने, साह्रै गाह्रो छ,’ क्याम्पस प्रमुख रेग्मीले भने । क्याम्पस प्रमुख रेग्मीसमेत पुस्तकालय भवन निर्माण मापदण्डविपरीत भएको बताउँछन् ।

पटक–पटक काम रोकिँदा ढिलाइ
क्याम्पस प्रमुख रेग्मीका अनुसार सन् २००६ जुन २१ मा क्याम्पसको डिग्री ब्लक, गल्र्स होस्टेल र पर्खाल निर्माण गर्न बजेट स्वीकृत भई नेपालगन्ज नगरपालिका र भारतीय राजदूतावासबीच सम्झौता भएको थियो । क्याम्पस प्रमुख रेग्मीका अनुसार २००७ जनवरी १७ मा गोर्खा बडिमालिका जेबीले एक करोड कम गरेर एक करोड ९६ लाख ७६ हजार तीन सय २३ रुपैयाँमा अगस्ट २००८ मा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । २० महिनामा काम सक्ने सम्झौता गरेको बडिमालिकाले तोकिएको मितिमा आधा काम पनि गर्न सकेन ।

समयमा निर्माण नसकेपछि गोर्खा बडिमालिका कम्पनीलाई कालोसूचीमा राखिएको छ । काम गर्दागर्दै कालोसूचीमा राखेको विषयमा कम्पनी र नगरपालिकाबीच विवादसमेत भएको थियो । जसका कारण चार वर्षसम्म क्याम्पस निर्माणका सबै प्रक्रिया नै बन्द भए । सन् २०१२ मा आएर गोर्खा बडिमालिकासँग ठेक्का रद्द गरेर पुनः नयाँ स्टिमेट गरी निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । पुरानो स्टिमेटको रकम नपुग्ने निष्कर्षसहित प्राथमिकताका आधारमा डिग्री ब्लक निर्माणका लागि मात्रै दुई करोड चार लाख ३९ हजार चार सय आठ रुपैयाँमा पुनः स्टिमेट गरेर कार्य सञ्चालन प्रक्रिया अगाडि बढाइएको थियो ।

डिग्री ब्लक निर्माणका लागि नरसिंह– कालापानी जेवी एक करोड ४० लाख ८२ हजार आठ सय ४७ रुपैयाँमा २०१२ जुलाईमा १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरियो । कालापानी जेवीले समेत सम्झौताअनुसार काम नगरेका कारण अहिलेसम्म निर्माण कार्य अधुरै रहेको क्याम्पस प्रमुख रेग्मीले बताए । प्रमुख रेग्मीले लामो समय भवन निर्माण नहुँदा कक्षाकोठा अभाव भई क्याम्पस सञ्चालनमा नै गम्भीर संकट परेको बताए । ‘भवन निर्माणको प्रतीक्षामा १२ वर्ष बितिसक्यो, कक्षाकोठा नै छैनन्, भएका जीर्ण छन्, मर्मत गर्ने पैसासमेत छैन,’ क्याम्पस प्रमुख रेग्मीले भने । क्याम्पस निर्माणका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको ४३ लाख रुपैयाँ नेपालगन्ज उपमहानगरपालिका सँगै रहेको छ । क्याम्पस प्रमुख रेग्मीले उपमहानगरपालिका र तत्कालीन क्याम्पस प्रशासनले चासो नदेखाउँदा निर्माण कार्य बीचैमा रोकिएको बताए ।

भवन निर्माण १२ वर्षदेखि अलपत्र
नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माणाधीन महेन्द्र बहुमखी क्याम्पस नेपालगन्जको स्नातकोत्तर (डिग्री ब्लक) र छात्रावास (गल्र्स होस्टल) भवन निर्माण पूरा नभई १२ वर्षदेखि अलपत्र छन् । कुल दुई करोड ९८ लाख ९६ हजार आठ सय ३४ रुपैयाँ भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण थालिएको महेन्द्र बहुमुखी क्याम्पसको डिग्री ब्लक र गल्र्स होस्टेलको निर्माण अलपत्र अवस्थामा रहेको क्याम्पस प्रमुख रेग्मीले बताए । भएका भवनसमेत जीर्ण भइसकेको र निर्माण थालिएका भवन अधुरा रहेकाले पठनपाठनमा समस्या भएको प्रमुख रेग्मीले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको सहयोगमा निर्माणाधीन भवन निर्माणका लागि छिटो पहल गरिदिन आग्रह गरिएको बताए ।

नयाँ पत्रिकामा विश्वराज पछल्डङ्ग्याले लेखेको खबर ।

 

प्रतिक्रिया